![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/04/image_2022-04-26_074608021.png)
रुसी कम्युनिस्ट आन्दोलनमा पार्टी बारे मेन्सेभिक र बोल्सेभिकको विवाद चर्चित छ । कम्युनिस्ट आन्दोलनका प्रमुख गुरु मध्येका एक भ्लादिमिर इल्यिच लेनिन यसै आन्दोलनका नेता थिए । हुन त यस विवादका विविध पक्षहरु छन् । त्यस मध्ये पार्टी संगठन र अनुशासन बारेको विवाद भने अत्यन्त महत्वका छन् । सोभियत विद्रोह भन्दा पहिले रुसमा रुसी समाजिक जनवादी पार्टी थियो । यस पार्टीमा लेनिनले पार्टी कस्तो हुनूपर्ने भनेर एउटा महत्वको प्रस्ताव राखे । उनले पार्टी वैचारिक आधारमा प्रतिबद्ध र सांगठनिक निर्णय प्रति अनुशासन बद्ध हुनूपर्ने धारणा प्रस्तुत गरे । उनले प्रश्न गरे — ‘पार्टी कस्तो हुनू पर्छ ? पार्टीको विचार र संगठन प्रति अनुशासन बद्ध अथवा कुनै डिबेटिङ्ग क्लब जस्तो, जहाँ पार्टी सदस्यहरु आउँछन्, मनमा लागेका विषयमा गफ गर्छन्, बहस गर्छन् र पार्टी निर्णयका विषयमा गोप्यताको ख्यालै नगरी आफू खुशी पत्रिकामा लेख्ने गर्छन्, सार्वजनिक रुपमा बहस गर्छन् र मन परेन भने पार्टी निर्णयको अवहेलना गर्छन् । र, पनि आफू पार्टी सदस्य भएको दावी गर्छन् ।’ उनले पार्टीमा अनुशासन बद्धता कायमगर्न जनवादी केन्द्रियताको सिद्धान्तलाई प्रस्तावित गरे ।
पार्टीको सिद्धान्तको आधारमा तय गरिएका लक्ष्य अनुकूल तल्लो कमिटीबाट प्राप्त रिपोर्टिङ्गहरुको आधारमा सम्बन्धित कमिटीमा गरिएका निर्णयहरु पूर्ण रुपमा पालन गर्नु पर्ने, यस्का निम्ती सबै सदस्यहरु बाध्यकारी हुनूपर्ने र यसको कडाई पूर्वक यसको अनुगमन गर्नुपर्ने तथा निर्णयका उल्लंघन गर्नेलाई कार्वाही तथा योग्यलाई प्रोत्साहनको पक्षमा लेनिनले प्रस्ताव गरेका थिए । तर पार्टी भित्र एउटा यस्तो पंक्ति पनि थियो, जो पार्टीलाई बौद्धिक विमर्शको थलो तथा पार्टी सदस्यतालाई बौद्धिक सामाजिक प्रतिष्ठाको रुपमा हेर्ने गथ्र्यो । उनिहरु राजनीतिलाई व्यावहारिक सिद्धान्त भन्दा पनि बहस र बौद्धिक सामग्रीको रुपमा बढी हेर्थे । यस्ताहरुको निम्ती लेनिनको प्रस्ताव असह्य भयो । उनिहरुले जनवादी केन्द्रियताको सिद्धान्तलाई नेतृत्वको तानाशाहीको रुपमा व्याख्या गरे र यस्को तिव्र विरोध गरे । रुसी सामाजिक जनवादी पार्टीमा यस प्रस्तावले विभाजन ल्यायो । रुसी भाषामा बोल्सेभिक भनेको बहुमत र मेन्सेभिक भनेको अल्पमत हुन्छ । लेनिनको पार्टीलाई बोल्सेभिक भनियो । पछि बोल्सेभिक वैचारिक प्रतिबद्धता तथालौह अनुशासनको अर्थमा प्रयोग गर्न थालियो भने पार्टीहरुमा खुलापनका पक्षधरहरुलाई मेन्सेभिकसंग तुलना गर्न थालियो । कथित बुर्जूआलोकतन्त्रका पक्षधरहरुले बोल्सेभिकहरुलाई अधिनायकवादी र मेन्सेभिकहरुलाई लोकतन्त्रवादीको रुपमा पनि व्याख्या गरे । नाम फरक– फरक भए पनि विचार धारात्मक आधारमा संगठित क्रान्तिकारी पार्टी तथा नियमित संसदिय पार्टीको सांगठनिक ढाँचा र चरित्रमा यो भिन्नता प्रष्ट देखिन्छ ।
पार्टी अनुशासन र राजनैतिक विचार र सिद्धान्त प्रति प्रतिबद्ध र अनुशासन बद्ध हुनुपर्छ भन्नेमा कसैको पनि विरोध हुने गर्दैन । तर ‘पार्टीको वैचारिक चरित्रले नै पार्टीको ढाँचा र व्यवहार निर्धारण गर्छ’, भने जस्तै अहिलेका लोकतान्त्रिक भनिने पार्टीहरु पार्टी भन्दा पनि डिबेटिङ्ग कल्ब जस्ता देखिन्छन् । मन लाग्यो भने पार्टीको निर्णय स्वीकार्ने, मन नलागे आफूखुशीगर्ने । अब त बुर्जू आलोकतन्त्रवादी पार्टीको संगतमा परेर कम्युनिस्ट पार्टीहरु पनि उनिहरु जस्तै भइसकेका छन् । विशेष गरेर निर्वाचनको बेलायी राजनीतिक पार्टीहरुको चरित्र बढी उदाङ्गिने गर्छ । पार्टीको चरित्र निर्माणको आधार पार्टीका राजनीतिक विचार र जनप्रतिबद्धताको स्तरले पनि तय गर्छ । यस भन्दा पनि बढी पार्टी कति राजनैतिक छ भन्नेमा पनि पार्टीको राजनीतिक ढाँचा र अनुशासन निर्भर गर्छ । जब पार्टी कुनै निश्चित राजनैतिक लक्ष्य प्रति संघर्षरत् हुन्छ, प्रयत्नरत् हुन्छ, त्यति बेला पार्टीमा निजीलाभका अवसरहरु हुँदैनन्, भए पनि अत्यन्तकम हुन्छन् । त्यति बेला वर्गहित र जनहितप्रति प्रतिबद्ध राजनैतिक विचारले लैस मानिसहरु पार्टीमा सक्रिय हुन्छन् । त्यति बेला पार्टीमा राजनैतिक लक्ष्य प्रति इमान्दार नेता र कार्यकर्ताहरुको प्रभाव हुन्छ । तर जब पार्टीहरु सत्तामा पुग्छन्, त्यति बेला पार्टी विस्तारको आवश्यकता हुन्छ । अन्य पार्टीसंगको प्रतिस्पर्धाको निम्ती जनसमुदाय बीच विस्तृत हुने आवश्यकताहरु सिर्जना हुन्छ । यसै क्रममा पार्टीभित्र नयाँ खाले मानिसहरु प्रवेश गर्छन् । तीनव प्रवेशीहरुका आ– आफ्ना स्वार्थ र उद्देश्य हुने गर्छ । उनिहरु आफ्नो उद्देश्य र स्वार्थ अनुरुप पार्टीलाई प्रयोग गर्न चाहन्छन् ।
यति बेला सचेत भइएनभने पार्टी नवप्रवेशीको प्रभावमा परेर गैर राजनीतिक, जनहित अनुकूलको वैचारिक लक्ष्यविपरीत एउटा यस्तो पार्टीमा परिणत हुन्छ । यस्तो पार्टी अन्ततःजनताको हित भन्दा पनि सरकारी जनप्रतिनिधि, सांसद, मन्त्री र प्रधानमन्त्री बन्नेहरुको प्राविधिक संगठनमा रुपान्तरित हुन्छ । आम मान्यतामा शिक्षा अध्ययनको अर्थ ठूलो मान्छ हुने र धेरै पैसा कमाउने भनिए जस्तै राजनीतिको उद्देश्य पनि चुनाव जित्ने, सांसद बन्ने, मन्त्री, प्रधानमन्त्री बन्ने र वैध अवैध जसरी भए पनि खूब पैसा कमाउनु हुनजान्छ । अहिले राजनीतिक पार्टीहरुको जुन अवस्था देखिएको छ, त्यसले नेपाली राजनीतिलाई गैर वैचारिकतातथानिजी स्वार्थको चरम दुर्गन्धित पोखरीमा परिणत गरिदिएको छ । यसलाई स्खलित वातावरण नै भन्नु पर्छ कि राजनैतिक इतिहास मात्र होइन, सामाजिक सेवाको पनि चरित्र नभएका र इतिहास नभएकाहरु जनप्रतिनिधि हुनका निम्ति चुनावी मैदानमा उत्रेका छन् । उनिहरुको आकर्षण देख्दा यस्तो लाग्छ मानौँ वडा सदस्य र वडाअध्यक्ष देखी सांसद सम्मका पदहरु सुनका डल्ला जस्ता छन्, र जस्को निम्ती सबै मारामार गरिरहेका छन्, नाङ्गिदैछन्, नङग्याउँदैछन् । यी जनप्रतिनिधि पदको आकर्षण कति सम्म छ भने निजामतीका हाकिम देखी प्रहरीका हाकिम समेत राजिनामा दिएर मेयर र गाउँपालिका अध्यक्षको निर्वाचनमा भाग लिइरहेका छन् । यति मात्र कहाँ हो र? मेयर पदमा उम्मेदवारी दिन केही प्रदेश सांसद र प्रदेश मन्त्रीले समेत राजिनामा दिएर चुनावी मैदानमा उत्रेका छन् । यी त भए चुनावी आकर्षणको आमदिशा ।
राजनीतिक पार्टीहरुको खिस्सा त झन् गञ्जागोल छ । पार्टीहरुको अवस्था कस्तो छ, भने आफू अनुकूल निर्णय भएन भने पार्टी स्वीकार्ने पक्षमा कोही पनि छैन । पार्टीभित्र अलिकति पनि राजनैतिक हैसियत बन्यो भने जसरी पनि चुनाव लडने मनसायमा सबै छन् । यस्तोमा पार्टीले टिकट दिएन भने बागीहुने, सके अर्को पार्टीबाट टिकट लिने, नभए स्वतन्त्र भए पनि चुनाव लडने स्थिति सबै तिर देखिन्छ । यसैक्रममा केही दिन देखी पार्टी अदलाबदलीको खेल राजनैतिककमेडी जस्तो चलिरहेको छ । नेपाली काँग्रेसले टिकट दिएन भने जसपामा , जसपाले टिकट दिएन भने लोसपामा, लोसपाले टिकट दिएन भने तमलोपामा, त्यस्तै एमालेका माओवादी केन्द्रमा, मा ओवादी केन्द्रबाट एसमा, एमालेमा, यतिले पुगेन भने माकेबाट जसपामा, कति भन्नु, कति कति, वर्णन अपरम्पार छ, यस चुनावी महात्म्यको । सत्ताधारी पार्टीहरु जुनखाले चुनावी संरचना सिर्जना गरेका छन्, त्यसले स्वयं पार्टीहरुलाई नै नाफा संगठनमा परिणत गरिदिएको छ । चुनाव खर्चिलो छ । अब त लाखले पुग्दैन । मेयर र गाउँपालिका अध्यक्षको चुनावमा पनि करोडको चर्चा चल्न थालेको छ । सांसदको त झन् कति ! प्रदेश र प्रतिनिधि सभामा लडने मनसाय राख्ने ठूला नेताहरुले अहिलेदेखी नै नसोचे कठिन हुने स्थिति छ । यस्को प्रभाव अहिलेको स्थानिय निर्वाचनमा पनि देखिन्छ । माल्दार छ भने नव प्रवेशीलाई पनि टिकट दिन तयार छन् पार्टीहरु । नेताहरुले जतिसुकै नैतिकताको कुरा गरेपनि पार्टीमा आएको एक दिन भएको छैन, टिकट कसरी पाए, भन्ने प्रश्नको उत्तर छैन । यस्तो लाग्छ केही माल्दारहरु गाँठ पक्का गरेर टिकट पाउन पार्टी चहार्दैछन् । अर्को तर्फ टिकट लिएर पार्टीका ठूला नेताहरु पनि गाँठ पक्का भएका माल्दार उम्मेदवारको खोजी गरिरहेका छन् ।
विचरा, पार्टीकातीइमान्दार र त्यागी कार्यकर्ताहरु तर्फ हेर्न कसलाई फुर्सद छ । प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव नैतिकता र इमान्दारीले त जितिँदैन ! जित्नलाई त गाँठ चाहिन्छ । इमान्दार कार्यकर्ता र नेताले दिन सक्दैन । कयौँ ठाउँमा टिकट नपाएको झोँकमा पार्टीका कार्यकर्ताहरुले नेताहरुलाई यसैकारण गोदगाद पनि गरेको समाचार छ । एउटा यस्तै हंगामा माजनक पुरमा दस जना भन्दा बढी नेता कार्यकर्ताहरु घाइते भएका थिए । यस चुनावी महात्म्यमा केही रोचक धोकाका कथाहरु पनि छन् । टिकट नपाएको झोँकमालोसपाकाएकजना नेता पार्टी छाडेर एमाले पसे । ठूला नेताले मेयरको टिकट दिने आश्वासन पनि दिएका थिए, तर धोका भयो, अन्तिम समयमा अर्कैले टिकट पाए । उनि अब स्वतन्त्र निर्वाचन लडने सोँचिरहेका छन् । यो लेख तयार पार्ने बेला निर्वाचन आयोगमा उम्मेदवारहरु मनोनयन दर्ता गरिरहेका छन् । धोका पाएकायी नेताले उम्मेदवार दिए वा दिएनन्, पछि थाहा हुनेछ । चुनावी पद प्रतिको यो औँधी आकर्षण किन हो ? एउटै कारण छ, अहिले राजनीति र जन प्रतिनिधिका पदहरु अकूत धन कमाउने सर्टकट बाटो हो । धन पनि कमाउन पाउने, सत्ताको धाकजमाउन पाउने र सामाजिक प्रतिष्ठा पनि पाउने ।
चुनावी राजनीतिहो, चुनाव लडनै हुन्न भन्ने पनि छैन । तर राजनीति र सामाजिक समर्पण संग कुनै साइनो नहुनेले पनि नगदी गाँठ फुकालेर जसरी आफू जनसेवा गर्ने राग अलापी रहेका छन्, त्यसले दिक्दार बनाउँछ । सामाजिक परिवर्तन र जनहितको संघर्षमा त्याग र समर्पणबाट शुरु भएको राजनीतिक तिफोहोरी र नगदी भएको छराजनीति ? कति स्खलित भएको छ राजनीतिक परिदृश्य ? कति विडम्बनायुक्त छ भने शहिदहरु चुनावी प्रतिकको रुपमा प्रयोग हुँदैछन्, र जुन समाजको निम्ती जनताका ती सर्वोत्तम छोराछोरीहरुले शहादत दिए, त्यो समाज अहिले पनि रोग, भोग, शोक संग जुध्दै छ, र राजनीति नाफा मुखी कारोबारमा परिणत भइसकेको छ । एउटा करुण त्रासदी र दिक्दारपूर्ण प्रहसनमा परिणत भैसकेको छ वर्तमानको चुनावी राजनीति, आम जनसमुदाय जसलाई भोग्न अभिसप्त छ । जनताको प्रतिबद्धताबाट कटेकाहरुको कब्जामा रहेको यस नाफा मुखी राजनीतिक कारोबारलाई बदलेर जनताको राजनीतिमा परिणत गर्नु आजको आवश्यकता हो । पुराना पुस्ताबाट त अब सम्भवदेखिँदैन । सोँच, चरित्र र व्यवहारले जनता प्रति सचेत नयाँ पुस्ताले सोँच्यो भने सम्भव छ । यस्को निम्ती मेन्सेभिक होइन बोल्सेभिक चरित्रकै संगठनको आवश्यकता पर्छ ।