अपडेट 
२०७९ असार २२, बुधबार ०७:४९

रौतहटमा असारे विकास यतिखेर धमाधम भइरहेको छ । वर्षभरि टुलुटुलु हेरेर बस्ने सरकार एवं जनप्रतिनिधिहरु आर्थिक वर्षको अन्त्यमा आएर काम गर्ने परिपाटीको अझै अन्त्य हुन सकेको छैन । आर्थिक वर्षको अन्त्यमा आएर अहिले ठूलो रकम खर्च गर्ने प्रवृत्ति विगतको वर्षझै यस वर्ष पनि कायमै रहेको छ । स्थानीय तहरुमा असार भित्रमा पुँजीगत बजेट सक्न भ्याइनभ्याइ भइरहेको छ । विकास निर्माणका लागि छुट्ट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन जनप्रतिनिधि, कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउने गरेका छन् । खासगरी केन्द्र र प्रदेश सरकारले प्रत्येक वर्ष आर्थिक वर्ष सकिनै लाग्दा असार लागेपछि मात्र विभिन्न स्थानीय तहमा फरकफरक योजना सम्पन्न गर्न बजेट पठाउने गरेको छ ।

सरकारका साथै संघीय र प्रदेश सांसदहरु समेत असार लागेपछि नै आफना संसदीय क्षेत्र विकास कोषको रकम सञ्चालन गर्ने गरेका छन् । जिल्लाको ठाउँ ठाउँमा अहिले विभिन्न सडक ढलान, मठ, मन्दिर, मस्जिद, सामुदायिक भवन, अस्पताल, शौचालय, विद्यालय लगायतको भवन निर्माणका साथै ताल, तलैया, पोखरी सौन्दर्यकरण लगाएतको काम धमाधम भइरहेको छ । असार मसान्तसम्म काम नगरे रकम नै फ्रिज हुने भएकोले बजेट फ्रिज हुनबाट जोगाउन अहिले उपभोक्ता समिति र ठेकेदारहरु धमाधम विकास निर्माणको काम गरिरहेको छ । ५ लाख देखि माथिका योजना असार २५ अघि सक्नु पर्ने निर्देशन दिँदै प्रदेश सरकारले बजेट पठाउँदा हतारमै काम गर्नुपर्ने बाध्यता हुने गरेको छ । धेरै कम समयमा बढी काम गर्नुपर्ने भएको हुनाले ठेकेदार वा उपभोक्ता समितिले हतार हतारमा काम गर्ने गरेका छन । यसरी हतारमा हुने विकास निर्माणको काम दीर्घकालीन नभई केही समयको लागि मात्र टिकाउ हुने गरेको माधवनारायण नगरपालिका १ का रामबाबु यादवले बताए । हतार हतारमा जसोतसो गर्नुपर्ने बाध्याताका कारण असारे विकास निर्माणको काम कुनै पनि हालतमा ठोस हुन नसक्ने यादवले दावी गरे । असारमा गुणस्तरीय काम हुन नसक्ने भएकोले असार अगावै नै काम गर्न दिनुपर्ने उनले सुझाव दिए । माधवनारायण नगर प्रमुख बैजु प्रसाद यादवले आर्थिक वर्षको अन्तमा नगरले बजेट हालेर संयुक्त योजना बनाउन नसकिने भन्दै प्रदेश सरकारले पठाउने बजेट समयमै पठाउनु पर्ने बताए ।

आर्थिक वर्षको अन्त्यमा आउने बजेटले प्रभावकारी काम गराउन नसकिने भन्दै बजेट फ्रिज जाने सम्भावना रहेको नगर प्रमुख यादवको भनाई छ । नगरमा बजेट आउँदा खुसी हुनुपर्ने बेला खर्च गर्न मुस्किल देखिदा चिन्तित तुल्याएको उनले बताए । देशको संरचना बदलिए पनि असारमा नै बजेट सक्न भ्याइनभ्याइ गर्ने प्रवृतिमा कमी नआएको उनले बताए । असारे विकास भन्नासाथ बजेट सक्ने झारा टार्ने काम हो भनेर सहजै बुझन सकिन्छ । असारे विकासले गर्दा आर्थिक अनियमितता समेत बढाएको छ ।

Comment


Related News

Latest News

Trending News