रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित मेयर रामविनोद पटेलले पदभार सम्हालेका छन् ।
पदभार ग्रहण गर्दै निर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको मन जित्ने गरी आकर्षक योजनाहरुका साथ गर्न लागेको बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको शपथ खुवाउँदै मेयर पटेलले जनताको विश्वासलाई आधार बनाएर प्रभावकारी एवं जनहितकारी कामबाट आफ्ना कार्यकाल शुरु गर्न लागेको बताए । नगरलाई भ्रष्टाचारमुक्त पालिका बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण लगायतका कार्यलाई आफनो पहिलो प्राथमिकतामा राखेर योजना ल्याउने उनले बताए । प्रसूती गृहको अभावमा कतिपय गर्भवति महिलालाई प्रसूति गराउन बाहिर लैजानुपर्ने बाध्यताका कारण अकाल्मै मृत्युवरण गर्नुपरेको अवस्थालाई मध्य नजर गर्दै नगरमा भएका प्रसूति गृहहरुलाई व्यवस्थित गर्नुका साथै प्रसूति गृह नभएको ठाउँमा गृह निर्माण गरी निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।
त्यसैगरी नगरपालिका भित्रबाट सम्पादन हुने पञ्जिकरण, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस निःशुल्क गर्ने समेत उनले बताए । पालिकाका अधिकांश व्यक्ति कृषि पेशामा नै आधारित रहेकाले किसानलाई खेती गर्न सहज होस भन्ने उद्देश्यका साथ सिँचाई नभएका ठाउँमा सिँचाईको व्यवस्था गर्ने र सबै ठाउँमा विजुलीको व्यवस्था गरी विद्युतीकरण गर्ने उनले बताए । त्यस्तै नगरमा विभिन्न उद्योग, कलकारखाना स्थापना गरी बेरोजगार युवाहरुलाई रोजगारी दिने उनले बताए । आफनो पाँच वर्षे कार्यकाल नगरको समृद्धि र विकासमा केन्द्रित गर्ने उद्घोष गरेका नगर प्रमुख पटेलले प्रत्येक नगरवासीको भावना, चाहना र आवश्यक्ताको आधारमा कार्य गर्दै जाने बताए । नगरपालिकाको विकासको लागि कर्मचारीहरुको भूमिका अपरिहार्य भएकोले सहयोग गर्न अपिल गर्दै जनताको कार्यमा अलिकति पनि ढिला सुस्ती नगरी छिटोछरितो काम गर्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिए । जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै मेयर पटेलले आफनो कार्यकालमा कसैलाई पनि निराश हुन नदिने विश्वास व्यक्त गरेका थिए ।

