‘ठूलो उद्योगको नोकर बन्नुभन्दा, सानो उद्योगको मालिक बन्नु राम्रो’
यो वाक्य धनुषा बटेश्वर गाउँपालिका ३ का रामकुमार महतो विद्यार्थी कालमै पढेका थिए । यो वाक्यले उनलाई निकै छोयो । त्यही कारण उनको मस्तिष्कवाट नोकरी गर्ने सोच हट्यो । पुख्र्यौली पेशा गर्ने दबाबलाई पनि अस्वीकार गरे । जागिर गर, विदेश जाउ जस्ता वाक्यसँग पनि दिक्क भए । एकदिन रामकुमारले घरमा व्यवसाय गर्ने प्रस्ताव राखे । ‘म आफ्नै व्यवसाय शुरु गर्छु । मलाई २५ हजार रुपैयाँ दिनुस्,’ उनले ती दिन स्मरण गरे । विदेश जान लाखौं दिने परिवारले व्यवसाय गर्न त्यतिबेला हिच्किएको उनी स्मरण गर्छन् । ०६१ सालमा उनले लघु उद्यम सम्बन्धी १५ दिनको तालिम लिए । त्यसबेला जिल्ला लघु उद्यम संघले गाउँमै पुगेर विभिन्न किसिमका तालिम दिएका थिए । अगरवती, मैनवती, सिलाई, चुरा र टपरी बनाउने जस्ता तालिम दिइएको रामकुमार बताउँछन् । रामकुमारले अलि फरक किसिमको तालिम लिन रुचाए । ‘तालिममा सिकाइने सबै व्यवसाय गर्दा त्यसमा प्रयोग हुने समान किन्नुपर्ने जस्तो थियो,’ उनले भने, ‘तर टपरी व्यवसायको कच्चा पदार्थ गाउँमै फालाफाल छ । त्यही भएर टपरी बनाउने तालिम रोजेँ ।
जसको व्यवसाय शुरुवात गर्न मलाई सजिलो भयो ।’ बुबाले व्यवसाय गर्न सहयोग नगरेपछि रामकुमारले काकी सुनितादेवीको नामबाट गाउँकै लघुवित्त संस्थासँग ऋण मागे । त्यो पैसाले भारतबाट मेसिन खरिद गरी रामकुमारले शुरु गरेको व्यवसाय अहिले लाखौँमा पुगिसकेको छ । ‘डेढ दशक पहिले दश हजारबाट व्यवसय शुरु गरेँ । अहिले दुई करोडभन्दा बढीको पूँजी बनाइसकेको छु, पाँच वटा शाखा सञ्चालनमा छ,’ उनले उद्योगको प्रगति सुनाउँदै भने, ‘दश हजार मानिसलाई सीपसहित रोजगारी दिएको छु, मासिक एक लाख भन्दा बढी आम्दानी हुन्छ ।’ सहकारी संस्थाले ऋण नदिएको भए आज यो ठाउँमा पुग्न नसक्ने उनको भनाई छ । रामकुमार र उनकी श्रीमती रेखा महतो अहिले उदाहरणीय पात्र बनेका छन् । मेहनत गरे फल मिल्छ, भनेजस्तै यी दम्पत्ति सफल उद्यमीको रूपमा परिचित छन् । धनुषाको शहीद नगरपालिका ४ स्थित ननुपट्टी जिल्लाकै सबैभन्दा बढी माछा उत्पादन गर्ने ठाउँ हो । यहाँ घरैपिच्छे जस्तो माछापालन गरेर गुजारा चलाउँदै आएका कृषक छन् । माछा किसान नभएको घर, गाउँमा बिरलै भेटिन्छ । त्यही गाउँका ४८ वर्षीय सुनिल मण्डलले माछा खेतीबाट मनग आम्दानी गरिरहेको बताउँछन् । उनले दुई दशकदेखि माछा खेती गर्दै आइरहेको बताए । ‘हाम्रो पुख्र्यौली पेशा हो हजुर, बच्चैदेखि यही गर्छु । पूर्णरुपमा यही काम गरेको २० वर्ष भयो,’ उनले सुनाए, ‘खेती गर्न झन्झट छ । धान खेतीमा लागत बढी र उत्पादन न्यून छ । त्यही भएर माछा खेती गर्छु ।’ उनले पनि रामकुमार जस्तै गाउँकै जय माँ कमलेश्वरी मत्स्य सहकारी संस्थाबाट दश लाख ऋण लिएर २० विघा जमिन भाडामा लिएर माछा खेती गरेको बताए । विगतको भन्दा अहिले उनलाई माछा खेती गर्न सजिलो भएको बताउँछन् । ‘किसानलाई पूँजी अभाव हुन्छ,’ उनले भने, ‘गाउँकै सहकारी संस्थाले ऋण दिएपछि माछा खेती गर्न सजिलो भएको छ ।’ धान खेतीबाट प्रतिबिघा ५० हजार रुपैयाँ मात्रै आम्दानी हुने गरेको र अहिले माछा खेतीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।
धान खेतीका लागि समयमा बीउ, मल, जनशक्ति र उचित सिँचाइ नपाएको भन्दै माछापालनतर्फ लागेको उनले जानकारी दिए । थोरै लगानी, कम मिहिनेत, जनशक्ति तथा छोटो समयमा संतोषजनक आम्दानी हुने भएपछि यसैतर्फ आकर्षित भएको उनी बताउँछन् । यस्तै, बटेश्वर गाउँपालिकाका श्यामलाल महतो भने पशुपालन गरिरहेका छन् । दैनिक गाई र भैँसीले सात लिटरभन्दा बढी दूध दिन्छन् । गाउँकै धनलक्ष्मी उद्यम सहकारीले चिस्यानको व्यवस्था गरदिएपछि गर्मी समयमा पनि समस्या नभएको उनले बताए । संस्थाले अब बजारीकरणको समस्या पनि अन्त्य गर्ने रणनीति लिएको सहकारी संस्थाका प्रवन्धक संतोष महतोले सुनाए । उनका अनुसार आगामी आर्थिक वर्षदेखि प्रत्येक किसानले उत्पादन गरेको दूध संकलन गर्ने संस्थाको तयारी छ । चिस्यान केन्द्र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्वि) ले अनुदान दिएर निर्माण गरेका छन् । यी योजना जनकपुर करिडोर बनाएर मधेशका बारा, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा सञ्चालन रहेको प्रदेश कार्यालयका प्रमुख मोती गिरीले बताए । उनका अनुसार संस्थाले किसानको सीप र क्षमता विकासमा जोड दिँदै ऋणको लागि वित्तीय सहकारी संस्थासँग सहकार्य गराउने काम गर्दै आएका छन् ।
मुख्यतयाः संस्थाले गरिबी न्यूनीकरण, किसानको बजारीकरण र प्रोत्साहन गर्ने काम गर्दै आएको उनले बताए । धनुषाको ९ वटा पालिकामा समृद्वि आयोजना सञ्चालित छन् । यी संस्थाले माछाका व्यपारीको लागि पनि काम गर्ने गरेका छन् । हयचरिङ्ग (माछाको भुरा राख्ने अक्सिजनसहितको ठाँउ) निर्माणमा ७० प्रतिशत अनुदान दिने गरेको उनले बताए ।
please follow us for more news and information.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw

