बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि बाराको १६ वटा पालिकाहरु मध्ये सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिकामा चुनावी रौनकता देखिएको छ ।
चुनावी महोल तातेसंगै विभिन्न राजनीतिक दलका नेताहरुले पनि चोक, हाट बजार, पानपसल, सार्वजनिक ठाउँ देखि चियापसल सम्म आ–आफ्ना उम्मेदवारहरुको वकालत गर्दै जिताउने अभियानमा लागेको देखिन्छ । ऐतिहासिक सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसको नगरप्रमुखका उम्मेदवार विजयशंकर यादव र लोसपाका किशोरी प्रसाद कलवार बीच प्रतिस्पर्धा देखिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा विजयशंकर यादवले थोरै मतबाट किशोरी कलवारलाई पराजित गरेका थिए । त्यसैगरी महागढी नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुखका उम्म्ोदवार उपेन्द्र यादव, जसपाका उम्मेदवार रामबाबु यादव, नेकपा एमालेका उम्मेदवार राजाबाबु साहबीच तीव्र चुनावी प्रतिस्पर्धा देखिएको स्थानीय नेता विजय स्वर्णकारले जानकारी गराए ।
यो भन्दा अगाडि नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र यादव नै चुनावमा जितेका थिए । सिम्रौनगढमा नगरपालिकामा यस बर्ष नगरप्रमुखमा १८ जना, उपप्रमुखमा ८ जना, वडाअध्यक्षमा ७१ जना, पुरुष सदस्यका लागि १ सय १३ जना , महिला सदस्यका लागि ५६ जना र दलित सदस्यका लागि ५५ जना समेत गरी जम्मा ३ सय २१ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । कूल २९ हजार ४ सय २४ मतदाताहरु रहेको सिम्रौनगढ नगरपालिकामा २५ वटा मतदान स्थलमा ३९ वटा मतदान केन्द्र रहेको सिम्रौनगढ नगरपालिकाको सहायक मतदान अधिकृत हरिओम प्रसाद जयसवालले बताए । त्यस्तै महागढी नगरपालिकामा प्रमुखमा ११ जना, उपप्रमुखमा ८ जना, वडाअध्यक्षमा ६३ जना, वडा सदस्य पूरुष तर्फ ९६ जना, महिला तर्फ ४३ जना र दलित सदस्य तर्फ ४२ जना गरी जम्मा २ सय ६३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रेको सहायक मतदान अधिकृत शेरे मुस्तुफाले जानकारी दिए । ३२ हजार ४ सय ५४ मतदाता रहेको महागढीमाई नगरपालिकामा २५ वटा मतदान स्थलहरुमा ४३ वटा मतदान केन्द्र रहेको सहायक मतदान अधिकृत मुस्तुफाले जानकारी दिए।
२०७४ सालको निर्वाचनमा सिम्रौनगढ नगरपालिकामा २३ हजार ३ सय ३३ जना मतदाता रहेकोमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यहरु समेत गरी ३ सय ७७ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेको थियो भने महागढीमाई नगरपालिकामा २५ हजार ८ सय ११ मतदात रहेकोमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य समेत गरी जम्मा ३ सय १७ जनाले उम्मेदवारी दिएका थिए ।

