२०७९ जेष्ठ २४, मंगलवार ०७:१०

पाँच दलीय गठबन्धनका कारण स्थानीय चुनावमा विफल भएपछि गठबन्धनमा नरहेका दलहरु नयाँ गठबन्धन बनाउने योजनालाई तीव्रता दिएका छन् । उनीहरुले स्थानीय चुनावमा गठबन्धन नगरेकै कारण कमजोर भएको निष्कर्ष निकाल्दै संघ र प्रदेशसभा निर्वाचनमा नयाँ गठबन्धन बनाउने सोचलाई साकार रुप दिन अग्रसर भएका छन् । नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायतका दलहरु अर्को गठबन्धन बनाउने तयारीमा जुटेका छन् । स्थानीय चुनावपछि यी पार्टीले आन्तरिक समीक्षा गर्दै पाँच दलीय सत्ता गठबन्धनका कारण सोचेजस्तो मतपरिणाम ल्याउन नसकेको निष्कर्ष निकालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल नगरे कमजोर परिणाम हासिल हुने उनीहरुको निष्कर्ष छ । चुनाव सकिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भत्काउन पटकपटक प्रयास गरेका छन् । ओलीले कहिले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गर्ने, कहिले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने, कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेर सत्ता गठबन्धनलाई भत्काउन विभिन्न उपाय अवलम्बन गर्न खोजेका छन् । एमालेले पनि गठबन्धन बनाउने योजना बनाएको छ । यसका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई तान्न उसले प्रयास गरिरहेको छ । त्यसमा सफल नभए वाम गठबन्धनको विकल्प पनि एमालेले अघि सारेको छ ।

लोसपाको जारी कार्यकारिणी समितिको बैठकमा पनि सत्ता गठबन्धनकै कारण स्थानीय चुनावमा पार्टी कमजोर भएको निष्कर्ष निकालिएको छ । सो पार्टीका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले सत्ता गठबन्धनका कारण लोसपाले अपेक्षा अनुसार सीट हासिल गर्न नसकेको बताए । यद्यपि पार्टी निराश नरहेको उनको भनाइ छ । आगामी संघ तथा प्रदेशको चुनावमा लोसपाले गठबन्धन बनाएर जाने मनस्थिति बनाइसकेको छ । त्यसका लागि उसले विभिन्न विकल्पसँग आन्तरिक कुराकानी पनि चलाइरहेको सोही पार्टीका नेताहरु बताउँछन् । पहिलो विकल्पमा उसले जसपालाई नै राखेको छ । मधेश प्रदेशमा अन्य दलसँग गठबन्धन गर्नुभन्दा जसपासँग गठबन्धन गर्दा फाइदा हुने निष्कर्ष लोसपाको छ । जसपा र लोसपाको गठबन्धन भयो भने मधेश प्रदेशमा पहिलो पार्टी हुने निश्चित रहेको लोसपाको प्रारम्भिक अनुमान छ । २०७४ को संघ तथा प्रदेशको चुनावमा लोसपा (तत्कालीन राजपा) र जसपा (तत्कालीन संघीय समाजवादी फोरम) बीच तालमेल भएका कारण मधेश प्रदेशमा राम्रो नतिजा ल्याएका थिए । त्यो नजिरको आधारमा पनि आगामी चुनावमा दुई दलको बीचमा तालमेल हुनु आवश्यक रहेको लोसपाका नेताहरु बताउँछन् । जसपासँग चुनावी तालमेल वा गठबन्धन हुन नसके लोसपाले दोस्रो विकल्पको रुपमा एमालेलाई राखेको छ । सो पार्टीका एक कार्यकारिणी सदस्यले भने, ‘पाँच दलको गठबन्धन कायम रहने लगभग निश्चित नै छ, त्यस अवस्थामा जसपासँग चुनावी तालमेल हुने सम्भावना निकै कम छ । आगामी चुनावमा एमालेसँग नै गठबन्धन बनाएर जानेबारे पार्टीमा माइण्ड मेकअप हुँदैछ ।’ गठबन्धन बनाएरै चुनावमा जाने सन्दर्भमा लगभग सबैले मन बनाइसकेको ती नेताले बताए । उनले भने, ‘विकल्पहरुको विषयमा कुराकानी भइरहेको छ ।’

यता, सीके राउत नेतृत्वको जनमत पार्टीले सोचेजस्तो नतिजा स्थानीय चुनावमा ल्याउन सकेन । जनमत पार्टीले स्थानीय तह निर्वाचनमा कुल एक लाख १५ हजार मतमात्र प्राप्त गरेको छ । उसले पनि कमजोर हुनुमा सत्ता गठबन्धनलाई नै दोषी देखाएको छ । गठबन्धनबिना सफल हुन नसकिने प्रारम्भिक निष्कर्ष निकालेको सो पार्टीले चुनावी तालमेलका लागि विकल्प खुला राखेको छ । जनमत पार्टी अहिले बैठकमा केन्द्रित भएको छ । शनिबारदेखि बसेको समीक्षात्मक बैठकले आगामी चुनावका लागि रणनीति बनाउने उनले बताए ।

Comment


Related News

Latest News

Trending News