अपडेट 
२०७९ असार ६, सोमबार ०७:३३

विगत आठ वर्ष देखि अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ मनाउने काम भईरहेको छ । निःशुल्क अथवा अति नै न्यून खर्चमा शरीर भित्र रहेका अनेकौ रोगहरुको उपचार यसबाट सहजै रुपमा सम्भव भएकोले यस प्रति आकर्षण बढ्दै गएको छ । नियमित रुपमा योग गर्नाले रोगको सम्भावनालाई नै समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडौ मानिस लाभान्वित भएका छन् । वर्तमान अवस्थामा योगिक विज्ञान जति महत्वपूर्ण सावित भईरहेको छ, यसभन्दा अघि यो कहिल्यै यति बढी महत्वपूर्ण थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन् जो विश्वको निर्माण एवं विध्वन्स दुबैगर्न सक्षम छ र गरिरहेको छ पनि । यस्तो अवस्थामा यो निकै महत्वपूर्ण हुन जान्छकि हामीलाई जीवन प्रति जागरुकता एवं यस्तो भाव कायम रहोस् ताकि हामी प्रत्येक प्राणीमा आफै शरीरको अंश रहेको अनुभूति गर्न सकौँ । यदि मानवजाति आफ्नो जीवनमा एकात्मकतालाई तथा जीवनको योगलाई सम्झी रहेका छन् त्यसको अनुभूति गरिरहेका छन् भने विश्वमा अवश्यपनि ठूलो परिवर्तन आउन सक्नेछ । जीवन प्रतिको आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन, व्यापकतामा कमी ल्याएर मात्रै मानव जातिका सवैखालै समस्याहरुको समाधान सम्भव छ । मानव कल्याण एवं आत्मिक विकासको दिशामा यसले ठूलो परिवर्तन ल्याउने निश्चित छ । योगमा तनावरहित मस्तिष्क एवं स्वस्थय शरीरको मूल तत्व केन्द्रित रहेको हुन्छ ।

योग भनेको जोड्नुृ हो । योगले प्रेम, अहिंसा करुणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढ्ने भाव आफूमा केन्द्रित गरेको हुँछ । आन्तरिक एवं आत्मिक विकास तथा मानवकल्याण सँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताको निम्ति ठूलो निधि सावित हुन सक्दछ । योग हाम्रो विरासत हो । नेपाल एवं भारत दुई छुट्टा छुट्टै स्वतन्त्र अस्तित्वको देश अवश्य पनि छन् तर हिन्दू धर्म, संस्कृति, पुराण, वेद, उपनिषद, देवी देवता, तीर्थस्थल महान ऋषिमुनिहरु हाम्रो निम्ति एक समान पूजनीय, आदरणीय एवं प्रातः स्मरणीय छन् ।योगको बारेमा विश्व जगतलाई अवगत गराउने काम विगतमा पनि नभए होईनन तर त्यो साह्रै सिमित थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जब आफ् नो अमेरिकाका यात्रा दौरान तथा संयुक्त राष्ट्र संघमा योगको महत्व बारे विश्व जगतलाई राम्ररी सम्झाउने काम गरे अनि यसले विश्व व्यापी मान्यता हासिल ग¥यो । इश्लामिक देशहरु सहित विश्वका झन्डै २०० देशहरुले अन्तर्राष्ट्रिय योग दिवस मनाउदै आएका छन । साउदी अरब र इरान जस्ता कट्टर इस्लामिक देशहरुमा पनि राजकीय स्तरबाट यसको आयोजन गरिरहेका छन् । हाम्रो महान ऋषिमुनिहरु प्रति पनि हामीले कृतज्ञता ज्ञापन गर्नु उचित हुनेछ । सनातन धर्म एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ । जसमा योग, शाकाहारी जिवनशैली, सत्य, अहिंसाको प्रयोग जस्ता विषय पनि छन् । गणित, विज्ञान एवं खगोलको क्षेत्रमा पनि यसले विश्व जगतलाई धेरै थोक दिएको छ । योग शरीर एवं मनलाई स्वस्थ राख्ने एउटा वैज्ञानिक माध्यम हो ।

भनिन्छ मार्शल आर्टका जनक पनि हिन्दू र बौद्ध सन्तहरुनै थिए । हिन्दू संस्कृति जस्तै यूनान, मिश्र, अरब एवं अनेकौ संस्कृतिहरुले विश्वजगतलाई केही न केही अमूल्य निधि प्रदान गरेको छ । शुन्य र दशमलवको प्रयोगको थालनी पनि यहीबाट भएको हो । योगका सूत्रहरुमा आस्था एवं अन्धविश्वासको निम्ति ठाउँ छैन यो पनि गणित र विज्ञान जस्तै प्रयोगमा आधारित छ । प्रयोगबाटै विश्वास गर्न सकिन्छ । दर्शन एवं विज्ञान संकिर्ण हुनै सक्दैन । योग परम स्वास्थ्यको विज्ञान हो तथा अनंतको दर्शन पनि हो । अस्तित्व असीमित एवं अनंत छन् । हामी सबै एकाई मात्रै हो जबकि अस्तित्व सम्पूर्ण । एकाई हुनु दुःख हो भने अनन्त हुन आनन्द हो । योग एकाईमा आनन्दको अनुभूति हुने गर्दछ । योगको सोझो अर्थ हो जोड्नु । पतन्जली (इशापुर्व १८४–१८५) ले योग सूत्र लेखेका थिए तर योग पतन्जलि भन्दा पनि प्राचीन हो । मनुस्य एवं ब्रम्हाण्डको एकात्मक दर्शनको यो विज्ञान भारत वर्षबाटै शुरु भएको हो । विश्वका अनेकौ देशले यसलाई अपनाउने काम गरे तथा यसलाई योगको ठाउँमा योगा भन्ने गरे । योग विज्ञानले अन्तर्राष्ट्रिय महत्व एवं मान्यता पाउनुबाट यस क्षेत्रले खुशी मनाउनु पर्ने हो । योगको विस्तार एवं प्रभाव सँगै यस क्षेत्रको महत्व पनि बढ्ने छ । मीमांसा, न्याय वैदेशिक सांख्य वेदान्त एवं योग भारत वर्षका ७ प्राचीन दर्शन हुन् । बुद्ध र जैन दर्शनको थालनी पनि यहीबाट भएको हो तर सांख्य एवं योग प्राचीन दर्शन हो । स्वस्थ्य शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो । शायद त्यही भएर वैदिक ऋषिहरु काम गर्दा गर्दै एक सय वर्ष सम्म बाँच्ने अभिलाषा गर्दथे ।

२१ जुनका दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्दछ । सम्भवतः यिनै कारणले होला यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय राष्ट्र संघले गरेको हुन सक्दछ । यस भन्दा अघि सन् २०११ मा भारतको दक्षिणी प्राप्त बेंगलुरुमा विश्वका केही योग गुरुहरुको बैठकमा पनि २१ जुनका दिनलाई योग दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षयस्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको श्रोत प्राप्त हुने विश्वास गरिन्छ । हामी आफ्नो योगको पद्धति एवं त्यसको परिणामलाई सोझो रुपमा ऊर्जासँग जोडेर हेर्ने गर्दछौ । जबकि यथार्थमा योगको अर्थ त जोड्नु हुन्छ । ऊर्जामा बृद्धिको पहिलो सिद्धान्त हो कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्.नु । जसमा जति जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ त्यो त्यति नै क्षमतावान पनि कहलिन्छ । ऊर्जामा बृद्धिको निम्ति मात्रै जोडिनु नै पर्याप्त होईन । त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्दछ । एक आपसमा जोडिनेहरुको दिशा पनि एउटै हुनुपर्दछ । जोड्नु त्यतिबेला मात्रै सम्भव हुन सक्दछ जब दुबैको दिशामा एउटा मात्रै रहेको हुन्छ । जोडिएपछि दिशा भिन्दा भिन्दै भयो भने ऊर्जाको क्षरण मात्रै हुन्छ । योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा बृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम विन्दूसम्म पु¥याउनु हो । यसको निमित योग दिशा तथा जोडनुको सिद्धान्तलाई सँग सँगै लिएर हिड्ने गर्दछ । योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनवटै लाई कुनै एउटा निश्चित विन्दुसम्म एकजुट गर्ने प्रकृया पनि हो ।

ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्ला बेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीनवटैलाई प्राप्त भईरहेको हुन्छ । योगमा मनलाई प्राण (स्वास) सित सामन्जस्य स्थापित गरिन्छ । यसको परिणामस्वरुप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिक रुपमा बढी प्रबल हुन जान्छन् अपितु तिनको शारीरिक स्वास्थ्यमा पनि बृद्धि हुने गर्दछ । जब व्यक्ति यी तीनवटै माथि नियन्त्रण स्थापित गरी यी मध्ये कुनै पनि काममा आफूलाई लगाउने गर्दछ अनि कार्यको गुणस्तर तथा संख्याको दृष्टिमा पनि कैयौ गुणा वृद्धि हुन जान्छ । यो नै सूर्यको ऊर्जा एवं योगको पद्धति सँगको सम्बन्ध पनि हो । आम मान्यता यही रही आएको छ कि महर्षि पतन्जलिले नै आद्युनिक योगको आधार खडा गरेको थिए तर बृहदारण्यक उपनिषदमा पनि स्वांस माथि नियन्त्रण गर्ने विषयमा विस्तार पूर्वक वर्णन गरिएको पाइन्छ । हाम्रा पुर्खाहरुले अशान्त मनलाई शान्त पार्नका निम्ति यस पद्धतिको आविस्कार गरेका थिए । वर्तमान अवस्थामा विश्वका चिकित्साशास्त्रीहरु वर्तमानको जीवनशैलीलाई प्रत्येक रोगको कारण मानेका छन् तर यसको सरल समाधान भनेको योग नै हो । योगले विश्व व्यापी मान्यता प्राप्त गरेको छ तर यसको निम्ति भारतका प्रधानमन्त्री नरेन्द्रमोदीको योगदानलाई विर्सन सकिदैन । योग हाम्रो धरोहर हो र यसमाथि हामीले गर्व गर्न सक्नुपर्दछ । बेरोजगार युवाहरुको निम्ति यो एउटा नयाँ अवसर पनि सावित हुन सक्दछ ।

कठिन परिश्रम गरेर विदेशमा केही सिमित पैसा कमाउनुभन्दा मान सम्मानसहित काम पाउने गरी काम गर्नुमा के को लाज र संकोच? योगलाई अन्य धर्मावलम्विहरुले आत्मसात गरी यसबाट लाभ उठाउन सक्दछन् । भाषा, बोली, पहिरन, पानी, जमिन तथा जीवनको कुनै धर्म हुँदैन । ११ डिसेम्बर २०१४ मा संयुक्त राष्ट्र संघको महासभाले आफ्नो प्रस्तावमा भनेको छ” योग मानव स्वास्थ्य एवं स्वस्थ जीवनशैलीको बारेमा समग्र दृष्टिकोण व्यक्त गर्दछ । यसबाट हुने लाभको प्रसार विश्वको जनसंख्याको निम्ति कल्याणकारी सावित हुनेछ ।” संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले पनि योग विचार तथा कर्मको उढभूत सामन्जस्य भएको तथा स्वास्थ्यको लागि आवश्यक भएको बताएका छन् । मुनले भनेका छन् योगबाट शान्ति एवं विकासमा योगदान मिल्दछ । यसले मानिसलाई तनावमुक्त गर्दछ । उनले सबै सदस्य देशसँग योगको प्रोत्साहनका लागि सहयोग गर्न अनुरोध पनि गरेका छन् । विश्वका अनेकौ देशहरु तथा विश्वविद्यालयहरुमा अनुसन्धान मार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग शारीरिक स्वास्थ, मानसिक तनावबाट बचाउ गर्नुका साथै मानिसक शान्ति प्रदान गर्नमा पनि सक्षम छ । विश्वप्रसिद्ध उमेरिकी वोस्टन विश्व विद्यालयको स्कूल अफ मेडिसिन द्वारा मई २०१२ मा प्रकाशित मेडिकल हाईपोथिसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटना पश्चात सामान्य हुने तनाव मुक्ति को निम्ति योग निकै प्रभावशाली सावित हुन सक्दछ । किनभने योग सेंटूल नर्भस सिस्टमको आधार मानिएको तन्तिका भेगर्स नर्वलाई प्रचुर मात्रा ऊर्जा प्रदान गर्दछ ।

त्यसै गरी हार्वड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थ्य जन रोगको समाधानमा सर्वाधिक सक्षम मानेको छ । योगले एक किसिमको पश्चिमेली मानसिकताबाट प्रभावित तथा कथित आद्युनिक सोचको तीन आयामहरुलाई बदलिदिन्छ जस्तो कि पश्चिमेलीहरुको विचारमा शारीरिक समस्याका समाधान बाहिरबाट हुन्छ भने मान्यता राख्दछ जबकि योगले के सिखाउँछ भने यसको समाधान मुख्यतः शरीरको भित्रबाट हुन्छ । हामी संघर्ष गरेर मात्रै सुख शान्ति हासिल गर्न सक्दछौ तर योगको अनुसार प्रकृतिसँग तादात्मय स्थापित गरेर पनि हामी सुख एवं शान्ति प्राप्त गर्न सक्दछौ । मानसिक व्यवस्था कायम गरी रोग स्वस्थ्य रहनका निम्ति रोगको उपचार गर्नु पर्ने मान्यता विपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोगलाई लाग्न दिनबाट नै धेरै हदसम्म रोक्न सकिन्छ । एक किसिमले योग एउटा यस्तो माध्यम हो जसले विना धन खर्च गरिकन व्यक्तिलाई स्वास्थ्य प्रदान गर्न सक्दछ । यो समाजका निर्धन वर्गको निम्ति वरदान सावित हुन सक्दछ । योग गरेर हामी पनि निरोगी बनौ ।

Comment


Related News

Latest News

Trending News