अपडेट 
२०७९ असार २, बिहीबार ०७:४३

जगत जननी सीता जन्मको सम्बन्धमा विभिन्न रामायणमा फरक फरक विचार रहेको पाइन्छ । रामायणको कुरो गर्दा विभिन्न प्रकारका रामायण रहेका छन् । ती रामायणहरूमा आ–आफ्नै ढंगले सीता जन्म बारे विचार राखेका छन् । जे जति रामायण आए पनि सबै रामायणको मूल स्रोत बाल्मीकि रामायणलाई लिएको पाइन्छ । रामायण अहिले लगभग विश्वकै सबै मूल भाषामा अनुवाद भै सकेका छन् । रामायण हिन्दुहरूका लागि मात्र होइन सबै धर्मालम्बीहरूले रामायणलाई मानव जीवनोपयोगी संहिताको रूपमा स्वीकार गरेका छन् । यस्ता विभिन्न रामायणहरूका खोज गर्नु कठिन भएता पनि यस्तो प्राप्य अद्भुत तथा मूर्त धार्मिक सम्पदाको सुरक्षा र उपलब्ध हुन नसकेका सम्पदाको सरकारकै तर्फबाट खोज हुनु पर्ने आवश्यकता महसूस गर्दछु । रामायणहरूकै गुण तथा विशेषतालाई विवेचना गर्दा अरू रामायण भन्दा फरक दृष्टिकोणबाट वर्णन गरिएको रामायण अद्भूत रामायण हो । यसले रामलाई साक्षत् परमज्योति परमधाम, परमपुरूष मानेर वर्णन गरेको छ । यसरी सबै रामायणहरू केही आ–आफ्ना विशेषता साथ वर्णन भएका छन् । जहाँसम्म सीता जन्मको प्रसंग छ त्यस बारे विभिन्न मत प्रकट भएका छन् । यी सबै प्रसंगहरू मध्ये बाल्मीकि रामायणको प्रसंग सबैभन्दा भरपर्दो देखिन्छ । यस रामायण अनुसार सीताको जन्म वारे चर्चा गर्दा सीताको जन्ममा रावणको अलिकति पनि संलग्नता रहेको देखिँदैन वरु मन्दोदरीको केही संलग्नता भए पनि त्यसले पूर्णता दिएको देखिँदैन ।

एक दिन रावणले आफ्नो राज्यमा बसोवास गर्दै आएका सबै बासिन्दाहरूका रेकर्ड कायम गरी ती सबैसँग कर लिने योजना बनाए । यसरी खोज तलास कै क्रममा एउटा जंगलमा धेरै ऋषिहरू तपस्या गरि रहेका देखेर ती तपस्वीहरूसँग पनि कर माग्न शुरु गरे । ती ऋषिहरूले सरकार हामीहरू राज्यका कुनै सम्पत्तिलाई उपभोग गरि रहेका छैनांै । तथा राजासँग पनि हामी केही सहयोग लिएका छैनौं बरू हामीहरू पात–पतिङ्करबाट कुटी बनाई यही जंगलमै फलेका कन्दमूल खाइ तपस्या गर्दै आएकाहरूसँग के सम्पत्ति छ र दिनु ? हामीहरूलाई कर माफी दिनु भनी अनुरोध गर्दा रावणले मानेनन् । तसर्थ ऋषिहरू करका रूपमा के दिने भनी व्याकुल भई सोचमा परेका थिए । त्यसै बखत ती तपस्वीहरूका अन्तःकरणमा बेदमाताले रावणको समूल नष्ट गर्ने धेय राखी आफ्नो औंलाबाट दुई दुई थोपा रगत देओ ! त्यसै रगतबाट मैले जन्म लिइ त्यसको अन्त्यको तारतम्य मिलाउँछु भनी आज्ञा भयो । ऋषिमुनिहरूले पनि बेदमाताका आज्ञा अनुसार आ–आफना औलाबाट रावणलाई करको रूपमा रगत बुझाए । रावणले ऋषिमुनिहरूका रगत चाँदीको भाडामा जम्मा गरेर लङ्का तर्फ फर्के । घरमा पुगे पछि मन्दोदरीलाई यो विषसमान छ सम्हाली राखेस् भनी आफू घुम्न हिड्यो । रावण ज्ञानी भए पनि राक्षसको कर्म सम्झी पाप गर्दै गए । सधैं परस्त्रीसँग मनोविनोद गरेको देखेर मनदोदरी निकै रूष्ट हुँदै आइ रहेकी थिइन् । यसरी आफू हुँदा हुँदै आफ्ना श्रीमान्ले अन्य स्त्रीसँग मनोविनोद गरेको देखी दिक्क भएर मर्नु नै वेश भनेर आत्महत्या गर्ने अभिप्रायले विषसमान त्यो वस्तुलाई पान गरिन् । त्यो ऋषि रगत पान गरे पछि बेदमाताले मने अनुसार मन्दोदरीको पेटमा गर्भ रहन गयो । समय वित्दै जाँदा मन्दोदरीले महसूस गर्न थालिन कि मेरो पेटमा त्यो विषसमान बस्तु खाए पछि गर्भ रहन गएको हो । रावण अन्यत्र भएको बखत त्यो गर्भ रहन गएको कुराले मन्दोदरी दिन दिनै चिन्तित भइन् । अन्तमा मन्दोदरीले त्यो गर्भलाई फाल्नु नै बेश सम्झी गर्भपात गर्दा एक तेजस्वीनी कन्याको उत्पति भएको देखी डराइ त्यसै चाँदीको भाडामा राखी आफ्ना सेविकाहरूलाई लंकाको सीमा भन्दा बाहिर फाली आउनु भनी आदेश गरिन् ।

सेविकाहरू उक्त भाँडालाई मिथिला क्षेत्रमा लगी माटोले पुरेर फर्के । यस कारणले मिथिलामा जलबृष्टि नभएर खडेरी प¥यो । यस खडेरीलाई हटाउन दरबारिया पंडितहरूका सल्लाह अनुसार एउटा बृष्टियज्ञ गर्नु पर्छ । यस यज्ञको समाप्तिपछि बृष्टि (वर्षा) हुनेमा सबै विश्वस्त थिए । यसै बृष्टियज्ञ गर्न भूमि शुद्धि गर्ने क्रममा राजा जनकले हलो जोत्दा हलोको फालीमा उक्त भाँडो अड्किएर माथि आयो । त्यस भाडामा के छ भनी हेर्दा एउटी अति सुन्दर र तेजस्वी कन्या देखी राजा जनकले विस्मात मान्दा आकाशवाणी भयो “है जनक ! यी कन्या जगत जननी हुन् ।” यिनलाई आफ्नै सन्तान सरह पोषण गरी राख्नुहोस् भन्ने कुरा सुने पछि राजा जनक हर्षित भइ ती कन्यालाई आफ्नै सन्तान सरह पालन–पोषण गर्न थाले । हाल त्यो ठाउँ भारत विहारको सीतामढी जिल्लाको पुनौरा भने ठाउँमा छ । सीताको प्रकटीकरण सीतामढीमा भए पनि जन्मदेखि विवाहसम्मका सम्पूर्ण कुराहरू जनकपुरधाममा नै भएको हुनाले सीताको जन्म जनकपुरधाममा नै मानिन्छ । यसमा कुनै विवाद छैन । अहिले प्राचीन मिथिलाको जनकपुर भने ठाउँ नेपालको मधेस प्रदेश अन्तर्गत धनुषा जिल्लामा अवस्थित छ । अहिले पनि जनकपुरधामलाई विश्वका हिन्दूहरू एउटा पवित्र भूमिको रूपमा लिने गर्छन र सीता मातालाई दर्शन गर्न एक चोटी अनिवार्य रूपमा जनकपुरधाम आउन चाहन्छन् । जगत जननी सीताको जन्म वारे विद्वत वर्गमा अहिले पनि दुई मत आएका छन् । पहिलो मतको आधारमा सीता रावणको बृजद्वारा नजन्मे पनि मन्दोदरीको गर्भमा पालिएको हुनाले यसलाई रावणसँग जोडेर हेर्ने गर्छन । यहाँहरूका भनाइमा सीताको जन्म जे जस्तो अवस्थामा भए पनि मन्दोदरी रावणको पत्नी भएको हुनाले यसलाई रावण र सीताको सम्बन्धलाई उजागर गर्छन र भन्छन् कि सीता रावण की छोरी हुन् । तर कुरो साफ छ । सीताको जन्म ऋषि मुनिहरूका रगतबाट भएको थियो । यसलाई बरू ऋषिमुनि तथा मन्दोदरीसँग जोडेर हेर्नु उपयुक्त देखिन्छ । रावणलाई सीताको जन्ममा कही कतै कुनै सम्बन्ध छैन ।

रामायणहरूमा सीता जन्मबारे भिन्न भिन्न दृष्टि रहे पनि सबै रामायणले एउटा कुरामा सहमत देखिन्छन् कि ऋषिहरूका रगत र मन्दोदरीको गर्भबाट सीता माता पूर्ण बच्चाको रूपमा आए पछि धर्ती माताको गर्भबाट प्रकट भएको देखिन्छ । अर्को तेस्रो समूह यस मत भन्दा बेग्लै मत प्रकट गरेका छन् । यिनीहरूका भनाइमा सीता माता धर्ती माताको कोखबाट आएकी थिइन् र पुनः धर्तीमा नै समाइ आफ्नो जीवन लीलालाई अन्त गरेकी थिइन । जन्म सम्बन्धी अन्य कुरा बाहियात रहेका छन् । सीतामाता पृथ्वीमा त्यसै आएकी होइनन् । रावणको क्रियाकलापबाट सबै तंग भै रहेका बेला कसरी यसको अन्त हुन्छ भनी सोच साथ लक्ष्मी जी पृथ्वीमा अवतरण गरेकी हुन् । रावणादि राक्षसबाट पृथ्वी माता गौरूप धारण गरेर ब्रह्माको साथमा विष्णु भगवानसँग पृथ्वी उद्धारार्थ धर्म रक्षाका लागि प्रार्थना गर्न बैकुण्ड जानु भयो । तब भगवान विष्णुले पृथ्वी उद्धारार्थ भूमिमा अवतार लिन्छु । यसका लागि सब देवताहरूलाई पहिले नै वानरादि रूपमा जन्म लिन आदेश दिनु भयो । यसरी पहिले नै दुन्दुभी गन्धर्वीले मन्थराको रूपमा कैकेय देशमा जन्म लिइ सकेकी थिइन् । सीता माताले पनि त्यसै प्रयोजनका लागि स्वयं लक्ष्मीजीबाट सीताको अवतारमा प्रकट भएकी थिइन् । अब शिर्षकको उत्तर तिरे लागौं । विभिन्न रामायणले भिन्न भिन्न मत प्रकट गरेपनि एउटा कुरोमा सबैका एक मत देखिन्छ कि सीता माता धर्ती कै पुत्री हुन् । रावण जस्ता पापी राक्षसलाई अन्त गर्न नै पृथ्वीमा अवतरित भएकी थिइन् । यसवारे धनुष यज्ञातिर हेर्दा देश विदेशका सबै राजामहाराजाहरू आएका थिए ।

सबैले पालै पालो गरी धनुष उठाउन जाँदा कसैसँग टस्स मस्स भएन । त्यस धनुषयज्ञमा लंकाका राजा रावण पनि आएका थिए । रावण त्यस धनुषालाई दर्शन मात्र गरेर फर्केका थिए । यसबाट विद्वानहरूले दुईटा अडकलवाजी गरेका छन् । पहिलो समूहको के भनाइ छ भने सीता रावणको छोरी भएको हुनाले धनुष भंग नगरी फर्केका थिए भने अर्को समूहको पहिलो समूह भन्दा केही भिन्न विचार आएको देखिन्छ । यहाँहरूका विचारमा परशुरामले राजा जनकलाई राख्न दिएको पिनाङ्क धनुष खुद शिवले प्रदान गरेका थिए । शिवलाई रावणले परमपरमेश्वरको रूपमा मानेका कारणले त्यस धनुषालाई तोड्न नचाहेर लङ्का फर्केका थिए । यी दुबै कुराको समीक्षा तिर जाँदा पहिलो मत भन्दा दोस्रो समूहको मत बढी विश्वासिलो देखिन्छ । पहिलो समूहले दिएको तर्कमा कुनै सत्यता देखिँदैन । सीता त जगत माता हुन् । वहाँको जन्म बारे जे जस्तो लेखिएको भए पनि रावणको छोरीको रूपमा कहीं कतै वर्णित छैन । निष्कर्षमा के भन्न सकिन्छ भने हामी मिथिलावासी धन्य छौं । जहाँ जगत जननी आफै प्रकट भइ मिथिलावासी सँग सँगै बाल लिला गरेकी थिइन् । रामसँग विवाह गरेर मिथिलामा सीता र रामको उपस्थितिलाई निरन्तरता दिएका कुरा हामी विभिन्न धार्मिक ग्रन्थहरूमा समेत पाउँछौ । धन्य छ मिथिला र धन्य छन् मिथिला बासी । अस्तु । लेखक त्रिविका सेवानिवृत सह–प्राध्यापक तथा अन्वेषक हुनुहुन्छ ।

 

Comment


Related News

Latest News

Trending News