मुस्लिम तिर्थालुको पवित्र स्थल मक्का मदिनामा हजकालागी जाने हजयात्रीको शुल्कमा भारी बृद्धि गरिएको भन्दै यहाँका मुस्लिम समुदायले असन्तुष्टी व्यक्त गरेका छन् । शुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका उनीहरुले यसरी बृद्धि गरिएको शुल्क फिर्ता लिन माग समेत गरेका छन् ।
नेपाल मुस्लिम संघका केन्द्रीय सचिव इरसाद अंसारी, जनमुक्ती नेपाल मुस्लिम मुक्ती मोर्चाका केन्द्रीय सदस्य मो. गणि, मुस्लिम संघ सप्तरीका सभापती मो.युसुफ, मुस्लिम अगुवा मो. कमालुद्दिन लगायतको अगुवाईमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । गृहमन्त्रालय तथा हज कमिटीलाई समेत बोदार्थ दिइएको उक्त ज्ञापन पत्रमा हजायात्रीका लागी शुल्कमा भारी बृद्धि गरी निर्धारण गरिएको नयाँ शुल्क अविलम्ब फिर्ता लिन माग गरिएको छ । नेपाल मुस्लिम संघका सचिव इरसाद अंसारीले यस अघि हजयात्रीका लागी प्रतिब्यक्ति २ लाख २५ हजार तोकिएकोमा हाल आएर दोब्बर ४ लाख ६३ हजार पु¥याइएको प्रति आफूहरुको गम्भीर आपत्ती रहेको बताए । उनले सप्तरीबाट यस पल्ट २४ तथा अन्य जिल्लाबाट ५ सय १३ गरी कुल ५ सय ३७ जना हजयात्री मक्का मदिना जाने तयारीमा रहेको बेला अचानक गरिएको दोब्बर शुल्क बृद्धिले यात्रा रोकिने अवस्थामा पुगेको बताए ।
अर्का मुस्लिम अगुवा एवं मुस्लिम संघ सप्तरीका अध्यक्ष मो. युसुफले कोरोना माहामारीका कारण २ वर्ष देखी रोकिएको हजयात्रा भारी शुल्क बृद्धिका कारण फेरी रोकिने अवस्थामा पुग्न लागेको दुखेसो पोखे । हजायात्रीका लागी २ वर्ष अघि २ लाख २५ हजार प्रति ब्यक्ती शूल्क तोकिएको थियो । जसका लागी यहाँका २४ जना हजायात्रीले प्रारम्भिक शुल्क वापत १÷१ लाख रुपैया समेत बुझाइसकेका छन । मुस्लिम अगुवा मो.युसुफल भने–‘अहिले आएर जेठ २३ गते भित्र ३ लाख ६३ हजार रुपैयाँ थप बुझाउनु भनेर हज कमिटीको पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्राप्त भएपछि हामी अचम्मित भएका छौ ।’ हजयात्री मो. हाफिजले भने–‘हामी काठमाण्डु पुग्ने र त्यहाँबाट हज गर्न मक्मा मदिनाका लागी जहाजमा उडने योजना बुन्दै थियौं, एक्कासी आएको दोब्बर शुल्क बृद्धिको खबरले सबै योजना उडाएको महशुस भएको छ ।’ प्रजिअ गौतमले ज्ञापन पत्र बुझ्दै तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने बाचा गरेका थिए । हजयात्रीलाई मक्का मदिना दर्शन पछि अन्जानमा भएका पापबाट मुक्ती तथा पुण्यको प्राप्ती हुने जनविश्वास रहँदै आएको छ ।

