जनकपुरधाम । उच्च अदालत जनकपुरले एसीड पीडित आरती साहको मुद्दामा प्रत्यार्थी झिकाउन आदेश दिइएको छ ।
अदालतले एसीड प्रहार गरी अङ्गभङ्ग र कुरुप वनाएको मुद्दाका आरोपित नागेन्द्र साहलाई बुधबार झिकाउन आदेश दिएको हो । आरोपित साह एसीड व्यवसायी छन् । आरतीका श्रीमान सञ्जिवले श्रीमती आरती र छोरी रियामाथि ०७७ कार्तिक २७ मा एसीड छ्यापेका थिए । सञ्जिवले एसीड व्यवसायी नागेन्द्र साहकै पसलबाट किनेको प्रहरी समक्ष बयान दिएका थिए । जिल्ला अदालत धनुषाले भदौ १० गते मुद्दामा अन्तिम सुनुवाई गर्दै फैसला सुनाएका थिए । अदालतले मुख्य प्रतिवादी सञ्जिवलाई दश वर्ष कैद र ६ लाख ५० हजार जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो । एसीड व्यवसायी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो । सोही घटनामा आरतीका भाई सञ्जय कुमार साहले फैसलाबाट चित्त नबुझेको भन्दै ०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराए ।
एसीड व्यवसायी नागेन्द्र साहलाई बुधबार झिकाउन आदेश दिइएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार आरोपित झिकाई पेशीको अन्य प्रकृया अगाडि बढ्ने छन् । वादी प्रतिवादीलाई म्याद बारे पत्र पठाइएको छ । म्याद बारे पत्र प्राप्त गरेपछि दुबै पक्ष अदालतमा हाजिर भएपछि बहस सुरु हुनेछ । त्यसपछि सुनुवाई प्रक्रिया अगाडि बढ्ने बताइएको छ । यी मुद्दामा दुबै पक्षबाट उच्च अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसीड प्रहार गर्ने सञ्जिव र एसीड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानून बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दावी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । अहिले पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दावी गरिरहेका छन् ।

