लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय निर्वाचन बारे समिक्षा गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकमा लोसपा पराजित हुने कारण बारे नेताहरुले छलफल गरेका छन् । छलफलमा लोसपा नेताहरुले आफ्नो कमजोरी स्वीकार गरेका हुन् ।
बैठकको सुरुवातमै अध्यक्ष ठाकुरले निर्वाचनमा देखिएको त्रुटी बारे औल्याएका थिए । पार्टी अध्यक्ष महन्थ ठाकुरले हारका कारणहरु बारे जानकारी गराउँदै गल्ती स्वीकार गरेको बताइएको छ । ‘हाम्रो कमीकमजोरी भयो, पार्टी विभाजन भयो । कोरोनाका कारण संगठन विस्तारलाई पनि तीव्रता दिन सकिएन । जसको असर निर्वाचनमा प¥यो,‘ महन्थको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने । लोसपा थोरै सिटमा खुम्चिनुमा आन्तरिक कारण पनि रहेको उनको भनाई थियो । कतिपय ठाउँमा निर्वाचन पनि निष्पक्ष नहुँदा आँफुहरु पराजित हुनु परेको उनको आरोप छ । ‘सुरक्षा निकायको पनि राम्रो भूमिका रहेन । गठबन्धनबाट अरू पार्टीका व्यक्तिमाथि आक्रमण गरियो,‘महन्थको भनाइ उद्धृत गर्दै ती सदस्यले भने,‘चुनावमा पैसाको व्यापक चलखेल भयो । राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भयो ।’ निर्वाचन आयोग पनि निष्पक्ष नभएको उनको ठहर छ ।
सोमबार पनि ११ बजे बैठक राखिएको छ । स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीति, आउँदो चुनावको सन्दर्भलगायत विषय बारे बैठकमा छलफल भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । सोमबारको बैठकमा संघीय संसद र प्रदेश सभा सदस्यको चुनावमा गठबन्धन बारे छलफल अघि बढ्ने उनले बताए । स्थानीय निर्वाचनको मत परिणामले लोसपा कमजोर देखिएपछि सत्ता साझेदार दलसँगै गठबन्धन गर्ने तयारी थालिएको छ । आगमी संघीय संसद र प्रदेश सभा सदस्य चुनावमा बलियो बन्ने रणनीतिमा लोसपा लागिसकेका छन् । शनिबार मात्रै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अध्यक्ष ठाकुर भेटवार्ता गरेका छन् ।
ठाकुर केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल भएको कार्यकारिणी सदस्य झाले जानकारी दिए । प्राधनमन्त्रीसँग भएको कुराकानी सोमबारको बैठकमा अध्यक्षले राखेपछि छलफल अगाडि बढ्ने जनाइएको छ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s


