अपडेट 
२०७९ जेष्ठ २०, शुक्रबार ०७:१०

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेस परित्याग गरी स्वतन्त्रउम्मेदवारी दिएका मनोज कुमार साह सुडी विजयी भएका छन् । सर्वप्रथम विजयी भएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई म जनकपुरधामको मतदातान भए पनि जनकपुरधाम वासी र जनकपुरधामको करदाता भएकोले मेरो ब्यक्तिगत तर्फबाट हार्दिक बधाई दिन चाहन्छु र नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल यति सम्म सफल रहोस कि स्वागत भन्दा कयौँ गुणा भव्य विदाई हुन सकोस भनेर कामना गर्न चाहन्छु । नगरवासीहरु मतदाता र करदाता मात्रै होइनन् सेवा ग्राहि पनि हुन् । सार्वजनिक सेवाको वितरणलाई सहज र सर्वसुलभ बनाई आमनगरवासीलाई उपमहानगरपालिका सँग जोडने कडी बन्न सक्नु पर्छ जनप्रतिनिधिहरु। अहिले पनि आधारभुत आवश्यकताको रुपमा रहेको आधारभुत शिक्षा, स्वास्थ्य, सरसफाई, शुद्ध खानेपानी, रोजगार र सिँचाई आदि नै नगरवासीको माग रहेको छ । दलहरुको चुनावी एजेण्डा पनि यिनै हुन् तर जनताको माग पुरा हुन सकेको छैन् । देशैभरिका पालिकाहरुको समस्या यिनै र यस्तै हुन् । धरानमा मूख्य रुपमा खानेपानी कै मुद्दा उठाएर स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ्ग मेयरमा बिजयी भएका छन् । यस्तै मुद्दाहरु उठाएर काठमाडौं महानगरमा बालेन उदाएका छन् । ठाउँ अनुसार केही फरक फरक मुद्दाहरु भए पनि समग्रमा देशभरिका पालिकाहरुले सम्बोधन गर्नु पर्ने मुद्दाहरुमा खासै फरक छैन् ती यीनै र यस्तै हुन । त्यसमा सुशासन, सार्वजनिक सेवा वितरणमा व्यापक सुधार र व्यवस्थापनको खाँचो पनि रहेका छन ्। जनकपुरधामवासीले पनि आगामी पाँच वर्षमा यिनै र यस्तै समस्याको समाधानको अपेक्षा राखेका छन् नवनिर्वाचित मेयर र उपमहानरपालिका सँग । सर्वप्रथम उपमहानगरपालिकाले आफ्नो नगरक्षेत्रलाई भौतिक पुर्वाधारको आधारमा शहर, शहरोन्मुख र ग्रामिण क्षेत्र गरी तिन क्षेत्रमा वर्गिकरण गर्न सक्नु पर्छ ।

यसरी वर्गिकरण गरी सकेपश्चात क्षेत्रगत प्राथमिकता निर्धारण गरी समग्र जनकपुरधामको विकासको गुरुयोजना तयार गरी नगरवासीको अपेक्षा पुरा गर्न तर्फ तत्पर भई इमानदारिताका साथ द्रुत गतिमा काम अगाडी बढाउनु पर्छ । अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीनखालको गुरुयोजना तयार गरी लागु गरेर जनकपुरधामको विकास गर्न सकिन्छ । प्राथमिकता आधारमा काम, सुशासन र पारदर्शिताकायम गर्न सकेमा जनकपुरधामको विकास गर्न कुनै लामो समय लाग्दैन ्। जनकपुरधामको बृहत विकास गर्न गर्नु पर्ने धेरै कामहरु छन् । ती सबैको चर्चा एउटै आलेखमा गर्न सम्भव छैन् । यस आलेखमा सतहमा देखिएका जनकपुरधामवासीको आपेक्षाहरुको संक्षिप्त चर्चा मात्र गर्ने जमर्को गरेको छु । यस आलेखमा चर्चा गरिएका समस्याहरु जनकपुरधामको प्राथमिक समस्याहरु रहेका छन् र यी समस्याहरुको सम्बोधन विना समग्र जनकपुरधामको बृहत विकास हुनै सक्दैन । अहिले वर्षामा जनकपुरधाम जलमग्न हुने गरेको छ । प्राय पुरानो घरहरुमा पानी पसेर एक किसिमको डुवानकै अवस्था हुन्छ । बजार क्षेत्रकै सडक डुवानमा पर्ने गरेको छ । नागरवासीलाई यस समस्याबाट राहत दिने गरी ढल नालाको निकास खोल्ने व्यवस्था गर्ने र वर्षाको पानी जम्ने समस्याको सामाधान उपमहानगरले तत्काल निकाल्नु पर्छ । तत्कालको लागि नगरको प्रमुख समस्याको रुपमायसलाई लिई सामाधान दिने काम उपमहानगरले तत्कालै गर्नु पर्छ । सार्वजनिक शिक्षण संस्थाको स्तरोन्नति, समयसापेक्ष गुणस्तरीय शिक्षा, स्थानीय स्रोत साधनको उपयोगमा आधारित जिवन उपयोगी र खोज तथा अनुसन्धानमा आधारित क्षिक्षा, प्राविधिक शिक्षामा जोड, सार्वजनिक शिक्षा प्रति आम अभिभावकलाई विश्वस्त पारी विद्यार्थिलाई आकर्षित गर्ने, शैक्षिक सामाग्रीको अभावहुन नदिने व्यवस्था, आईसिटीमा आधारित शिक्षा दिने व्यवस्था, उत्कृष्ट व्यवस्थापनका लागि समुदायको अपनत्व र सर्वोत्कृष्ट नतिजाको लागि प्रतिस्पर्धी जनशक्तिको विकास आदि काम शिक्षा क्षेत्रमा गर्नु पर्ने हुन्छ । सबै नगरवासीलाई स्वास्थ्य बिमा कार्यक्रममा आब्ध गराई स्वास्थ्य उपचारको ग्यारेण्टी, नजिककै स्वास्थ्य संस्थाबाट आधारभुत स्वास्थ्य सेवा, नियमित स्वास्थ्य परिक्षणको व्यवस्था, समय समयमाविशेषयज्ञसहितको स्वास्थ्य सेवा, सुतकेरी, बालबालिका र बृद्धबृद्धालाई विशेष स्वास्थ्य सेवादिन सक्ने गरी उपमहानगरलाई सक्षम बनाउनु पर्छ । जनकपुरधाममा पानीको समस्या छैन तर खानेपानीको उपलब्धता त्यति सहज पनि छैन् । भलै यो समस्या कसैको नजरमा पर्न सकेको छैन् तर समस्या छ । पुरानो ह्यान्ड पाईपको पानी खान योग्य छैन भने खानेपानी वितरणको लागि बिछ्याईएको पाईप बजार क्षेत्रकै घर घरमा पुग्न सकेका छैन् ।

पाईपबाट आउने पानी सफा पनि आउदैन । त्यसैले जनकपुरधामको घरघरमा जारको पानीको प्रयोग बढदै छ तर त्यो पानी पनि शुध्द छ कि छैन ? भनेर ढुक्कसँग खाने सहज अवस्था चाँही छैन् । धुलो रहित सडक, पैदल यात्रीको लागि सडकपेटी, आवश्यकता अनुसार छुट्टै साईकललेन, अटोरिक्साको व्यवस्थित सञ्चालन, ट्राफिक नियमको कडाईका साथपालना, जेब्राक्रस र ट्राफिक बत्तिको व्यवस्था, सडक बत्तिको व्यवस्था, आधुनिक बसपार्क, अटोरिक्सापार्क, छुट्टै भ्यान र जिपपार्क आदि यातायात र सडकलाई व्यवस्थित गर्न गर्नै पर्ने काम छन् । उपमहानगरपालिकाले गर्नै पर्ने अर्को महत्वपुर्ण कामफोहर व्यवस्थापन र लामखुट्टे नियन्त्रण रहेको छ । फोहर र लामखुट्टे जनकपुरधामको पहिचान नै बनिसकेको छ । फोहर फाल्ने भन्दा संकल्न गर्ने बानीको विकास नगरवासीमा गराउन सक्नु पर्छ । फोहर उत्पादनहुने ठाउँमै फोहरलाई वर्गिकरण गरेर संकल्न गर्न लगाउने त्यसरी संकलित फोहर त्यहीबाट उठाएर आधुनिक प्रविधिको प्रयोग गरी फोहरबाट मोहर लिने गरी फोहर व्यवस्थान गर्न सकिन्छ । एउटा चकलेटको खोस्टा समेत नफाल्ने त्यसलाई संकल्न गर्ने बानीको विकास नगरवासीमा गराउन सक्नु फोहर व्यवस्थापनमा ठुलो उपलब्धि हुन्छ । टोल सुधार समितिको अवधारणा ल्याई फोहर व्यवस्थापन र सरसफाईमा स्वयम् नगरवासीलाई नै बढी भन्दा बढी जिम्मेवार बनाउन सकिन्छ । सार्बजनिक शौचालयहरुको निर्माण र सफा राख्ने गरी संचालन, खुद्रा व्यापारको लागि ठाउँको व्यवस्था र सरसफाईको जिम्मा व्यपारीकै, व्यवस्थित र सफा कृषि हाट बजार आदिको व्यवस्थापन नगरी फोहर व्यवस्थापनमा उपलब्धि हासिल गर्न सक्दैन उपमहानगरपालिकाले । जनकपुरधामको मठ मन्दिर, कुट्टी, कुण्डको संरक्षणमा पनि उपमहानगरपालिकाले ध्ययान पु¥याउनु पर्ने त्यतिकै जरुरी छ । साथ साथ यहाँको कला, संस्कृति, सभ्यता, मेला, महोत्सव र जात्राको जगेर्ना गर्ने काम पनि उपमहानगरपालिकाले गर्न सक्नु पर्छ । खालि ठाउँलाई पार्क, खुल्ला मञ्च र टुँडीखेलो रुपमा विकास गर्ने, पोखरीको डिलहरुलाई साना पार्कको रुपमा विकास गर्ने । यी ठाउँहरुमा विहानव्याम गर्न सकियोस र जनकपुरधामको गर्मि छल्न बेलुका सम्म गफिन सकियोस तर लामखुट्टेले बाधा नपु¥याओस भने मन्दिरमा शान्तिका साथ ध्ययान गर्न सकियोस । जनकपुरधाम वासीले अपेक्षा गरेको जनकपुरधाम यस्तै हो । जनकपुरधामलाई व्यवस्थित शहरको रुपमा विकास गर्न निकै काम गर्नु पर्ने भए पनि तत्कालका लागि यी कामहरु नगरी नगरवासीको अपेक्षा पुरा हुदैन। नगरवासीको अपेक्षा पुरा गर्ने काम उपमहानगरपालिकाकै हो । जनकपुरधाममा मतदाताको संख्या ८६७६९ रहेको छ । मनोज कुमार साह सुडी १३४६५ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनले प्राप्त गरेको मतलाई मतगणनासम्म प्राप्त गरेको मतको रुपमा लिनु पर्छ । उनले १ लाख ९५ हजार ४ सय ३८ जनकपुरवासीको भविष्य बनाउने शपथलिएर सबैको कुरा सुन्दै , सबैको सामुहिक अपेक्षापुर्ति गर्न पदभार ग्रहन गरेको संकल्पका साथ आफ्ना आगामिकार्य योजनाबनाउने र त्यसलाई कार्यवन्य नगर्दै जानु पर्छ । गठबन्धनबाट काँग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको मेयर नपाउने भएपछि मनोज कुमारले काँग्रेसको सादारण सदस्यबाट राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेसका नेता कार्यकर्ता देखि नगरवासीले बागी मनोज कुमारलाई पत्याए र मतदान गरेर मनोजको मेयर बन्ने सपना पुरा गरी दिए ।

नवनिर्वाचित मेयर मनोज कुमारले काँग्रेस कै मतबाट जितेको सगर्व बताएर र काँग्रेसको विजय जुलुसमा सहभागी भएर उनले आफ्नो काँग्रेस प्रतिको मोह प्रकट गरी सकेका छन् । तर अगामी दिनमा उपमहानगरको काम करवाही संचालन गर्न सबैको साथ सहयोग लिने र स्वतन्त्र रुपमा समाजको समस्या समाधान गर्ने गरी काम गर्नु पर्छ । मेयरमा कुनै पार्टिप्रति भन्दा आफ्नो नगरप्रतिमोह हुनु पर्छ । मेयर असलबन्न सके अरु जनप्रतिनिधि असल नबनी सुखै पाउँदैनन् । जनकपुरधामलाई नेपाली काँग्रेसको गढ मा निदै आएको छ । तर अहिले सम्म यहाँबाट नेपाली काँग्रेसका अधिकारीक उम्मेदवार नगर प्रमुखमा निर्वाचित हुन सकेका छैनन् । बरु काँग्रेसका बागीहरु पटक पटक निर्वाचित भएको इतिसाह छ । काँग्रेसको बागी भई मेयरमा निर्वाचित हुने मनोज कुमार साह सुडी तेस्रो पात्र हुन । यस अघि भएको स्थानीय निकायको निर्वाचन २०४९ र २०५४ मा पनि काँग्रेका बागी उम्मेदवारले काँग्रेसकै अधिकारी उम्मेदवारलाई हराएर मेयरमा बिजयी भएका थिए भने २०७४ को स्थानीयतहको निर्वाचनमा राजपाका अधिकारीक उम्मेदवार निवर्तमान मेयर लाल किशोर साह काँग्रेसका तत्कालिन अधिकारीक उम्मेदवार नवनिर्वाचित मेयर मनोज कुमारलाई पराजित गरी मेयरमा निर्वाचित भएका थिए । नवनिर्वाचित मेयर मनोज कुमार साह सुडी नेपाली काँग्रेस जनकपुरधामको इतिहासको निरन्तरता भए पनि उनले जनकपुरधामको विकासमा नयाँ इतिहास रच्न सक्नु पर्छ । नभए जनकपुरधामका मतदाताले मत परिवर्तन गरेको कुनै अर्थ कायमहुन सक्दैन र जनकपुरधाम झनझन पछाडि पर्दै जानेछ । यसो हुनुमा स्वयम मतदाता आफै पनि दोषि ठहरिने छन् । आफ्नो ठाउँको विकास आफैले गर्नु पर्छ । बाहिरबाट कोही आएर हाम्रो ठाउँको विकास गर्दि दैनन् । तसर्थ आफ्नो ठाउँ आफै बनाउन मेयरले बाटो बिराएमा नगरवासीले खबरदारी गरी रहनु पर्छ। मतदान गरेर आफ्नो कर्तव्य पुरा गरी सकेको मानशिकता आमनगरवासीले त्यागनअत्यन्त जरुरी छ ।

\एउटा निर्वाचन पछि अर्को निर्वाचनसम्मको हरेक दिन जनप्रतिनिधिलाई नगरको विकास र नगरवासीको सेवा गर्नबाट विमुख हुन दिनु हुदैनन् नगरवासीले । निरन्तरको नागरिक दबाव र नगरवासीको आवश्यक साथ सहयोगले पनि जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारीबाट भाग्न पाउदैनन् र विधिको शासनकायम गर्न ठुलो भुमिका निर्वाह गर्ने छन् । जनप्रतिनिधिलाई नगर र नगरवासी प्रति जिम्मेवार बनाई राख्न उनीहरुको हरेक गतिविधिको निगरानी गर्नु , नगरबाट भएको राम्रो कामको खुलेर प्रशंसा गर्नु र बेथितिको खुलेर विरोध गरेर ठिक ठाउँमा ल्याउने काम आम नगरवासी कै हो । नगरवासीहरु पनि आफ्ना यी कर्तव्यबाट विमुखहुनु हुदैनन् । जनकपुरधामको गौरवशाली इतिहासलाई वर्तमानमा परिणत गर्न कसरी सकिएला ? जनकपुरधाम वासीका लागि यति बेला मुख्य चिन्ताको विषय यही हो । जनकपुरधामको विकासमा लागेको ब्रेक हटाएर विकासमा जनकपुरधामलाई उछिनेका सहरहरुलाई फेरी उछिनेर जनकपुरधालाई अबल सहरको रुपमा स्तापित गर्ने कामको नेतृत्व मेयरले गर्न सक्नै पर्छ । यसको लागि मेयरले जनकपुरधामको यस्तो दुर्दशाकि नभयो ? भन्ने प्रश्नको जवाफ खोजेर साथ पाउन सक्ने सबैको साथ लिएर अगाडी बढनु पर्छ । तर नवनिर्वाचित मेयरलाई पहिलो गाँसमै ढूङ्गा लागेको छ । सपथ ग्रहण कार्यक्रमको प्रमूख अतिथिमा सहमति जुटाउन नसक्दा कार्यक्रम नै विवादित बन्न पुग्यो । कानुनि रुपमा स्वतन्त्रउम्मेदवारी दिएर बिजयी भएका नवनिर्वाचित मेयरले काँग्रेसको नेता भन्दा जनकपुरधामको विकासको नेताबन्न सकेमा सफल हुने छन् । अहिले उनले काँग्रेस प्रतिको मोहलाई थाँती राखेर जनकपुरधाम प्रतिको मोह देखाउने बेला हो ।

Comment


Related News

Latest News

Trending News