अपडेट 
२०७९ असार ४, शनिबार ०८:४३

सप्तरीको मिटरब्याजी रामदेव साह तेली र उनका परिवार विरुद्ध पीडितहरुद्वारा गठित सघर्ष समितिले शुक्रवार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी पठाएको छ ।

संघर्ष समितिका संयोजक छेदीलाल पासवानले साह र उनका परिवारजनको सम्पत्ति छानविनको मागसहित हुलाक मार्फत उजुरी पठाएका छन् । खडक नगरपालिका–७ का रामदेव साह र उनका परिवार विरुद्ध यस अघि पीडितहरुले दिएको रकम भन्दा चौब्बरको किर्ते कागजात बनाई जग्गा हडपेको भन्दै प्रहरीमा जाहेरी समेत दिएका थिए । रामदेव हालसम्म पक्राउ पर्न नसके पनि उनका छोरा नन्दकिशोर र छोरी अनुराधा पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका उनीहरुलाई अदालतबाट म्याद थप गराई ठगी तथा अपराधिक विश्वासघात मुद्दा अन्तर्गत अनुसन्धान भईरहेको डिएसपी माधव प्रसाद काफ्लेले बताए । साहविरुद्ध हालसम्म ९ जना पीडितले उजुरी दिएको र अन्य पीडितहरु सम्पर्कमा आउने क्रम जारी रहेको डिएसपी काफ्लेले जानकारी दिदै मिटर ब्याजी साहबाट पीडितहरुलाई सम्पर्कमा आउन एक सूचना मार्फत पनि अनुरोध गरिएको उनले बताए । रामदेवका छोरा र छोरी पक्राउ परेपनि रामदेव र उनका परिवारका अन्य सदस्य पक्राउ पर्न सकेका छैनन्, उनीहरुको खोज तलास जारी रहेको जनाइएको छ ।

संघर्ष समितिद्वारा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाइएको उजुरीको बोद्धार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा नेपाल पत्रकार महासंघलाई समेत दिइएको छ । उजुरीमा मिटरब्याजी साह र उनका परिवारजनले विगत ४० वर्ष देखि अवैधरुपमा आर्थिक कारोबार र लेनदेन गर्दे आएको तथा यसबाट धेरै मात्रामा सम्पत्ति आर्जन गरेको उल्लेख गरिएको छ । गाउँघरका विपन्न व्यक्तिलाई रु १ सयको प्रतिदिन ३ देखि ५ रुपैयाको चर्काे ब्याज (खेपी) मा लगानी गर्ने, जग्गा पास तथा सुनचांदी राखेर मात्र ऋण दिने र सोको रकम चुक्ता गरिसके पनि बन्धकी राखेको जग्गा र गरगहना फिर्ता दिन आलटाल गर्ने गरेको र अधिकाँशको बन्धकी राखिएको गरगहना र जग्गा नै हर्पी अकुत सम्पत्ति जोडेको साह परिवारको सम्पत्तिको छानविन गर्न समेत उजुरी पत्र मार्फत माग गरिएको छ । साह परिवारले सप्तरीमा मात्र नभई सुनसरी, सिरहा, महोत्तरी, धनुषा लगायतका जिल्लामा समेत मिटरब्याजको अवैध कारोबार संचालन गरी सयौं विपन्न परिवारको उठीवास गराई अकुत सम्पत्ति आर्जन गरेको उल्लेख गर्दे उजुरी मार्फत निज साह र उनका परिवार माथि सम्पत्ति शुद्धीकरण निवारण एन २०६४ को दफा ३ को उपदफा १ को खण्ड क, ख र ग उपदफा २ र ३ को व्यवस्था विपरीत कसुरमा आवश्यक छानविन र कारवाही गर्न माग गरिएको छ ।

please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News