निर्वाचन आयोगले आजदेखि आसन्न स्थानीय तह निर्वाचनको मतपत्र ढुवानीको काम सुरु गर्दैछ ।
निर्वाचन आयोगले आजदेखि मतपत्र ढुवानीको काम मंगलबार देखि सु्रु गर्ने जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको र बाँकी मतपत्रको पनि छपाई कार्य जारी रहेको जानकारी दिनुभयो ।
हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्र छपाई सकिएको छ । आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई सचेत पनि गराएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको हो । आयोगले आचारसंहित पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी दिएको छ ।
आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरूलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा आगामी बैशाख १५ गते भित्र अनिवार्य रूपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ ।
हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरूले अनुमति लिएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरूलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरूमा परिचालन गरिने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोकिएको छ ।

