जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच शपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले नवनिर्वाचित प्रमुख कौशल किशोर सिंहलाई शपथ गराएका छन् भने प्रमुख सिंहले उपप्रमुख जितेन्द्र कुशवाहासहित अन्य सम्पूर्ण पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । शपथ लिए लगत्तै उनीहरुले आइबार नै पदभारसमेत ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै जिसस प्रमुख सिंहले जिल्लाको समग्र विकास निर्माणका साथै सुशासन कायम गराउन आफू प्रतिवद्ध रहने बताए । सबैपक्षको सल्लाह सुझाव तथा सहयोगको अपेक्षा गर्दै उनले आफूसहित समितिले इमानदारीका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । पदभार ग्रहण गरेपछि आइतबार बसेको पहिलो बैठकबाट जिल्लाका २० वटै स्थानीय तहमा एकएक वटा वारुणयन्त्रको ब्यवस्था गर्ने निर्णय गरेको छ ।


