अपडेट 
२०७९ जेष्ठ २४, मंगलवार ०७:३९

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा रहेको अस्पतालमा कार्यरत्त सरकारी डाक्टरहरुमाथि निगरानी बढाइएको छ । तलव, सेवा सुविधा सरकारी लिने तर, समय भने निजी क्लिनिक तथा अस्पतालमा बढी समय विताउने डाक्टरहरुमाथि निगरानी बढाइएको छ ।

राजविराज नगरपालिकाका मेयर भिमराज यादवले सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिँह अस्पतालमा कार्यरत्त डाक्टरहरुले उपचार सेवा दिनु भन्दा निजी अस्पतालमा बढी समय दिने गरेको भन्दै यसमा सुधार नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् । सोमबार राजविराज नगरपालिकाद्वारा आयोजित पत्रकारहरुसंगको परिचयात्मक तथा आगामी नीति तथा कार्यक्रम बारेको बारेमा सुझाव संकलन कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका छन् । ‘जनतालाई सस्तो, सुलभ र स्तरीय उपचार सेवा दिन सरकारी अस्पतलाका रुपमा गजेन्द्रनारायण सिंह अस्पतालको स्थापना गरिएको हो, उनले भने– ‘तर यहाँका अधिकांश डाक्टरहरु निजी अस्पतालमा बढी समय दिने प्रवृति बढेकाले विरामीलाई समस्या हुने गरेको मैले स्वयं स्थलगत निरीक्षणको क्रममा पाएको छु ।’ सरकारी अस्पतालको ड्युटी छोडेर सोही समयमा निजी अस्पतालमा जानेहरुमाथि सिसी क्यामेराका साथै अन्य श्रोत साधनबाट पनि निगरानी गरिने उनले जानकारी दिए । सरकारी अस्पतालमा जागिर खाएर बढी कमाउनकालागि निजी अस्पतालमा समय दिन नमिल्ने उनको भनाई छ । उनले अस्पताल निरीक्षणको क्रममा विरामी र कुरुवा समेतले गुनासो गरेपछि तत्कालै अस्पताल प्रशासनको वैठक बोलाई समस्या समाधानको प्रयास गरिएको बताए । उनले अस्पताललाई चाहिने आवश्यक जनशक्ति तथा बन्द रहेको सिटीस्क्यान र एक्सरे सेवा तत्कालै सञ्चालनका लागी लाग्ने खर्च पनि नगरपालिकाबाट अस्पताल प्रशासनलाई उपलब्ध गराइएको बताउँदै अब पनि सुधारको अवस्था नदेखिए कडा कदम उठाउन बाध्य हुने चेतावनी दिए ।

मेयर यादवले नगरवासीको सुविधाका लागि तीन महिना भित्र नगर क्षेत्रमा नगरवस सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै साविकको ६० विघा क्षेत्रफलमा रहेको राजविराजबासीहरुको जग्गाको हाल सम्म लालपुर्जा नरहेका कारण बैंकमा धितो राखेर कारोबार गर्न समेत समस्या भईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यसबारे छिट्टै पहल गरी उनीहरुलाई लाल पुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट बनाईने योजना उपर सकारात्मक सल्लाह सुझावका लागि उनले सञ्चारकर्मी लगायत सरोकारवाला सबै संग आग्रह समेत गरे । कार्यक्रममा उपमेयर इशरत प्रविण तथा विभिन्न वडाका वडाअध्यक्ष समेतले नगरपालिकाको भावी नीति योजना तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरुबारे आ–आफनो राय सुझाव दिन सहभागीहरुलाई आग्रह गरेका थिए । कार्यक्रमका सहभागीहरुले राजविराज नगरपालिकाको विद्यमान समस्या, चुनौती र त्यसको समाधानबारे आ–आफनो सुझाव सहित नवनिर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना दिए ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News