२०७९ जेष्ठ ११, बुधबार ०७:५३

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तारुढ पाँचदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह र उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ईम्तियाज आलम उपमेयरमा विजयी भएका छन् ।

गठबन्धनबाट साझा उम्मेदवार मेयर र उपमेयरमा विजयी भए पनि दुबैबीच मतको भारी अन्तर रहेको छ । विजयी मेयर र उपमेयरबीच २० हजार भन्दा बढी मतको फरक रहेको छ ।मेयरमा विजयी सिंहले ४५ हजार ६ सय ५५ मत ल्याएका हुन् ।उपमेयरमा भने आलमले ३० हजार ७८ मत ल्याएका छन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरको मंगलवार विहान मतगणनाको अन्तिम परिणाम घोषणा गरिएको हो ।गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले निवर्तमान मेयर समेत रहेका नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीलाई २२ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।सरावगीले २३ हजार २ सय ९९ मत ल्याएका थिए । गत चुनावमा सरावगी पनि जसपाबाटै निर्वाचित भएका थिए । सिंह तत्कालीन राजपाबाट उम्मेदवार थिए । उनी तेस्रो स्थानमा खुम्चिएका थिए । निर्वाचित सरावगीले १९ हजार ३ सय ९३ मत पाएका थिए ।सिंहले १२ हजार १ सय ६५ मत ल्याएर तेस्रो भएका थिए ।नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १ सय ९७ मत प्राप्त गरेका थिए । २०७४ सालको चुनावमा एमाले, माओवादी केन्द्रले पनि मत ल्याएका थिए ।तर यस चुनावमा गठबन्धनबाट जसपाका सिंह र एमाले गठबन्धनबाट सरावगीबीच नै प्रतिस्पर्धा भएको थियो ।

चुनावमा टिकटका लागि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) परित्याग गरी सिंहले एमालेमा प्रवेश गरेका थिए । सरावगीले पनि जसपा छाडेर कांग्रेसमा प्रवेश गर्न खोजेका थिए ।तर गठबन्धनको कारण त्यहाँबाट टिकट सुनिश्चित नभएपछि उनी एमालेमा प्रवेश गरे ।सरावगीले एमालेमा प्रवेश गरेकै दिन सिंहले त्यहाँ छाडेर जसपामा प्रवेश गरेका थिए । पाँच वर्षमा जनभावनाको सम्मान गर्न असफल भएका सरावगी नराम्ररी पराजित भएका छन् ।सिंहले सरावगीलाई दोब्बर मतले पराजित गरेका छन् ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा नराम्ररी पराजित भएको जसपाका लागि वीरगञ्ज महानगरको जित ठूलो उपलब्धि भएको छ । महानगरको मेयरको प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार गिरिश गिरिले भने ३ हजार ३ सय १३ मत पाएका छन् । चुनावमा सिंहको प्रतिस्पर्धा नै नरहेको देखिन्थ्यो ।जसपाका सांसद प्रदीप यादवले चुनावलाई जीवनमरणको विषय बनाएका थिए । वीरगञ्ज महानगरको मेयरमा उम्मेदवारी दिएका बहुजन शक्ति पार्टीका लक्ष्मी हजराले ९८ मत र जनमत पार्टीका दिनेश रामले ९६ मत प्राप्त गरे । त्यसैगरी उपमेयरमा पनि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम मेयरको भन्दापनि फराकिलो मतान्तरले प्रतिद्वन्दी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई पराजित गरेका छन् । उपमेयरमा विजयी भएका आलमले ३० हजार ७८ मत ल्याउदा उनका निकटतम् प्रतिद्वन्द्वी झाले ९ हजार ५ सय ६८ मत पाएका छन् । आलमले झालाई २० हजार ५ सय १० मतको अन्तरले पराजित गरेका हुन् ।नेकपा एमालेसित गठबन्धन गरेको लोसपाले उपमेयरको कोटा पाएका थिए ।तर मेयरका उम्मेदवार सरावगीको भन्दा उपमेयरका उम्मेदवार झाले १४ हजार कम मत पाएका छन् ।वीरगञ्ज महानगरपालिकामा लोसपाका दुई जना संघीय सांसद विमल श्रीवास्तव र लक्ष्मण लाल कर्ण रहेका छन् ।एमालेसितको सम्झौतामा कर्णले हस्ताक्षर गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट उपमेयरकी उम्मेदवार बिना जैयसवालले ५ हजार ९ सय ८८ मत ल्याएकी छन् ।

त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका मनोज राउत कुर्मीले ८ सय ५२, वडा नम्बर २ मा नेपाली कांग्रेसका महम्मद रियाज मियाँ तेलीले १ हजार १ सय २१, वडा नम्बर ३ मा जसपाका वैजुलाल स्वर्णकारले १ हजार ५ सय ७०, वडा नम्बर ४ मा कांग्रेसका जदुप्रसाद साह कानु १ हजार ७७, वडा नम्बर ५ मा एमालेका प्रदीप कुमारले ५ सय ६२, वडा नम्बर ६ मा लोसपाका जयप्रकाश शाह अग्रवालले ९ सय ९४, वडा नम्बर ७ मा कांग्रेसका हिराकाजी महर्जनले ५ सय ६३, वडा नम्बर ८ मा जसपाका रितेशकुमार गुप्ताले १ हजार १ सय ७५,वडा नम्बर ९ मा कांग्रेसका जवाहर प्रसाद गुप्ताले ६ सय १२, वडा नम्बर १० मा जसपाका सुशिल कुमार कानुले १ हजार ५ सय ९६, वडा नम्बर ११ मा जसपाका अजय कुमार बरैले ९सय ८३, वडा नम्बर १२ मा एमालेका सुरेश प्रसाद गुप्ताले ८ सय ६४ मत ल्याई विजयी भएका छन् । यसरी नै वडा नम्बर १३ मा एमालेका हिरालाल गिरी १ हजार २१, वडा नम्बर १४ मा जसपाका महबुल एलाही अंसारी ८ सय ७५, वडा नम्बर १५ मा जसपाका रमेशप्रसाद यादवले १ हजार ४ सय १, वडा नम्बर १६ मा जसपाका परशुराम चौरसियाले २ हजार ३ सय ४८ मत, वडा नम्बर १७ मा एमालेका सञ्जिव बहादुर क्षेत्रीले १ हजार २ सय २ , वडा नम्बर १८ मा जसपाका उमाशंकर तिवारीले ७ सय ६५, वडा नम्बर १९मा कांग्रेसका मुकेश कुमार चौर सियाले ८ सय २०, वडा नम्बर २० मा एमालेका रामकिसोर सिंहले १ हजार २ सय २८, वडा नम्बर २१ मा लोसपाका राधाकृष्ण साह रौनियारले ८सय २९, वडा नम्बर २२ मा कांग्रेसका द्वारिका महतोले १ हजार २ सय ९७, वडा नम्बर २३ मा एमालेका अवधकिसोर प्रसाद कुशवाहाले ७ सय ७६, वडा नम्बर २४ मा एमालेका विजय प्रसाद कुर्मीले ८ सय ६९, वडा नम्बर २५ मा जसपाका आशुतोष चतुर्वेदीले ९ सय ७७ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन आयोगले जनाए अनुसार वडा नम्बर २६ मा कांग्रेसका शम्भु मिश्रले १ हजार ६६, वडा नम्बर २७ मा कांग्रेसका ह्रदयनारायण प्रसाद कुर्मीले १ हजार, ५ सय १८, वडा नम्बर २८ मा कांग्रेसका सर्युग महतो धानुकले २ हजार १७, वडा नम्बर २९ मा जसपाका धर्मेन्द्र प्रसाद महतो थारुले १ हजार १ सय ११, वडा नम्बर ३० मा जसपाका मनोज कुमार यादवले ६ सय ४१, वडा नम्बर ३१ मा एमालेका जितेन्द्र प्रसाद यादवले १ हजार ३ सय ७ मत र वडा नम्बर ३२ मा जसपाका रियाज अहमद मियाँले १ हजार ९९ मत प्राप्त गरी विजयी भएका छन् । उपमेयरमा सर्वाधिक मत बदर भएको हो ।बैशाख ३० को मतदानमा महानगरमा कुल ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

 

Comment


Related News

Latest News

Trending News