संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया यादवले परम्परागत शिक्षा मुलुकको विकास निर्माण सम्भव नरहेको बताएका छन् ।
सोमवार जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्ले आयोजना गरेको एक कार्यक्रममा राज्य मन्त्री यादवले मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताईन । वर्तमान सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताउदै राज्यमन्त्री यादवले मधेश प्रदेशलाई प्राविधिक शिक्षामा विकास गर्नुपर्ने बताईन । त्यसैगरि, मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकार गठन भएको यतिको वर्ष भईसक्दापनि अहिले पनि शिक्षा क्षेत्र संघीय सरकारले आफ्ै मातहतमा राखेका कारण प्रदेशमा समस्या उत्पन्न भएको आरोप लगाए । मधेश प्रदेश सरकारले आफ्नो हैसितले विभिन्न दुई वटा विश्व विद्यालय स्थापना गरिसकेको बताउदै मन्त्री साहले प्राविधि शिक्षा सम्बन्धी विश्व विद्यालय चाडै नै स्थापना गरिने प्रदेश सरकारको योजना रहेको बताए । संघ र स्थानीय तहको मातहत राखेर शिक्षा क्षेत्रको विकास नहुने दावी गर्दै मन्त्री साहले शिक्षा क्षेत्रलाई प्रदेश मातहत राख्नुपर्नेमा जोड दिए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का मधेश प्रदेश प्रमुख नागेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रम जनकपुरधामका मेयर मनोज साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् का उपाध्यक्ष खगेन्द्र अधिकारी, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, तथा सामुदायिक तथा निजी विद्यालयका शिक्षक शिक्षिका सहितका सहभागिता रहेको थियो ।

