नागरिकता सम्बन्धी विधेयकलाई संसदमा सहमतिबाट पारित गर्न सरकारले फेरि प्रयास थालेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद शर्माले शुक्रवार छलफल गरेका छन् । बजेट पारित भएसँगै संसदमा नागरिकता सम्बन्धी विधेयक पेश गरिने प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रुपमा नै बताइसकेका छन् । मन्त्री खाण र शर्माले संसदीय समितिबाट पास भइसकेको विधेयकलाई नै पारित गर्न ओलीलाई आग्रह गरेको बताइएको छ । सत्तासीन माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी प्रावधानमा एकमत देखिएका छन् । अंगीकृत वैवाहिक नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने प्रावधान राख्न एमाले र माओवादीको अडान छ । नेकपा एसले यस सम्बन्धमा हाल धारणा सार्वजनिक गरेको छैन् । तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाली नागरिकसित विहा गरे लगतै वैवाहिक अंगीकृत नागरिकता दिनु पर्ने प्रावधान राख्न सहमत छन् ।
अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसमा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए । ओलीले नागरिकता विधेयक, नागरिकता सम्बन्धी अध्यादेश लगायतका विषयमा अध्ययन गर्न आवश्यक रहेको धारणा राखेको मन्त्री खाणले बताए । सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । यस अघि उनीहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न भेटेका थिए ।
please subscribe our official youtube channel and support us.



