नेपाल र भारतबीचको रामायणकालीन सम्बन्धलाई पूनःस्थापित गर्न रामायण यात्राका तीर्थयात्रीहरु विहीबार दिउँसो जनकपुरधाम आएदेखि दर्शनपूजामा सक्रिय भए ।भारतको राजधानी नयाँदिल्लीबाट छुटेको धार्मिक पर्यटक बोकेको रेल तेस्रो दिन जनकपुरधाम आईपुगेका हुन् । राम अयोध्यामा अवस्थित जन्मभूमि मन्दिरको दर्शन गर्दै जानकी जन्मभूमि जनकपुरधाम आईपुगेका पर्यटकहरुलाई भव्य स्वागत गरिएको थियो ।गत वर्ष चैत महिनामा भारतको जयनगर–जनकपुरधाम–कुर्था रेल सेवा सुरु भएपछि सोही मार्गबाट भारतीय तीर्थयात्रु बोकेको रेल जनकपुरधामसम्म आएको हो ।
भारतबाट प्रारम्भ भएको रामायण यात्रा रेलले त्रेता युगकालीन रामसीताको जीवनसित जोडिएको तीर्थस्थलहरुको भ्रमण गर्ने छन् ।सीताको जन्मस्थल पावन भूमि जनकपुरधाममा एकरात्रि विश्रामको व्यवस्था मिलाइएको छ । तीर्थयात्रीहरु धाममा रात्रि विश्राम गर्नुपर्ने मान्यता छ । उनीहरुलाई स्थानीय रेलवे स्टेशनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गरे । रेल यात्राले जनकपुरधामको धार्मिक, सांस्कृतिक पर्यटनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने उनले बताए । ‘सीता माताको जन्मस्थानमा आएका भारतीय तीर्थयात्रीहरु औधी उत्साहित छन्’ उनले भने, यो यात्रा निरन्तर चलिरहनु पर्छ । नयाँदिल्लीबाट भारत सरकारका रेल र पर्यटन मन्त्रीले शुभारम्भ गरेको भारत गौरव पर्यटक रेलका तीर्थ यात्रीहरुले राम जन्मभूमि अयोध्या र विश्वामित्र ऋषि वास बसेको बक्सरमा दर्शनपूजा गरेका थिए । जानकी जन्मभूमिमा अलौकिक अनुभूति भएको भारत राजस्थानका तीर्थयात्री दिनदयाल गुप्ताले बताए । जानकी मन्दिरको दर्शनपूजा र राति महागंगा आरतीमा यात्रुहरु सहभागी भए ।रेलबाट झण्डै ५ सय तीर्थयात्रीहरु जनकपुरधाम आईपुगेका छन् ।उनीहरु रात्रि विश्रामपछि शुक्रवार बिहान धनुषाधाम लगायतका तीर्थस्थलहरुको दर्शन गरी बसबाट भारतको सीतामढी प्रस्थान गर्ने छन् ।
आदर्श नारी सीताको जन्मस्थलको दर्शनले रामायण यात्रा पूर्ण हुने भारतीय पर्यटक पाइलटले बताए । जनकपुरधामलाई रामायण सर्किटमा जोडिएकाले यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भएको मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले जनाए । ८ हजार किलोमिटर लामो तीर्थयात्रा गर्न १८ दिन समय लाग्ने अधिकारीहरुले जनाएका छन् । भोजन, आवास लगायतका सुविधाहरु समावेश रहेको सो रेलबाट तीर्थाटन गर्न एकजनालाई झण्डै एक लाख नेपाली रुपैया भाडा निर्धारण गरिएकोछ ।

