
नेकपा एकीकृत समाजवादीमा मन्त्री फेर्ने विषयले गंभीर संकट उत्पन्न भएको छ । मन्त्री हटाउने निर्णय कार्यान्वयनमा ढिलाई भएपछि पार्टीमा संकट उत्पन्न भएको छ ।
संघीय सरकारमा मन्त्री रहेकाहरुले हट्न नचाहेको र सरकारमा पठाउने सूचीमा परेका सांसदहरुले हतार गरेकाले समस्या गहिरिएको छ । स्रोतहरुका अनुसार सरकारमा रहेका मन्त्रीहरुले १० जना सांसद सहित अध्यक्ष माधवकुमार नेपाललाई धम्की दिएका छन् । ‘शनिवार सम्ममा मन्त्री परिवर्तन सम्बन्धी निर्णय कार्यान्वयन भइसक्ने छ’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, यस विषयमा थप निर्णय केन्द्रीय कमिटीले गर्ने छ । शुक्रवार बसेको पोलिटब्यूरोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई पार्टीको निर्णयलाई पालना गर्न निर्देशन दिए । तर मन्त्रीहरुले कुनै हालतमा राजिनामा नगर्ने अडानमा छन् । उनीहरुले पार्टीमा विद्रोह गरी अलग्गिने धम्की दिएका छन् । तर मन्त्रीलाई शनिवार सम्म राजिनामा दिनैपर्ने दवाव नेपाल पक्षले बनाइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्णयको कार्यान्वयनमा चासो नलिएको आरोप लगाउदै आएका एसका नेताहरुले गठबन्धनबाट आगामी चुनावमा अलग्गिने संकेत समेत गरेका छन् । शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा गठबन्धनका लागि खुला भए पनि देशभर उम्मेदवार उठाउने गरी तयारीका लागि परिचालन हुन अध्यक्ष नेपालले निर्देशन दिएको प्रवक्ता खतिवडाले जनाए ।

अध्यक्ष नेपालको प्रतिवेदन माथि बोल्ने अधिकांश सदस्यले मन्त्री हेरफेरको विषय कार्यान्वयन नभएको विषयमा कुरा उठाएपछि अध्यक्ष नेपालले जवाफ दिएको उल्लेख गर्दै प्रवक्ता खतिवडाले भने, नेपालले यस सम्बन्धमा मुख्यगरी तीनवटा कुरा बताएका थिए । शनिवार भित्रमा पार्टी निर्णय कार्यान्वयन हुने, मन्त्रीहरु पनि पार्टी निर्णय कार्यान्वयनमा लाग्नु पर्ने र मन्त्रीहरुले बुझाएको ८ बुँदे ध्यानाकर्षणमा उठाएका विषय सम्बोधन गर्न यस अघि गरिसकेको निर्णय अहिले परिवर्तन गर्न नसकिने उनले स्पष्ट रुपमा रोखेको खतिवडाले जनाए । ‘मन्त्रीहरुका सन्दर्भमा उठेका प्रश्नहरुमा अध्यक्षले उत्तर दिँदै बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने,’ अध्यक्ष नेपालको भनाइबारे खतिवडाले भने, ‘शनिवार भित्रमा कार्यान्वयन भइसक्ने जस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय शनिवार बस्ने केन्द्रीय कमिटीको बैठकले प्रश्नहरुको उत्तर दिँदा यसको ठोस कुरा आउने उनले बताए । ‘चुनावको तयारीका विषयमा अध्यक्ष नेपालले गठबन्धनलाई प्राथमिकता दिए पनि गठबन्धन मात्रै भनेर बस्दैनौँ, अध्यक्षको भनाई उल्लेख गर्दै खतिवडाले भने, गठबन्धनले हामीलाई मुख्य एजेन्डा बनाउँछ कि बनाउँदैन भन्ने विषयमा पनि ध्यान दिन्छ ।
आगामी संघ तथा प्रदेशको निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवार उठाउने गरी तयारी गर्न नेता कार्यकर्तालाई अध्यक्ष नेपालले निर्देशन दिए । ‘सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने गरी तयारी साथ लाग्दछ र लाग्नुपर्दछ’ अध्यक्ष नेपालको कथन उल्लेख गर्दै खतिवडाले भने, त्यसै अनुसार कार्यकर्ताहरु पनि लाग्नुहोस भनेर आह्वान गर्नु भएको छ ।’ उनले स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीले विगतमा गरेको व्यवहारलाई‘ करेक्सन’ गरेपछि मात्रै गठबन्धन सशक्त हुने बताएका थिए । ‘माओवादी र कांग्रेस करेक्सन भयो भने मात्रै बढी स्थान जित्न सकिन्छ । त्यसैले पहिले कांग्रेस र माओवादी सच्चिनु पर्छ,’ खतिवडाले भने । स्थानीय तह चुनावमा कांग्रेस र माओवादीले गठबन्धनभित्र उपगठबन्धन बनाएको अध्यक्ष नेपालले बताउँदै आएका छन् । सो दलले यसअघि नै कांग्रेस र माओवादीले गठबन्धनभित्र धोका दिएको आरोप लगाउँदै आएको छ । देशको भूराजनीतिक परिस्थितिको बारेमा चर्चा गर्दै अध्यक्ष नेपाले अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदानका रूपमा विकास हुन लागेको धारणा राखेका थिए ।
पछिल्लो समय नेता नेपालले गठन गरेको पार्टी नेकपा एस उनको काबुभन्दा बाहिर जान थालेको छ । पार्टीका मन्त्री हेरफेरको निर्णयले पार्टीमा मात्रै नभएर सत्ता गठबन्धनमै हलचल उत्पन्न भएपछि नेता नेपाल पार्टीभित्र थप कमजोर बन्न पुगेको बताइन्छ । नेता नेपालले आफ्नो पार्टी कमिटीमा गरेको निर्णय न पार्टीका नेताहरुले मानिरहेका छन्, न सत्ता गठबन्धनले नै स्वीकार गर्न बाध्य भएको छ । यसरी पार्टीभित्र र सत्ता गठबन्धनबाट अपेक्षाकृत सहयोग नपाएपछि नेता नेपाल संकटको भुमरीमा फस्न बाध्य भएको उनकै दलका नेताहरुले बताउन थालेका छन् ।