२०७९ असार १२, आईतवार ०७:२८

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र कौशल कुमार सिंह नेतृत्वको लोक दलबीच एकीकरण हुँदै छ ।

आइतबार (आज) दुई दलबीचको एकीकरण घोषणा पार्टी कार्यालय बबर महलबाट हुने छन् । पिछडावर्ग महासंघका अध्यक्षसमेत रहेका कौशल कुमार सिंह यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । तर त्यो एकीकरण लामो समयसम्म टिक्न सकेन । उनी फोरमबाट अलग भएर छुट्टै पार्टी सञ्चालन गर्दै आइरहेका थिए । अव संघ र प्रदेशको चुनावको मिति घोषणाको पूर्वसन्ध्यामा यी दुई पार्टीको बीचमा एकीकरण हुन लागेको हो । लोकदलका क्षमतावान् उम्मेदवारलाई अगामी चुनावमा टिकट दिने सहमति भएपछि एकता हुन लागेको लोक दलका अध्यक्ष कौशल कुमार सिंहले बताए । ‘मधेशका लागि मिलेर केही गर्ने दुई दलको बीचमा सहमति भएको छ । त्यसका लागि एकसाथ जानका लागि एकीकरण गर्न लागेका हौँ,’उनले भने,‘दुबै पार्टीका क्षमतावान र युवालाई प्राथमिकतामा राखेर आगामी चुनावमा सहभागी हुन्छौं ।’ केन्द्रीय कार्यकारिणी समिति तथा केन्द्रीय समितिमा आफ्नो पार्टीबाट नेता तथा कार्यकर्ता समावेश गर्ने सहमति भएको उनको भनाइ छ । यद्यपि कति सिट संख्यामा सहमति गरी एकता अगाडि बढाएको बारे तय नभएको उनले बताए । तर, लोकदलका अध्यक्ष सिंहलाई लोसपामा केन्द्रीय कार्यकारिणी सदस्य बनाउने प्रलोभन दिइएको बुझिएको छ । लोक दलको केन्द्रीय समिति २१ सदस्यीय रहेको छ ।

दलित, जनजाति तथा महिलाको भातृ संगठन रहेको छ । ती सबै लोसपामा समावेश हुनेछन् । लोक दलले लोसपाकै विधान, झण्डा तथा चुनाव चिन्ह स्वीकार गरेको बताइएको छ । स्थानीय चुनावमा साख जोगाउन नसकेका लोसपा पार्टीलाई बलियो बनाउन साना दलहरुसँग एकीकरणका लागि प्रस्ताव गरिरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजनका स्वरहरु मुखरित हुन थालेपछि असंतुष्ट पक्षसँग पनि लोसपाका नेताहरु आन्तरिक रुपमा छलफल गरिरहेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भने जिल्लामा पुगेर पार्टीलाई विभाजनबाट बचाउने कसरत गरिरहेका छन् । तर, पार्टीमा यादवकै एकल निर्णयका कारण अशोक राईसहित पूर्व नयाँ शक्तिका नेताहरु फुटाउने हस्ताक्षर संकलन गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News