जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित मेयर मनोज कुमार साहले वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा विहीवार आयोजित कार्यक्रममा मेयर साहले नव निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई अलग अलग पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहरण कार्यक्रममा नेकपा एमाले वाहेका सबै पार्टीबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरु सहभागी थिए । कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा तथा स्वतन्त्र भई निर्वाचित भएका वडाध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्ना गाउँठाउँको विकासको लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । ‘नगरको विकासमा राजनीतिक नगर्नुस, गर्नु छ भने विकासको राजनीति गर्नुस्,’नेता निधिले भने,‘स्थानीय तहमा बढी राजनीतिक भए त्यहाँको विकास चौपट हुन्छ र विकासका ेगति रोकिन्छ । त्यसकारण हामी सबैको दायित्वको हो की नगरको विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।’ जनकपुरधामको विकासलाई अगाडि बढाउनुस्, आवश्यक सहयोग गर्न म सदैव तत्पर रहन्छु ।’
जनकपुरधाम धार्मिक तथा पर्यटकीय शहर रहेको भन्दै नेता निधिले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । मेयर साहले जनकपुरधामको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । सबैको साथ सहयोग लिएर जनकपुरधामको विकास निर्माणलाई अगाडि बढाउने उनले बताए । नगरको सरसफाईको जिम्मेवारी सबै वडालाई दिएको र उपमहानगरपालिकाले त्यसको अनुगमन र सहकार्य गरिने उनले बताए । उनले भने,‘ शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्रथमिकतामा राखेर काम गर्छु । र त्यसमा यहाँहरुको सहयोग आवश्यक छ ।’

