कोरोना महामारीविरुद्धको खोप अन्तर्गत बिहीबारदेखि बालबालिकालाई खोप लगाइने भएको छ ।
प्रदेशका चार जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर बायोएनटेक नामक खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लामा दिन शुरु भएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या रहेको छ । पहिलो चरणमा प्रदेशका ५ जिल्लाका करिव ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई खोप दिइने जनाइएको छ । धनुषामा एक लाख १३ हजार आठ सय ९५ सो उमेर समूहको बालबालिका छन् । यी उमेरका बालबालिकाहरुलाई विद्यालय र मदरसामा पुगेर खोप दिइने सरकारको तयारी छ । विद्यालयमा नपुगेका वा छुटेका बालबालिकालाई एक दिन सबै पालिकाको स्वास्थ्य केन्द्रबाट पनि खोप दिइने छ । सरकारले यसयघि दिएको सबै खोप उद्योगबाट नै मिश्रण गरेर आउने गरेको थियो ।
तर यसपटक खोप दिने स्वास्थ्यकर्मीले नै खोप मिश्रण गर्नुपर्ने जनाइएको छ । खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउने जनाइएको छ । दोश्रो चरणमा साउन २ गतेदेखि ८ गतेसम्म दिइने बताइएको छ । सरकारले कोरोना महामारीविरुद्धको खोप लगाउन ०७७ माघ १४ गतेबाट शुरु गरेको थियो । अहिले सम्म प्रदेशमा ७६ प्रतिशतले खोप लिइसकेका छन् ।

