अपडेट 
२०७९ असार १८, शनिबार ०८:३५

अन्यान्य वर्षजस्तै यस वर्षपनि अषाढ १५ गते मुलुकमा राष्ट्रिय धान दिवस मनाइएको छ । कहिं गमलामा त कहिं खेतसम्मै पुगेर भिआइपी भनाउँदाहरु धान रोप्नु भयो । पूराना सेता कपडामा निल–टिनोपाल दलेका,कडक आईरनमा सजिएका शिर्ष नेताजीहरु,मन्त्री–सन्त्रीजीहरु,प्रदेश र संघका सांसदजीहरु,मेयर–उपमेयरजीहरु अनि देशी– विदेशी पर्यटकहरु खेत–खेतसम्मै पुगेर धान रोपेको दृश्य आकर्षक थियो ।् सञ्चारकर्मीहरुको उल्लासपूर्ण उपस्थिती र छापादेखि यूट्युव चैनल र फेसबूकदेखि ट्वीटरसम्ममा देखिएका समाचार,फोटा र भिडियोहरु कार्यक्रमलाई अझ महत्वपूर्ण बनाई दियो । आफूसंगै खेतमा देखिएका भिभिआईपीहरुलाई देखेर अन्नदाताहरु प्रशन्न थिए । हर्षित थिए । उनिहरु आफ्ना बगैचाबाट आँप तोडे ।

आफ्नै गाई–भैंसीको दूध जमाएर बनाएको दही झिके । वासमती धानको च्युरा निकाले । अनि हर्ष बधाई गर्दै भिभिआईपीहरुलाई च्युरा,दही र आँपको भोग लगाए । मिठो डकार छाड्दै भिभिआईपीहरु भाषण दिए । ताली थापे अनि अ–आफ्ना खोपीतिर प्रस्थान गरे । अन्नदाताहरुलाई थाहा छ–उनिहरुसंग अब अर्को अषाढ १५ गतेमात्र भेंट हुनेछन् । अषाढ १५ गते माथि वर्णित दृश्य संघीय राजधानी काठमाण्डौदेखि मधेस प्रदेशको राजधानी जनकपुर तथा धनुषाका गाउँ गाउँसम्मै देखिएको थियो । तर धनुषामा अलि फरक दृश्यपनि देखियो । एक जना युवालाई नेताजीको यो नाटक मन परेन । उनले सवाल गरि हालेछन् । धान रोपेको नाटक गरेर च्युरा,दही र आँपको भोग लगाउन तम्तयार नेताजीसंग उनले सोधेछन्–नेताजी ! तपाई त किसान परिवारमा जन्मेको भन्नु हुन्छ । आजको युगमा मलविना धान उब्जनी हुन सक्छ ? मल दिन नसक्ने अनि धान रोपेको नाटक गर्न आउँदा तपाईलाई लाज लागेन ? अनि के थियो–नेताजी दही,च्युरा र आँपको भोगै नलगाई फिर्ता आएछन् । नेताजी श्रीलंकाको घटना सम्झिनु भयो अनि डराएर भाग्नु भयो । यो प्रतिनिधि घटनामात्र हो । तर वास्तविकता के पनि छ भने जहाँ जहाँ राष्ट्रिय धान दिवसको अवसरमा भिभिआईपीहरु धान रोपेको नाटक गर्नु भयो त्यहाँका युवकहरुमा कमोवेश यस्तै मनोविज्ञान पलाएको होला । सरकार घोषणा गर्छ– ‘खेत बांझो राख्नेमाथि कार्यवाही हुन्छ ।’ तर सरकार समयमा मल दिन सक्दैन । कृषि उत्पादनको उचित मूल्य दिन सक्दैन । कृषि उपज संरक्षित राख्न चिस्यान केन्द्र बनाउन सक्दैन । बाजारमा बिक्री नभएका घिरौला,झिमनी,भिण्डी तोडेर गाई भैंसीलाई खुवाउन वाध्य किसानहरुको कृषि उपज बाजारसम्म पुर्याउने जिम्मा लिदैन ।

गाउँ घरमा एउटा कथा निकै लोकप्रिय छ –विरालोलाई झ्याल ढोका थुनेर कुट्न थाल्यो भने ऊ घाँटीमाथि नै हमला गर्छ । मल,विउ,पानी तथा कृषि उत्पादनको उचित मूल्य दिननसक्ने सरकार खेत बांझो राख्नेमाथि कार्यवाही गर्छु भनेको विरालोलाई झ्याल ढोका थुनेर कुट्न खोज्नु जस्तै हो । धन्य धनुषाका एक युवक हमला गर्न खोजेका छन् । सामुहिक हमला भएको भए के हुन्थ्यिो ?? यसमा दुई मत हुनै सक्दैन कि नेपाल कृषि प्रधान देश हो । अझैपनि ५०प्रतिशत भन्दा अधिक नागरिकको मूल पेशा कृषि नै हो । र पनि अन्नदाताहरु विभेदमा छन् । उपेक्षित छन् । खेती गरौंकि नगरौं ? भन्ने द्विविधामा छन् । खेती गर्न पूर्व आम्दानी खर्चको हिसाव लगाउन थालेका छन । केही दिन पूर्व पूर्व मन्त्री जयप्रकाश आनन्द गुप्ताले सामाजिक सञ्जालमा सांझा गरेका थिए – ‘ म यस वर्ष धान खेती नगर्ने निर्णय गरे ।’ त्रिभुवन विश्वविद्यालय मैथिली केन्द्रिय शिक्षण विभागका अवकासप्राप्त विभागाध्यक्ष प्रमेश्वर कापडि मसंगको टेलीफोन वार्तामा भनेका थिए – धान खेती गर्नु भनेको घाटाको व्यावसाय हो । यसो भनि रहदा उनले धान खेती गर्दा लाग्ने खर्च र आम्दानीको हिसाव पनि सुनाएका थिए । मधेस प्रदेश सरकार आफ्नो पहिलो वजेट मै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेको थियो । यसका अतिरक्त कृषि उपजलाई संरक्षित गर्न चिस्यान केन्द्र स्थापना गर्ने, मलमा अनुदान दिने अनि कृषि उपकरण खरीदमा पनि अनुदान दिने घोषणा गरेको थियो । घोषणावहादुर सरकारले घोषणा गरेको पाँच वर्षमा रासायनिक मलको कारखाना त खुलेन । अन्नदाताहरुले समयमा मलसमेत पाउन सक्नु भएन । प्रदेशमा केही थान चिस्यान केन्द्र भने स्थापना नभएको होईन । तर यसको भुक्तानीपनि समयमा गर्न सकेन । मुलुक राष्ट्रिय धान दिवस मनाएको अर्कोदिन अषाढ १६ गते आक्रोशित किसानहरुले प्रदेशस्थित भूमि,कृषि तथा सहकारी मन्त्रालयमा ताला नै लगाएका छन् । यद्यपि प्रदेश सरकारले अनुदानमा दिएको ट्रेक्टर आफ्नै पार्टीका नेताहरुलाई दिएको आरोप लाग्दै आएको छ ।

चिस्यान केन्द्र निर्माणको लागी प्रदेश सरकारले प्रदेशका सांसद तथा सरकार समर्थित पार्टीका नेताहरुलाई नै दिएको आरोप पनि छ । अचेल जनता समाजवादी पार्टीका नेता विजय कुमार यादव प्रदेशका भूमि,कृषि तथा सहकारी मन्त्री छन् र जसपाकै नेता शेषनारायण यादवकै नेतृत्वमा मन्त्रालयमा तालाबन्दी गरिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ । मुलुकमा संघीयता आएको सात वर्ष भयो । प्रदेश सरकारहरु मार्फत संघीयताको अभ्यास गरेको पनि पाँच वर्ष हुन लाग्यो तर अझैपनि संघीयता संस्थागत हुन सकेको छैन । संघीर ,प्रदेश र स्थानीय सरकारहरु पार्टीगत सोंच भन्दा माथि उठ्न सकेका छैनन् । नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र,जनतासमाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी देखि जनमत पार्टीसम्मको किसान संघ संगठन छन् तर कुनै पनि किसान संघ संगठनले अन्नताहरुको मल,विउ र कृषि उपज बारे बोलेको,आन्दोलन गरेको सुनिएको छैन । अन्नदाताहरु मल पाउन सकिरहेका छैनन अनि मन्त्री सन्त्रीहरु चिल्लो गाडीमा सयर गरी रहेका छन् । चिस्यान केन्द्र निर्माण गरेवापतको बक्यौता भुक्तानी मांग गर्ने मुख्य मांग राखी मन्त्रालयमा तालाबन्दी गरेका शेषनारायण यादव नेतृत्वका किसानहरुलाई धन्यवाद दिन चाहन्छु , जसले दोश्रो तेश्रो बुंदामै भएपनि किसानहरुलाई समयमा मल उपलब्ध गराउने मांगपनि गरेका छन् ।

Comment


Related News

Latest News

Trending News