अपडेट 
२०७९ असार १, बुधबार ०७:५४

सामान्यतया अग्रज भनेर आफूभन्दा वरिष्ठलाई मानिन्छ । समाजमा उमेरको हिसाबले कोही धेरै फरक रहेको अवस्था छ भने सानोले ठूलोलाई अग्रज मान्ने चलन छ । यही रीति विश्वभर हुनुपर्छ । कहिलेकाहीँ उमेरले भन्दा अन्य कारणले पनि वरिष्ठ हुन पुग्दछ । पदको कारणले वरिष्ठ हुने कुरा त सबैले मानेको र बुझेको कुरा नै हो । उमेरले कम नै भए पनि पदको कारणले माथिल्लो पदमा रहेकोलाई जस कसैले ठूलो वा अग्रज वा माथिल्लो दर्जाको मान्ने गरेका छन् । यसलाई स्वाभाविक मान्नु पर्दछ । यो पनि एक किसिमको सम्मान नै हो र यस किसिमको प्रचलन लगभग संसारको सबै देशमा हुनुपर्छ । कला वा विद्वतालाई पनि अग्रजताको आधार मान्ने गरिएको छ । कम उमेरमा पनि मानिसले बढी कला वा विद्वता प्रदर्शन गर्न सक्छ, आफ्नो प्रतिभाको प्रदर्शन गर्न सक्छ । उमेर जे जस्तो भए पनि यदि विद्वता छ र यदि मानिसमा कला छ भने त्यस गुणको कारणले त्यस क्षेत्रका मानिसले अग्रज मान्न थाल्दछन् । यहाँ क्षेत्र भन्नाले भूगोल त हो नै तर भूगोलभन्दा अझ बढी विद्वता वा गुण वा कला भएको जुन विधा छ, त्यसलाई बढी बुझाउन खोजिएको छ । कलाको सम्मान सबै क्षेत्रमा गरिने गरिएको पाइन्छ । मान सम्मानको परम्पराले मानव सभ्यतालाई उँचो बनाइराख्छ ।

मानिसले मानिसलाई विभिन्न किसिमले सम्मान गर्नुपर्दछ । यी विभिन्न किसिमले सम्मान गरिने भन्नु नै उमेरको आधारमा, पदको आधारमा र सामाजिक तथा अन्य विशिष्ट गुणको आधारमा सम्मान गर्नुपर्छ भन्नु हो । कतिपयले उमेरलाई ठूलो मान्नु हुँदैन पनि भन्दछन् तर उमेर चाहिँ वरिष्ठता र ज्येष्ठताको प्रमुख आधार हुनुपर्छ । ज्येष्ठ र वरिष्ठलाई यदि आदर वा सम्मान गर्न कम गर्ने हो भने विस्तारै अन्य क्षेत्रका अग्रजको सम्मान पनि कम हुँदै जाने हुन्छ । फेरि यससित जोडिएको अर्को पक्ष यो पनि हो कि विशिष्ट प्रतिभा वा गुण भएका मानिसलाई चिन्न केही समय अवस्य लाग्दछ तर उमेरले अग्रज हो भन्ने चिन्न कसैलाई गाह्रो हुँदैन । उमेरले अग्रज भएपछि सम्मान गर्नुपर्ने हो भन्ने भावना आमरुपमा नै व्याप्त छ र यसमा यदि कमी आउन पुग्यो भने अन्य किसिमले वरिष्ठ रहेको मानिएकालाई पनि सम्मान गर्ने परम्परामा ठेस लाग्न पुग्छ । यस अवस्थामा मानव सभ्यता नै आहत बन्न पुग्दछ । मानव सभ्यतामा सम्मानको परम्परामा कमी आउन थाल्दछ । समाजमा यदि अग्रजप्रति सम्मानको भावना तथा संस्कार भएन भने समाज कस्तो होला ? एक हिसाबले पनि पनि कम बुद्धि भएको वा तीक्ष्ण बुद्धि नभएको अन्य जीवजन्तु सरह हुन पुग्ला कि ? किनभने अग्रजप्रतिको सम्मानको संस्कार वा परम्पराले नै मानिसले देउता, भगवान, वृद्धवृद्धालाई सम्मान गर्न चाहेको हो वा गरिरहेको हो । यसको आडमा मानिसले उमेरले वरिष्ठ र शारीरिक बलले कमजोर मानिसलाई नै सम्मान गरिरहेको छ । हो, शारीरिक बलले कमजोरलाई सम्मान गर्ने संस्कारले गर्दा मानिसले भर्खरका शिशुलाई पनि सम्मान गर्दछ ।

सम्भव हुँदासम्म अलिकति बढी महत्व दिन चाहन्छ । सम्भव भएसम्म कमजोरले प्राथमिकता पाउनुपर्छ भन्ने मनोविज्ञान अद्यपर्यन्त समाजका हरेक वर्गमा रहेको देखिन्छ । यो परम्परा, संस्कार र सम्मानको शृंखलाले मानवलाई अझ बढी सभ्य बनाउँदै लगेको छ । सभ्य समाजको निर्माणमा अझ बढी सहयोग पु¥याएको छ । र, मानिस मानिसमा पनि को बढी सभ्य र को चाहिँ सभ्यताको बाटोतिर जाँदैछ भन्ने कुरा ब्यष्टिमा पनि बुझ्न सहयोग गर्दछ । मानिसले मानिसलाई सम्मान गर्ने संस्कारले समाजलाई सुन्दर बाटोमा लैजान सहयोग गरिरहेको यथार्थ हो । तर भन्दैमा समाजमा अगाडि बढिहाल्ने नहोला । समाजमा अझै पनि अग्रज नागरिकप्रति दुव्र्यवहार हुने गरेको छ । शारीरिक र मानसिक दुवै किसिमले अग्रजप्रति दुव्र्यवहार हुने गरेको पाइएको छ । संसारमा अग्रजप्रति दुव्र्यवहार नहोओस् र भइरहेको दुव्र्यवहार कम होओस् भनेर नै विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस मनाइन थालिएको हो । यस दिवसले सर्वसाधारणमा अग्रजप्रति सम्मान गर्नुपर्ने, सम्मान दर्शाइनु पर्ने र यति नसकेको खन्डमा कम्तीमा कुनै किसिमले दुव्र्यवहार गर्न नहुने सन्देश दिने गरेको छ । अग्रजलाई सम्मान नगर्नेले दुव्र्यवहार नगर्ने हो भने समाजलाई कम्तीमा राम्रो दिशामा लैजाने उपाय बाँकी छ भन्ने स्पष्ट हुन्छ । अझै पनि आफूलाई बलियो मान्नेले आफूभन्दा शारीरिक बलमा कमजोर रहेका अग्रजलाई दुव्र्यवहार गरिएको पाइन्छ । यो ज्यादै नराम्रो पक्ष हो हाम्रो समाजको । शारीरिक रुपमा मारपिट गर्नु, हेप्नु, खान नदिनु, अपशब्द प्रयोग गर्नु जस्ता दुव्र्यवहारहरु भइरहेका छन् । यस प्रकारका दुव्र्यवहारका समाचारहरु निरन्तर आइरहेका छन् ।

सम्पत्ति लिनको लागि दुव्र्यवहार र यातना दिइएका घटनाहरु धेरै हुन्छन् । यसै गरी अग्रज अशक्त भएपछि वा रोगी भएपछि अग्रजलाई सेवा नगरेर, तिनलाई दिइनुपर्ने सम्मान नदिएर, उपचार र औषधिमा लाग्ने खर्च नबेहोरिदिएर र अझ कतिपय अवस्थामा नराम्रो व्यवहार गरेर पनि अग्रजप्रति दुव्र्यवहार गरिएको पाइन्छ । घरमा वृद्धवृद्धालाई खाना नै नदिने, औषधि नदिने र यदि ज्येष्ठ नागरिक सम्मान भत्ता सरकारले दिइरहेको छ भने त्यो आउनासाथ खोसेर लिने गरेको, आफ्नो मनले अलिकति रकम खर्च गर्दा पनि गाली गर्ने गरेको जस्ता उदाहरण त कति छन् कति ? सरकारले अग्रजलाई सम्मान गर्ने संस्कार नै बसाल्न खोजेको छ । देशका अग्रजलाई एक किसिमले पेन्सन नै दिएका छन् भने अर्को किसिमले सम्मानित गरिरहेको पनि देखिन्छ । सबै सरकारी नोकरीमा एक दिनले जेठो भए पनि वा एक पदले नै जेठो भए पनि तिनीप्रतिको सम्मान फरक हुन्छ । हो, यहाँ तलबको फरक, मानको फरक, जिम्मेवारीको फरक र अन्य दृष्टिकोणले सम्मान बढाउने कुरामा पाइने निश्चित प्रक्रियाले गर्दा सदैव मानिस वरिष्ठ बन्न खोजिरहेका हुन्छन् । नोकरीको दृष्टिकोणले वरिष्ठ हुनु आफैँमा सम्मानको कुरो हुन्छ । यद्यपि सरकारी नोकरीमा सरकारको तर्फबाट कनिष्ठलाई वरिष्ठले वा अग्रजले आफूभन्दा पछिकालाई अपमान गर्नुपर्ने, दुव्र्यवहार गर्नुपर्ने कुराको छुट दिएको छैन । यस्तो पाइएमा कानुनबमोजिम नै कारबाही हुनुपर्ने भनिएको छ । कानुनले कारबाही गर्ने कुरो समाजले पनि स्वीकार गरेको छ । समाजले पनि स्वीकार गरेको र राज्यले पनि मानेको कुरो यही हो कि समाजमा अग्रजमाथि दुव्र्यवहार हुने गरेको छ । अग्रजमाथि हुने दुव्र्यवहारलाई कम गर्नु परेको छ, घटाउनु परेको छ र विस्तारै हटाउनु परेको छ । यसको लागि कानुन मात्र धेरै कडा वा जरिवाना तथा सजाय मात्र धेरै भएर हुँदैन ।

यसभन्दा पनि महत्वपूर्ण उपाय भनेको चेतनाको विस्तार अर्थात् जागरुकता हो । समाजका अग्रज नागरिकप्रति सम्मान दर्शाउने चेतनाको विकास र अग्रजप्रति सम्मान दर्शाउने तथा व्यवहारमा अग्रजलाई सबै किसिमले सम्मान गर्ने संस्कारको विस्तार गर्ने जागरुकता अहिलेको आवश्यकता हो । जागरुकताले एकातिर अग्रजप्रति हुने दुव्र्यवहारलाई हटाउँछ भने अर्कोतिर तिनको सम्मानमा वृद्धि गर्दछ । यसले गर्दा कालान्तरमा आफूले पनि सम्मान पाउने अपेक्षा गर्न सकिन्छ । सदैव कोही नवयुवक नै बनिरहन्छन् भन्ने होइन । पूरा आयु बाँच्न पाउनेले उमेरको दृष्टिकोणले समाजलाई धेरै योगदान दिइसकेका नागरिकहरुलाई आफूप्रति गर्व गर्न सक्ने वातावरण यही सम्मानको परम्पराले सम्भव छ । अग्रजप्रतिको सम्मानले समग्र समाजको शिर गर्वले ठाडो हुने वातावरण बन्दछ । अग्रजलाई दुव्र्यवहार नगरिनु तथा तिनीप्रति सम्मान दर्शाइनु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो । यही दायित्वको एक पाटोको रुपमा यस किसिमको जागरुकता विस्तार पनि हो, प्रसार पनि हो । सामाजिक दायित्वको परिपालन गर्ने तथा गराउनको लागि जागरुकताको विस्तार गर्ने समाजका असल नागरिक हुन्, सपूत हुन् । बुझ्नेहरुले नबुझ्नेहरुलाई बुझाउनु पर्छ । बुझाएपछि सम्भव भएसम्म पालन भए नभएको हेर्नु पनि पर्दछ । यसले यो पनि स्पष्ट हुन्छ कि कहिले मैले कुन उतरदायित्व पूरा गरेको छु ।

उत्तरदायित्व पूरा गर्नु भनेको कतैबाट वा कसैबाट केही पाउनुपर्छ भन्ने होइन । पाउने लालसाले होइन, दिने चाहनाले हुनुपर्छ । समाजलाई सभ्य र सुसंस्कृत बनाउने दिशातिर निरन्तर क्रियाशील बनाउन हरेक सचेत नागरिकको सामाजिक दायित्व हुन्छ भन्ने कुरालाई हरेक चेतनशील नागरिकले बुझ्नुपर्छ र सक्रिय पनि भइरहनु पर्छ ।

Comment


Related News

Latest News

Trending News