![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/06/dhan-diwas.jpg)
आज असार १५ । आजको दिनलाई नेपालले राष्ट्रिय धान दिवसको रुपमा मनाउने गर्दछ । आज देशले राष्ट्रिय धान दिवस मनाइरहेको छ । यसको अर्थ यो पनि हो कि आजको दिन धानको रोपाइँ भइरहेको छ । त्यसै पनि असार महिनाको मध्य हो यो । मध्य असारमा रोपाइँ दिवस मनाइनु स्वाभाविक हो । हाम्रो खाना भात प्रधान र हाम्रो खेती धान प्रधान भएकाले धान दिवसको महत्व यसै पनि बढी हुनुपर्छ । धानको महत्व नेपाली जनजीवनमा कति धेरै छ भन्ने कुराको ज्ञान हरेकलाई छ । धानबिना हाम्रो जीवन चल्ने अवस्था छैन । यसै कारण धान दिवसले किसानलाई केही दिएको हुनुपर्छ वा धान दिवसले देशलाई केही दिएको हुनुपर्छ । कम्तीमा आजको दिन धानको विषयमा र धानको रोपाइँको विषयमा चर्चा हुन्छ र अब निरन्तर रोपाइँको अवस्थाको विषयमा चर्चा भइरहन्छ ।
आज नेपाली संस्कृतिमा दही चिउरा खाने दिन पनि हो । दही र चिउरालाई राम्ररी विचार गर्ने हो भने कृषि र यही धानसित पनि सम्बन्ध रहन पुगेको देखिन्छ । चिउरा बन्ने त धानबाटै हो । चिउरामा मिलाउने दही पनि कृषकके लालनपालन गर्ने गाई र भैँसीबाटै आउने हुन्छ । धान र गाई भैँसीको सम्बन्ध फेरि कति निकट छ भन्ने कुरा हरेकले बुझेका छन् । यदि धानको खेती हुँदैन भने गाई भैँसी पालनमा हुने समस्याको बारेमा सर्वसाधारण किसानले कल्पना पनि गर्न सक्ने अवस्था हुँदैन । यसरी धान दिवस र दही चिउरा खाने दिवसबिच सकारात्मक तादात्म्य रहेको छ । नेपालमा सबैभन्दा बढी कुनै एक बालीको खेती हुन्छ भने त्यो हो धान । धान त हाम्रो मुख्य खाद्यान्न हो । खाद्यान्नको उत्पादनमा नेपाल अझै आत्मनिर्भर हुन बाँकी छ । हामीले धानको उत्पादनको क्षेत्रमा धेरै गर्न बाँकी छ । अहिले नै किसानको अवस्था हेर्ने हो भने फरक फरक पाउन सकिन्छ । पहाडतिर वर्षा भइरहेको छ केही दिनदेखि तर तराई मधेसमा भने पानी सन्तोषजनक परेको छैन । पानी नपर्दा किसानले धेरै समस्या भोगेका छन् । कतिपय किसानको धानको बेर्ना ब्याडमा नै सुक्ने अवस्थामा पुगेको छ । यद्यपि दही चिउरा खाने वा धान दिवसको दिन पानी पर्ने निश्चित रहेको धेरैले बताइरहेका छन् । धानको बेर्नामा पुगेको क्षतिले धानको उत्पादनमा के कति क्षति पुग्ला भन्ने प्रश्नको उत्तर आगामी केही महिनामा आउला तर धानको उत्पादनको लागि समयमा पानी हुनु अत्यन्त आवश्यक छ र यही पानीको अभावले गर्दा धान किसानको खेती आकाशको भरमा हुने गरेको छ । केही दिनदेखि आकाशमा बादल मडारिरहेका छन् । बादल मडारिरहँदा किसानको मनमा त आशाको किरण देखिनु स्वाभाविक हो ।
बादलले केवल छाया दिने काम गरेको छ केही दिनदेखि । छायाले गर्मी बढ्न दिएको छैन । यसले किसानको मनमा पनि केही आशारुपी शीतलता प्रदान गरेको छ कि वर्षा होला । उसै पनि आधा असार बित्दा किसानहरुको विश्वासमा वर्षाले निरन्तरता पाउने हो । अब फेरि खडेरी पर्दैन भन्ने विश्वास किसानमा रहेको छ । अब पानी पर्नुको अर्थ हो पानी परिरहनु । पानी परिरहनुको अर्थ हो कि दुई चार दिन बिराएर पानी पर्नु । अथवा अब पानी पर्दा खेतमा रोपाइँ सुरु गर्ने बेला हुन्छ तर रोपाइँ गर्न लायक समय आइसकेको छैन । लगभग दुई हप्ता परेन । त्यसभन्दा पहिले पनि करिब एक महिना पानी परेको थिएन । जेठको सुरुमा राम्ररी पानी परेपछि किसानहरुले खेतमा धानको बिउ छरेका थिए । त्यसपछि पानी पर्न नै रोकिएको थियो । करिब एक महिनामा पानी परेपछि किसान खुसी त भए तर धानमा धेरै क्षति पुगिसकेको थियो । यसै गरी फेरि करिब दुई हप्तादेखि पानी पर्न रोकिँदा बिउमा फेरि पनि क्षति पुगेको छ तर यसरी धेरै समय पानी पर्न रोकिँदा किसानहरुलाई भने अब धेरै समय रोकिँदैन भन्ने लागिरहेको छ । उसै पनि सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमबाट किसानहरुले यो कुरो थाहा पाइसकेका छन् कि यस वर्ष औसतभन्दा धेरै पानी पर्छ । औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको तर असारको मध्यसम्म जति पानी पर्नुपर्ने हो त्यत्ति पानी नपर्दा कतै खेतीको समयमा एकै चोटि धेरै पानी परेर फेरि बालीलाई नै क्षति पु¥याउने हो कि भन्ने डर पनि किसानको मनमा रहेको छ । नेपालमा धान उत्पादनको मुख्य केन्द्र तराई मधेस नै रहेको छ । तराई मधेसमा अब मधेस प्रदेशतिर पनि धेरैको नजर रहेको छ । मधेसको मुख्य कृषि नै धान हो ।
मध्य असार आइपुग्दासम्म मधेसमा धानको रोपाइँ खासै भएको छैन । आकाशे भरमा खेती गर्ने किसानले अझै धानको बेर्नातिर ध्यान दिइरहेका छन् कि एक दुई पटक पानी पर्ने हो भने अब धानको बेर्ना राम्रो होला र रोपाइँ गर्न सजिलो होला । यद्यपि बोरिङको सुविधा हुने केही किसानले भने धानको रोपाईँ गरिरहेका छन् । मुख्य गरी मधेस प्रदेशको उत्तरी क्षेत्रका किसानले धानको रोपाईँ आकाशे भरको पानीको विकल्पको सुविधा हुने क्षेत्रमा धानको रोपाईँ गरिरहेका छन् । कतै कतै साना कुलोबाट पनि पानी ल्याएर किसानले खेती गरिरहेका छन् । यद्यपि समग्रमा प्रदेशमा राम्ररी हेर्ने हो भने असारको मध्यमा पनि साधारण किसानले आकाशले पानी देला भन्ने बाटो कुरेका छन् । अझ किसानको खेतलाई राम्ररी हेर्ने हो मसुरो वा गहुँबाली खेतबाट निकालिसकेपछि अहिलेसम्म खेत खाली नै छ । रबि बाली प्रायः चैतमा भित्र् याइन्छ । कतिपय किसानले त फगुवाको समयमा नै वा त्यसको केही दिनपछि नै खेत खाली पार्छन् । यसरी अहिलेसम्म करिब तिन महिना खेत खाली बसिसकेको छ । यो तिन महिनामा कुनै एक बाली निकाल्न सकिन्थ्यो । यदि प्रदेश सरकार, केन्द्र सरकार र सम्भव भएसम्म स्थानीय सरकारले पनि धानको रोपाईँभन्दा पहिले कुनै यस्तो बाली जुन दुई वा अढाई महिनामा उत्पादन भइसक्छ र मुख्य गरी बैसाख जेठमा उत्पादन हुने हुन्छ । यस्तो बालीको उत्पादनको सिफारिश गर्दा खेत खाली नहुने तथा बालीको उत्पादनले देशलाई र किसानलाई पनि फाइदा पुग्ने हुन्छ । अहिले जुन रुपमा यस प्रदेशको जनसंख्या वृद्धि भएको छ र जुन रुपमा अहिले उत्पादन भइरहेको छ, यी दवैमा सन्तुलन मिलाउनु आवश्यक छ ।
सन्तुलन मिलाउनको लागि कम समयमा उब्जने बालीलाई साधारण किसानसम्म पुर्याउनु आवश्यक छ जुन हुन सकेको छैन । कम समयमा उत्पादन हुने बालीको साथै बढी उत्पादन हुने बाली, साथमा खाली हुने समयमा पनि उत्पादन हुन सकिने बाली यदि किसानसम्म पुग्न सक्यो भने कम्तीमा यो अवश्य हुन्छ कि प्रदेशको उत्पादन बढ्छ, प्रदेशको उत्पादन बढ्दा देशको उत्पादनमा वृद्धि हुन्छ र हाम्रो देश आत्मनिर्भर बन्ने दिशातिर उन्मुख हुन सक्छ । आकाशे भरमा गरिने खेतीलाई सम्भव भएसम्म किसानको हातमा पानी हुने व्यवस्था गरिनु आवश्यक छ । यसको लागि पहिले नै धेरैले भनिसकेका छन्, यस स्तम्भमा पनि धेरै पटक आइसकेको छ कि हरेक खेतमा बिजुलीको पहुँच पुग्नु जरुरी छ । बिजुलीको प्रयोग कसरी गर्ने भन्ने कुराको तालिम पनि आवश्यक छ किसानलाई । धान दिवसको उपयोगिता मुख्य रुपमा सबैभन्दा बढी किसानलाई हुन्छ । धान दिवस छ भन्ने कुरो वास्तविक साधारण किसानले कत्तिको थाहा पाउँछन् ? साधारण किसानले त यस विषयमा खासै थाहा नै पाउँदैनन् तर यस किसिमको चेतनाको विस्तार गरिनु आवश्यक छ । अहिलेको अवस्थामा धान दिवस भनेको मधेस प्रदेशका साधारण किसानका लागि धानको रोपाईँको सुरुआत गर्नु हो । पहिलेदेखि धेरै ठाउँमा धानको समापन गर्ने समयमा कटहर र रोटी खाने चलन रहेको छ ।
मधेसमा यस किसिमको चलन विस्तारै हराउँदै गएको छ तर यसको महत्व भने कम भएको छैन । कटहर पनि किसानकै उत्पादन हो । धानखेतीसित जोडिएका हाम्रा मधेसी किसानका अरु पनि केही परम्परागत चलनहरु छन् । तिनीहरुलाई पनि जोगाउनु परेको छ । धानखेतीको संस्कृतिको बारेमा लोकजीवनसित जोडेर विस्तृत अध्ययन गर्नु आवश्यक छ ।