गरुडा । रौतहटको गरुडा नगरपालिकाका नेकपा एमालेका मेयर पदका उम्मेदवार कन्थमनी प्रसाद जयसवालले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
चुनाव जितेपछि आफूले गर्ने कामहरूलाई समेटेर उनले गरुडामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेका आफ्ना घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायत कार्यलाई विशेष प्राथमिकता दिए । उनले मेयरमा आफू निर्वाचित भए पाँच वर्षमा पांचवटा ठोस कामहरू गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् । सो अवसरमा नगर प्रमुखका उम्मेदवार जयसवालले भ्रष्टाचार मुक्त गरुडा नगर सरकार गठन गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’–भन्ने मुख्य नारा आफ्नो रहेको उनले बताए । विगतमा नगरको नेतृत्व गरेको सरकारले व्यापक भ्रष्टाचार र अनियमितता गर्ने गरेको आरोप लगाउँदै उनले ती कुराहरुमा सुधार गर्ने उल्लेख गरे । शिक्षातर्फ गरुडामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, अत्याधुनिक सरकारी अस्पतालको स्थापना, क्रिक्रेट र फुटबल ग्राउण्डसहित रंगशाला निर्माण, व्यवस्थित पिकनिक पार्क आदि काम गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
नगरका भूमिहीन दलित तथा गरीबहरुलाई निःशुल्क घडेरीको व्यवस्था गरी उनीहरुलाई सुरक्षित आवासको व्यवस्था गर्ने र विभिन्न उद्योगको स्थापना गरी नगरका पाँच हजार युवालाई रोजगारी दिने नेता प्रतिवद्धता उनले जनाएका छन् । गरुडामा हुने चोरीलाई नियन्त्रण गर्न नगरका प्रत्येक चोकहरुमा सिसिटिभी क्यामरा तथा सडक बत्ती जडान गर्ने, व्यवसायीको लागि विशेष सुरक्षा योजना ल्याउने, स्वच्छ वातावरणका लागि नगरका सबै चोक र बजारमा वृक्षरोपण गरी हरियालीयुक्त बनाउने, सबै टोलमा पक्की सडक र नाला निर्माण लगायत कार्य गर्ने उनको घोषणापत्रमा उल्लेख छ । त्यस्तै खेती किसानी गर्न नगरका प्रत्येक व्यक्तिलाई एक सय पचास युनिट सम्म बिजुली निःशुल्क गर्ने, फ्री वाईफाईको व्यवस्था, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण लगायत काम गर्ने उनले बताए । आफू निर्वाचित भएपछि आफूले अहिले जनतासँग गरेको प्रतिबद्धता जसरी पनि पूरा गर्ने उनले बताएका छन् । आफू आफ्ना व्यक्तिगत स्वार्थका लागि नभइ समाज सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएकाले आफूलाई विजयी गराइ समाजसेवा गर्न मौका दिन नगरबासीसंग अनुरोध गरेका छन् ।

