२०७९ असार ५, आईतवार ०९:२०

बालगंगा खोलाको पुलमा जग्गा विवाद झिकेर निर्माणाधीन पुल अलपत्र पार्ने कम्पनीलाई कारवाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

जग्गा विवाद झिकेर निर्माणाधीन पुल अलपत्र पार्ने सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौंलाई स्थानीयले कारवाहीको माग गरेका हुन् । सिमरा–कोल्हवी सडकखण्ड अन्तरगत जीतपुरसिमरा उपमहानगर १२, १५ रु १८ को सीमानामा पर्ने बालगंगा खोलाको पुल सो कम्पनीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् । आक्रोशित स्थानीयको शनिबार अलपत्र पुलमुनी बसेको भेलाले पुलको निर्माण रोक्ने सखरा हाउजिँग कम्पनीलाई वडा कार्यालयहरुबाट आवश्यक हुने कागजातमा रोक्का गर्न जनप्रतिनिधिहरुसँग माग गरेका थिए । पुल निर्माणको काम रोकिँदा दैनिक हजारौं सर्वसाधारण जनताले दुःख पाएको भन्दै भेलामा सहभागीले संर्घषमा उत्रिने घोषणा गरेका छन् । बर्षायामसँगै वाढी डुवानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयले सहज पार्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजित भेलाको आयोजना गरिएको थियो । वडा नं. १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति बनाएर पुल तत्काल निर्माण सम्पन्न गर्न दवाव श्रृजनागर्ने भेलाले निर्णय गरेको छ । ०७८ चैत्र मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भैरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडा विरुद्ध २०७७ माघ २७ गते सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाण्डुले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो । कम्पनीले साविक डुमरवाना गाविस वडा नं.४ को कित्ता नं. ४३४ को १ विगहा र कित्ता नं.४३५ को ३ कठ्ठा जमिन मध्य १ विगहा १ कठ्ठा जमिनमा पुल बनेको दावी गरेको छ । कम्पनीका तर्फबाट कलैया उपमहानगरपालिका –२४ सखुईका रामेश्वर प्रसाद यादवले मुद्दा दर्ता गराएका हुन् ।

उनले प्रति कठ्ठा ११ लाख क्षति पूर्ति माग दावी गरेका छन् ।सोही मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत बाराले निर्माणमा रोक लगाउँदा पुल अलपत्र परेको हो ,स्थानीय हरिचन्द्र प्रसाद यादवले बताए । विचाराधीन अवस्थामा रहेको मुद्दा चाँडो किनारा लगाई सर्वसाधारणले पाएको सास्ती अन्त्यका लागि आवश्यक पहल गरीदिन जनप्रतिधिहरुलाई आग्रह गरे । पुल निर्माण कार्यलाई चाँडै सम्पन्न गर्नुपर्ने भेलामा सहभागीहरुले बताए । करिब ८५ प्रतिशत काम सम्पन्न भई सकेको अवस्थामा भूमाफियाहरुको चलखेलले गर्दा उपमहानगरबासिले आफ्नै केन्द्रसम्म पुग्न लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने अवस्था रहेको वडा नं. १८ का जगदिप कोईरालाले बताए । कार्यक्रममा वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्ले, १७ का भिम वहादुर गंतान, १६ का हरिदेव खरेल, १५ का रामप्रसाद लामिछाने, १२ का श्यामबाबु चौधरी र १३ नं. वडाका अध्यक्ष हेमनारायण चौधरी लगायत सयौं स्थानीयको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News