२०७९ जेष्ठ १, आईतवार ०८:०१

गरुडा । निर्वाचनको विषयलाई लिएर रौतहटमा एक वडा अध्यक्षका उम्मेदवारमाथि संघातिक हमला भएको छ ।

जिल्लाको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुरका नेकपा एकीकृत समाजवादीका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादवमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले संघातिक आक्रमण गरेको छ । शनिवार साँझ सिंगारमन धर्मपुरका कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रामसिहासन राय यादव सहित उनका समर्थकहरुले गरेको आक्रमणमा परेर यादव गम्भीर घाइते भएका छन् । कांग्रेसका कार्यकर्ताहरुले उम्मेदवार यादवलाई गाउँबाट लखेटी लखेटी लठिले निर्घात कुटपिट गरेका छन भने ढुंगाले टाउकोमा हानेर उनको टाउको फुटाइदिएको छ । टाउको फुटेर गम्भीर घाइते भएका यादवको गरुडामा उपचार भइरहेको छ । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रामसिहासन यादव र नेकपा एसका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादव पक्षबीच शुक्रवार विवाद भई झड्प हुँदा मतदान कार्य स्थगित भएको थियो । सिंगारमन स्थित आधारभूत प्राथमिक विद्यालयमा मतदान केन्द्रको ‘क’ र ‘ख’मा करिव २० प्रतिशत मात्र मत खसेको अवस्थामा दुबै पक्षबीच मतदान गर्ने विषयलाई नै लिएर विवाद हुँदा मतदान कार्य स्थगित गर्नु परेको थियो ।

कांग्रेसका उम्मेदवार रामसिहासन यादवले निर्वाचनमा धाँधली गर्न खोजेको भन्दै नेकपा एसका उम्मेदवार रामविनोद यादवका समर्थकहरुले अवरोध गर्न खोज्दा दुबै पक्षबीच भएको विवाद झड्पमा परिणत भएको थियो । दुबै पक्षबीच झड्प भएपछि आधारभुत प्राथमिक विद्यालयको दुबै मतदान केन्द्रको मतदान रद्द गरिएको छ । शुक्रवार भएको मतदान रद्द गरिएपछि निर्वाचन आयोगले सो दुबै मतदान केन्द्रमा आउँदो जेष्ठ ३ गतेका लागि अर्को निर्वाचनको मिति तोकेको छ । जेष्ठ ३ गते मतदान हुने भएपछि सो टोलका विभिन्न दलका उम्मेदवारहरु मत माग्न फेरि जनताको घरदैलोमा पुग्न थालेका छन । गाउँमा मत माग्न आएको हेरेपछि वडा अध्यक्षका उम्मेदवार रामसिहासन यादवका समर्थकहरुले एक्कासी नेकपा एसका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादवमाथि आक्रमण गर्न शुरु गरेका थिए ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=2s

Comment


Related News

Latest News

Trending News