मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले गरेका निर्णयहरुको छानबीन गर्ने प्रदेश सभाले निर्णय गरेको छ ।
प्रदेशसभाको सोमवारको बैठकमा उनीमाथि आर्थिक अनियमितताको आरोप लागेपछि सभामुखले छानबीन गर्न समिति गठन गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक परमेश्वर साह शुन्य समयमा बोल्दै अर्थ मन्त्रीसित अनियमितता बारे जवाफ माग्दै छानबीन समिति गठन गर्न माग गरेका थिए । त्यस क्रममा केही समय बैठक अवरुद्ध भएको थियो । त्यसपछि सभामुख सरोज कुमार यादवले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन् । समितिले रकमान्तर, स्थानीय तहमा दिएको सर्शत अनुदान, जनता आवास कार्यक्रम र भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताला लगायतका विषयमा अनुगमन तथा छानबिन गरी १५ दिनमा सभामुख समक्ष प्रतिवेदन पेस गर्नेछ । समितिका सदस्यमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका छन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको सहमतिबिना सप्तरीको सिंचाइ डिभिजन कार्यालयमा २० करोड बजेट पठाइ अनियमितता गरेको मन्त्री साहमाथि आरोप छ । प्रदेशको ८ जिल्ला मध्ये सप्तरीमा मात्रै थप २० करोड रकम असार ३ गते पठाइएको थियो । यी रकम योजना स्वीकृत नै नगरी प्रकृया विपरीत पठाइएको सभासदहरुको आरोप छ । तर अर्थ मन्त्री साहले सांसदहरुले बैठक अवरुद्ध गरेपछि जवाफ दिने क्रममा प्रकृया अनुसार नै रकम पठाइएको दावी गरे ।

