२०७९ जेष्ठ २३, सोमबार ०७:११

गरुडा । रौतहटमा आइतवार एकैदिन तीनवटा पालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचन सम्पन्न भएको छ ।

जिल्लाको माधवनारायण, गढिमाई र फतुवा विजयपुर नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन आइतवार तरिकाले सम्पन्न भएको छ । पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट तीन जना गरी ८ जना कार्यपालिका सदस्यहरुको लागि मतदान भएको थियो । माधवनारायणमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् । कार्यपालिका सदस्य बहुमत सहित जित्नका लागि तीन जना पुरुष सदस्यहरुमा कांग्रेस, नेकपा एस र माओवादीले एक÷एक सिट लिने सहमतिका साथ तीनैपार्टीले गठबन्धन गरेको थियो । तीनैपार्टी बीच भएको सहमति अनुसार नै निर्वाचनमा अल्पसंख्यकबाट कांग्रेस, नेकपा एस र माओवादीले एक÷एक सिट जितेको छ भने महिला सदस्यहरुमा कांग्रेस र नेकपा एस दुई÷दुई तथा माओवादीले एक सिट जितेको छ । निर्वाचनमा पुरुष सदस्यहरू तर्फ कांग्रेसबाट २९ मत सहित जयप्रकाश पण्डित, नेकपा एसबाट २७ मत सहित नथुनी महतो र माओवादीबाट २६ मत सहित दीपेन्द्र कुमार मुखिया निर्वाचित भएका छन् भने महिला सदस्यहरू तर्फ कांग्रेसबाट २९ मत सहित मोतिला देवी, कांग्रेसबाटै २७ मत सहित रमलिया देवी, नेकपा एसबाट २८ मत सहित यतबरिया देवी, नेकपा एसबाटै २४ मत सहित प्रभु देवी र माओवादीबाट २६ मत सहित रुपा देवी निर्वाचित भएकी छन् ।

निर्वाचनमा मेयर बैद्यनाथ प्रसाद यादव, उपमेयर निर्मला देवी रमण, नवौं वडाका वडा अध्यक्ष र सबै सदस्यहरु भाग लिएकाले पुरै सय प्रतिशत नै मत खसेको माधवनारायणका निर्वाचन अधिकृत उदयचन्द्र अधिकारीले जानकारी दिएका छन् । निर्वाचित भएका सबै कार्यपालिका सदस्यहरुलाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र समेत वितरण गरिएको निर्वाचन अधिकृत अधिकारीले बताए । त्यस्तै जिल्लाको गढिमाई नगरपालिकामा आइतवार नै भएको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त गठबन्धनले प्यानल सहित विजयी हासिल गरेको छ । कांग्रेसले महिला र पुरुष गरी ६ सिटमा जित निकालेको छ भने लोसपाले महिला पुरुष गरी २ सिटमा जित हासिल गरेको छ । त्यस्तै फतुवा विजयपुर नगरपालिकामा नेकपा एमाले, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसले एक्लै प्यानल सहित विजयी भएको छ । कांग्रेसले पाँचवटा महिला र अल्पसंख्यकको तीनवटा गरी आठवटै कार्यपालिका सदस्य एक्लै जित्न सफल भएको निर्वाचन अधिकृतको कार्यालय फतुवा विजयपुरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News