अपडेट 
२०७९ असार २०, सोमबार ०८:४८

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ मा रहेको पुरानो ऐतिहासिक शिवालय मन्दिरको जीर्ण अवस्थामा रहेको भवन निर्माणको लागि आएको बजेट भवन निर्माण नगरी रंगरोगन र जस्ताको छाना लगाएर सकाउन लागिएको छ ।

मधेश प्रदेश सरकारको उद्योग पर्यटन तथा बन मन्त्रालय बाट शिवालय मन्दिर निर्माण कार्य गर्नको लागि दिएको २० लाख बजेट उपभोक्ता समितिले भवन निर्माण नै नगरी रकम दुरुपयोग गर्न लागेको हो । डिभिजन बन कार्यालय रौतहटले २०७८ साल चैत्र २९ गतेमा गरेको पत्राचारमा आर्थिक वर्ष२०७८÷०७९ को स्वीकृति कार्यक्रम अनुसार शिवालय मन्दिरकालागि बजेट विनियोजन गरिएको थियो । सब डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा निर्माण कार्य हुने र त्यसको लागि गौर नगरपालिकाले आवश्यक सहयोग गर्ने भनि लेखिएको पत्रको विपरित नगर प्रमुख शम्भु साह कानुले आफ्नो कार्यकर्तालाई उपभोक्ता समिति गठन गरी प्रदेश सरकारको रकम दुरुपयोग गरिएको छ । डिभिजन बन कार्यालयले गरेको पत्रमा शिवालय मन्दिर निर्माण गौर नपा १, बलेश्वरनाथ मन्दिर सौन्दर्यकरण गौर नपा २, अधुरो मस्जिद निर्माण गौर ८,नहर रोड पार्क निर्माण गौर ५ को योजना रहेको छ । गौर नगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु चौधरीको रोहबरमा गठन गरिएको उपभोक्ता समितिको निर्णयमा पनि शिवालय मन्दिर निर्माण गर्ने कार्य उल्लेख गरिएको छ । राजु प्रसाद जयसवाल अध्यक्ष, वीरेन्द्र प्रसाद जयसवाल सचिव, शिला देवी कोषाध्यक्ष, सदस्यमा राज कुमार दास, सकुन्तला देवी, उषा देवी र चुल्हाई दास तत्मा रहेको उपभोक्ता समितिले मन्दिर निर्माण नगरी परिसर भित्र रहेको बर्षौ पुरानो भवन लाई मर्मत, माथि जस्ताको छाना हालेर रंग रोगन गरी रकम अनियमितता गर्ने कार्य गरिरहेको स्थानीयहरुले बताएका छन् ।

मन्दिरको पहिला देखि रहेको पर्खाल माथि थप गरी ग्रील लगाउनुको साथै जग्गा बनाउने काम उपभोक्ता समितिका अध्यक्ष राजु प्रसाद जैसवालले गरिरहेका छन् । डिभिजन वन कार्यालयका योजना अधिकृत मधुकान्त प्रसाद सिंहले स्वीकृति योजना अनुसारको नया भवन निर्माण गर्न उपभोक्ता समितिलाई स्पष्ट निर्देशन दिएको बताएका छन् । भवन निर्माण नगरे सम्म भुक्तानी नहुने समेत सिंहले बताए । उनले भने–‘मन्दिर निर्माणको लागि गएको बजेटले ट्रस्ट निर्माण गर्नु कानून विपरित कार्य भएकोले भुक्तानी हुन नसक्ने दाबी गरे । सब डिभिजन अधिकृत मुकेश श्रीवास्तवले मन्दिर निर्माण नगरी मर्मत को कार्य गरिरहेको जनाए । तत्कालीन प्रदेश सरकारका वन मन्त्री राम नरेश राय गौर भ्रमणमा आउदा शिवालय मन्दिरमा पुजारी बस्ने कोठा जीर्ण भएको र शौचलाय समेतको अभाव भएको जानकारी गराउदा बजेट विनियोजन गरेको गौर नगर पालिकाका पूर्व मेयर अजय कुमार गुप्ताले बताए । गुप्ताका अनुसार जुन कामको लागि रकम आएको हो त्यही काम गर्नु पर्नेमा त्यो नगरी मर्मतको काम गर्नु कानून सम्मत नरहेको टिप्पणी गरे । ५ लाख भन्दा बढीको योजना भएको ठाँउमा लागत सहितको पूर्ण विवरण उल्लेख गरी योजना स्थलमा होर्डिंग बोर्ड राख्नु पर्नेमा त्यो समेत उपभोक्ता समितिले राखेको छैन । पदभार सम्भाले देखि नै गौर नगरपालिकाको मुख्य सडकमा रहेको नाला सरसफाई, विद्यालय निरीक्षण, स्वास्थ्य चौकी अवलोकन गर्न व्यस्त देखिएका मेयर साहले चालु आर्थिक बर्षमा संचालन भईरहेको बिभिन्न योजनाहरुमा आफ्नो नाता गोता र पार्टी कार्यकर्ताहरुलाई बढी प्राथमिकता दिने गरेको स्थानीयहरुको भनाइ रहेको छ । मन्दिर जस्तो धार्मिक स्थलमा कमिशनको लोभमा योजना विपरित कार्य गराउने जिम्मेवार व्यक्ति समेत उपर स्थानीयहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी समेत गरेको बुझिएको छ । गुठी संस्थानको मातहतमा रहेको सो मन्दिरमा दर्शन गर्न रौतहट आएका तत्कालीन राजा ज्ञानेन्द्र बिर विक्रम साहले मन्दिरको मर्मत गर्न लागि नगद दिएको सहयोग बाट कम्पाउण्ड वाल निर्माण गरिएको थियो ।

मन्दिर व्यवस्थापन समितिले कुनै चासो देखाएको छैन । निर्माण कार्य गर्नको लागि गुठी संस्थानबाट समेत स्वीकृति नलिएको बुझिएको छ । वडा भेलाबाट उपभोक्ता समिति गठन गर्नु पर्नेमा ३२ जनाको मात्र उपस्थितिमा उपभोक्ता समिति गठन गरेको देखिएकोले बजेट दुरुपयोग गर्ने नियत रहेको प्रस्ट बुझिन्छ ।

Comment


Related News

Latest News

Trending News