अपडेट 
२०७९ असार २१, मंगलवार ०६:४६

वर्तमान गणतन्त्र जनताको अपेक्षा अनुकूल आफूलाई साबित गर्न अझै बाँकी छ । दसवर्षे माओवादी जनयुद्ध, ०६२/०६३को संयुक्त जनआन्दोलन तथा मधेश आन्दोलनको सैद्धान्तिक र वैचारिक पृष्ठभूमिमा अठार सयवर्ष पुरानो राजतन्त्रलाई विस्थापित गरेर नेपाली जनताको त्याग, तपस्या र बलिदानको बलमा वर्तमान संघीय गणतन्त्र स्थापित भएको हो । १५वर्ष पुरानो हाम्रो गणतन्त्र राजनैतिक ढाँचाको रुपमा परिवर्तित भएपनि चरित्रगत्रुपमा परिवर्तित हुन बाँकी नै छ । राजनीतिक परिवर्तनसंगै राज्यसत्ता, देश, राष्ट्र, जनता, सामाजिक समुदाय, आदि राष्ट्रिय जीवनका सबै आयाम बारे राजनैतिक र सामाजिक दुबै स्तरमा व्यापक बहस, विमर्श आयोजित हुनुपथ्र्यो, र गणतन्त्रको मर्म र व्यवहार जनताको मन–मस्तिष्कमा बस्नेगरी राजनैतिक र सामाजिकस्तरमा प्रसारित हुनुपथ्र्यो । राजतन्त्र एउटा पश्चगामी तथा पुरातन चिन्तनमा आधारित राज्यव्यवस्था, व्यवहार र चेतना हो । यसले राजाको धर्म, संस्कृति र परम्परालाई नै राष्ट्रको संस्कृतिको रुपमा स्वीकार्न जनतालाई बाध्य पार्छ । यस्को कारण के हो भने राजतन्त्र मातहतको राज्य राजाको तरवारको बलमा विजित हुन्छ । गणतन्त्र जनताले आफ्नै बलमा आफै मालिक हुनेगरी निर्माण गरेको राज्यव्यवस्था हो । राजतन्त्रसंग सार्वभौमिक अधिकार खोस्ने संघर्षमा देशभरीका सबै उत्पीडित वर्गहरु रसामाजिक साँस्कृतिकसमुदायहरु सामेल हुन्छन् । त्यसैले गणतन्त्रमा सबै सँस्कृतिहरु, धर्महरु, समुदायहरु समान हुन्छन् । र त्यसैले गणतन्त्रलाई जनताको व्यवस्था भनिन्छ ।

गणतन्त्र हुनुको गर्वपनि यही हो । हाम्रो गणतन्त्रमा राजनैतिक चेतना तथा व्यवस्थापनमा पुरानो बहुदलिय राजतन्त्रको चेतना र बानी अझै गएको छैन । यसैकारण गणतन्त्र र संघीयताप्रतिको गर्वानुभूति तथा स्वामित्व लिने उत्साहमा जनतामा किञ्चित अलमल अझै देखिन्छ । निश्चितरुपमा वर्तमान सत्ता सञ्चालनमा हावी गैरवैचारिक तथा स्खलित राजनीति, भ्रष्टाचार युक्त कर्मचारीतन्त्र, न्याय प्रणाली र सुरक्षातन्त्रले जनतामा परिवर्तनको प्रत्यानुभूति दिलाउन सक्षम भइरहेको छैन । यसैले जनताका अपेक्षाहरु अझै अधूरा छन् भन्ने यथार्थलाई नकार्न सकिँदैन । वर्तमान गणतन्त्रलाई जनगणतन्त्रमा परिणत गर्न अझै संघर्षको आवश्यकता छ । तर यति हुँदाहुँदैपनि वर्तमान गणतन्त्रमा गर्वगर्न लायक थुप्रै छन् । यस गर्वलाई सबैले अनुभूत गर्न आवश्यक छ । नेपाली गणतन्त्रको विशिष्टता के हो भने जतिबेला गणतन्त्र एकीकृत हुने वा संघीय हुने प्रश्नमा राजनीतिक दलहरु अलमलिएका थिए, मूख्यतः तराई मधेशका जनताले सशक्त आन्दोलनको माध्यमबाट राजनैतिक दलहरुलाई सम्विधानमा संघीयता लेख्न बाध्य गराए ।क्षेत्रिय स्वायत्तताको अर्थमा यस्को ठूलो महत्व छ । हुन त माओवादीहरुको दसवर्षे महान जनयुद्धको एउटा प्रमुख एजेन्डा संघीयतापनि थियो । जनयुद्धकालमा समेत उनिहरुले संघियताको अभ्यास शुरु गरेका थिए । तर अन्तरिम सम्विधान निर्माणको बेला अन्य राजनीतिक दलहरुले श्रृजित परिस्थितिजन्य परिबन्द नै नभएपनि उनिहरुपनि सम्विधानमा मूत्र्तरुपमा संघियता उल्लेख गराउनसकि रहेका थिएनन् । त्यतिबेला तराई मधेशको आन्दोलनले अन्तरिम सम्विधानमा ‘अबदेखी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ’ भनि लेख्न बाध्य गराएको हो । तराई मधेशले यो गर्व बिर्सनु हुँदैन । पुरातन चिन्तन तथा हमेशा नकारात्मक प्रवृत्ति राख्नेहरुको निम्ती यो केही नहुन सक्छ । तर देश संघियतामा जाने बित्तिकै भौगोलिक ,साँस्कृतिकर अर्थ राजनीतिकस्तरमा समुदाय बीचको अन्तर्विरोध र अन्तर्संघर्षको चरित्र क्रमशः फेरिँदै गएको अनुभूत गर्न सकिन्छ ।

विगत केही वर्ष पूर्वको स्थिति विचार गर्ने हो भने साँस्कृतिकरुपमा तराई मधेशको मधेशी नामक ‘राजनैतिक साँस्कृतिक समुदाय’ एकातिर थियो भने पुरानो राज्यले सिर्जेको पहाडिया साँस्कृतिक भ्रममा परेर आदिवासी जनजाति समेतले तराई मधेशका रैथानेप्रति दूरीको व्यवहार नै गर्थे । तर संघियताको अवधारणाले तराई मधेश तथा आदिवासी जनजाति समुदायलाई क्रमशः नजिक्याउँदै लगेको छ । यो पुरानो राज्यसत्ताबाट उत्पीडनमा परेका वर्ग, जाति, क्षेत्र र लिङ्गहरु मध्येको गोलबन्दी हो । पूर्व मेचीका किरात र लिम्बु होउन वा पश्चिमका मगर, थारु र खस, वा भाँवर क्षेत्रका थारु, दोनवार अथवा काठमाँडौ उपत्यकाका नेवारहरु, पुरानो राज्यसत्ताले साँस्कृतिकरुपमा सबै बीच एउटा दूरी श्रृजना गरेको थियो । शासन र राजभक्ति (राज्यभक्ति वा देशभक्ति होइन !)को अर्थमा भने सबै समान थिए । संघीयताले पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिरका उत्पीडित वर्ग र साँस्कृतिक समुदायलाई उत्पीडनबाट मुक्तिको संघर्ष, त्याग, तपस्या र बलिदानको आधारमा एकजूट गरेको हो । संघियताविरोधीहरुले संघियतालाई देश विभाजनको अर्थमा कूप्रचारित गर्छन् । तर यथार्थमा संघियता विविध जनसमुदायबीच समान हैसियतमा साँस्कृतिक र अर्थराजनीतिक एकीकरण हो । यो साँस्कृतिक मात्रपनि होइन, यस्ले पुरानो शाही साँस्कृतिक भ्रममा रहेका मजदूर र किसानहरुलाई अन्य सांँस्कृतिक समुदायभित्र रहेका श्रमिकवर्गसंग एकता गरेर वर्गीयमुक्तिको साझा संघर्षको अवसरको ढोकापनि खोलेको छ । वस्तुतः संघीय गणतन्त्र, नेपाली जनताको सबै उत्पीडित वर्ग, सँस्कृति र सामाजिक समुदायलाई सर्वतोमुखी विकास र समृद्धिको निम्ती विमर्श गर्ने तथा हार्दिकरुपमा नयाँ धरातलमा एकीकृत हुने वृहत्तर परिदृश्य हो । यो नेपाली जनताबीच वास्तविक अर्थमा एकीकृत हुने प्रक्रिया हो ।

यो नै संघिय गणतन्त्रको उदात्तता र गर्व हो, जो कुनै अधिभूतवादी वा पुरातनपन्थीले भने जस्तै अमूत्र्त भावना र परम्परामा होइन, समकालीन आवश्यकता, औचित्यता तथा समानतामा आधारित छ । यो त्यसै आएकोपनि होइन, यसले नेपाली जनताको अथक संघर्ष, त्याग, तपस्या र बलिदानको सातदसकलामो ऐतिहासिक बाटो पार गरेर आएको छ । वर्तमान गणतन्त्रलाई जनताको वास्तविक राज्यमा परिणत गर्नका निम्ति गरिने निरन्तर संघर्षको बहस आफ्ना ठाउँमा छँदै छन् । तर धरातलिय यथार्थमा भईरहेका परिवर्तनलाई नियाल्ने हो भने देशमा संघीयता अन्तरगत् प्रादेशिक अवधारणाले हिमाल, पहाड र तराई मधेशलाई नयाँ किसिमबाट सहअस्तित्वको निम्ति प्रेरित गर्न थालेको सहजै बुझ्न सकिन्छ । हामीले हाल भोगी रहेको सघिय गणतन्त्रको पृष्ठभूमिमा माओवादीको दशवर्षे जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेशीआन्दोलन र आदिवासीजनजातिको आन्दोलनको अनन्त श्रृङखला प्रमुख कारकको रुपमा रहेको छ ।माओवादीजनयुद्धको लक्ष्य वर्गसंघर्षको माध्यमबाट नयाँजनवाद र समाजवादस्थापनाको यात्रा अनेक आरोह– अवरोहबाट गुज्रने लामो यात्रा हो । तर अहिलेको संघीय सम्विधानले गरेको प्रादेशिक व्यवस्थाले विविध साँस्कृतिक समुदायलाई नजिक्याएको छ । खास गरेर मधेश प्रदेश, जो चुरेको पानीढालबाट शुरुभएर दक्षिणमा भारतीय सीमामा गएर समाप्त हुन्छ, त्यहाँ चुरेक्षेत्रमा तामाङ्ग, मगर, भाँवर क्षेत्रमा थारु, दनुवार तथा समतल तराईमा बस्ने बहुसंख्यक मधेशी समुदायबीच नयाँखालको अन्तरसम्बन्ध विकसित हुन थालेको छ । पारम्परिकरुपमा बौद्ध र प्रकृतिपरक परम्परा र रीतिमा बाँचेका आदिवासीजनजातिहरु तथा समतल तराईमा बस्ने हिन्दु धर्मालम्बी तथा इस्लाम धर्मावलम्बी मधेशी समुदाय (मैथिली र भोजपुरी भाषिक समुदाय) विविध दृष्टिले भिन्न देखिएपनि अन्तर्साम्यतापनि देखिन्छ । हुन त आदिवासी र जनजाति समुदाय तराईको मधेशीसमुदायभन्दा भाषा, रीतिरिवाज तथा धार्मिक परम्पराको दृष्टिले भिन्न छन्, तर हजारौँवर्षको एतिहासिक सहअस्तित्वले यी समुदायबीच मिहीनपाराले साम्यतापनि जन्माएको छ ।

यस्लाई यी समुदायहरुको लोकमान्यता, पारम्परिकगीत, लोकगाथा तथा जन्म र मृत्यु संस्कारमा खोज्न सकिन्छ, जस्तैः मगरहरुको मौलिक लोक र पारम्परिक गीत र नृत्य मानिने गोपीचनको गीत तराई मधेशमा लोकगीतिनाट्यको रुपमा सयाँैवर्ष देखि प्रदर्शित हुने गोपीचनको कथासंग ठ्याक्कै मिल्छ । त्यसतै तामाङ्गहरुको लोकनृत्य बालननृत्यमा विष्णु र महादेवका गाथाहरु गाइन्छन् । त्यसतै भावरक्षेत्रमा बसोवास गर्ने थारु र दोनवार हरुको पारम्परिक मनोविज्ञान प्रकृतिधर्मी देखिएपनि उनको परम्परागत पर्वहरुमा उल्लेख्य कृष्णजन्माष्टमी, माघी, बडकीमार कथा (महाभारतकथा) तथा लोकगीतहरुमा मैथिली भाषीहरुका महाकवि र गीतकार विद्यापतिको गीतहरुले यी आदिवासी जनजाति तथा तराई मधेशका रैथानेवासिन्दाहरु बीचको एतिहासिक सहअस्तित्वको कथा भन्दछ । निश्चय नै मगर र तामाङ्ग जस्ता जनजातिहरु महाभारत पर्वतश्रृङखलाबाट चुरेको दक्षिणपट्टी सर्दा मङ्गोल मनोविज्ञान, बौद्ध र प्रकृतिधर्मीता बोकेर आए होलान् । तर यता चुरेको लामो बसोवास तथा दक्षिण जनसमुदायसंगको अन्तरघुलनले र तत्कालीन राज्यव्यवस्थाहरुको प्रभावको कारण उनिहरुभित्र तराईको जनजीवनलेपनि बहुआयामिक प्रभाव पारेकै हो । पहाड होस वा तराई दुबैतिर संकीर्णतावादीहरु तत्वहरु छन्, जस्ले तराई मधेश र पहाडलाई टुक्रे अर्थमा प्रस्तुत गर्न चाहन्छन् । तर साँस्कृतिक मात्र होइन, अर्थ राजनैतिकरुपमा समेत इतिहासमा विकसित र हराउने विविध शासनव्यवस्थाले विविध समुदायबीच मित्रता, शत्रुता, बसाई सराई, अन्तरघुलन र अन्तरविरोधको स्थिति सृजना गरेको हो । सिम्रोनगढमा केन्द बनाएर राज्यसञ्चालन गर्ने कर्णाटवशी तिरहुतेहरुको बनेपासम्म प्रभाव विस्तार, अन्तिम तिरहुते राजा हरिसिंहदेवको मन्त्री चण्डेश्वर ठाकुरले भक्तपुर कब्जा गरेर साँढेदुई वर्ष उपत्यकामा राज्य सञ्चालन, मुस्लिम आक्रमणमा पराजित भएपछि सिमरोनगढबाट पलायन गरेको राजा हरिसिंहदेवको सिन्धुलीको तीनपाटनमा मृत्यु, रानी देवलदेवी उपत्यकामा शरण(त्यतिबेला उपत्यकामा देवलदेवीका दाजू रुद्रमल्ल राजा थिए), दोलखाको राजग्राम (अहिलेको रजगाउँ)को स्थानीय तामाङ्गशासक मझी भारोले उपत्यकामा शरण लिन गैरहेकी रानी देवलदेवीको काफिलामाथी आक्रमण गरेर धनसम्पत्ती लुट्नु र यस्को बदलामा छ वर्षपछि मन्त्री चन्डेश्वरले राजग्राममा आक्रमण र मझीभारोको हत्या, रुद्रमल्लको राजकुमारी नायकदेवीसंग देवलदेवीको छोरा जगतसिंहसंग विवाह, छोरी राजल्लदेवीको जन्मसंगै नायकदेवीको मरेपछि नातिनीको तर्फबाट देवलदेवीले भक्तपुरको नायबी ग्रहण गर्नु तथा त्यसपछि चालिसवर्ष सम्म राज्यसञ्चालन गर्नुले सिम्रोन गढर उपत्यकाबीचको सम्बन्ध बयान गर्छ । यति मात्र कहाँ हो र !

तराईबाट एकजना राजपूत (जयस्थिति मल्ल)लाई बोलाएर नातिनी राजल्ल देवीसंग विवाह गराएर राजनीतिक उत्तराधिकारी तय गरेपछि मात्र नेपालको इतिहास अगाडी बढेको हो । यसरी नै प्रताप मल्लकी प्रिय रानी लालमति महोत्तरी भगवतीपुरकी थिइन् भने उनले सप्तरी र मोरङ्गका स्थानीय शासकहरुको राजकुमारीहरुको डोला भित्र्याएका थिए । यसरी नै जनस्तरमा व्यापारीहरु, मजदूरहरु, धार्मिक सन्त र तान्त्रिकगुरुहरुले पनि बहुआयामिक स्तरमा अन्तरसम्बन्ध स्थापित गराउनमा भूमिका खेलेको हो । नाथसम्प्रदाय अथवा बौद्ध सिद्धसन्तहरु अथवा दशनामी सन्यासीहरु, जो हमेशा भ्रमणशील र शासकवर्ग तथा जनसामान्य दुबैसंग निकट हुन्थे, उनिहरुको माध्यमबाट एउटा संस्कृतिका विशिष्टताहरु एकार्कामा सर्नु स्वाभाविक नै हो । शाहवंशीय केन्द्रीकृत राजतन्त्रकालमा एकैसाथ टुक्रे तथा क्षेत्रीयशासनहरु ध्वस्त त भए नै, विविध साँस्कृतिक पहिचानहरु समेतको निषेधीकरण भयो र आदिवासी–जनजाति, मैथिली, भोजपुरी भाषिक मधेशी समुदायहरु आदि उपेक्षामा परे । केन्द्रीयशासनको भाषा, भेष र संस्कृति क्रमशः सबैमा हावी हुँदैगयो । यो स्वभाविकपनि हो । कुनैपनि राज्यको उत्थान र पतनले कयौँ पुरानो संस्कृति, जाति, भाषा तथा पहिचानलाई प्रभावपार्ने तथा शासकअनुकूलको राजनैतिक–साँस्कृतिकता विकसित हुँदैजानु इतिहासको निर्मम स्वाभाव नै हो । यो अध्याय पटाक्षेप भैसकेको छ । यसबाट पाठ त सिक्नै पर्छ, तर यसप्रति गर्व अथवा घृणा दुबै अर्थहीन छ । अहिलेको गर्व भनेको जनताको सौर्यबाट जन्मेको संघीय गणतन्त्र हो, जस्लाई वास्तविक अर्थमा जनतन्त्र बनाउन प्रयत्नको आवश्यकता छ । आधुनिक पुस्ताले आफ्ना गणतान्त्रिक पुर्खाहरुको दुःख र शहादत सम्झनु पर्छ र यस गणतन्त्रकोविकासमा जुट्नु पर्छ ।

Comment


Related News

Latest News

Trending News