जलेश्वर । महोत्तरीको सोनमा गाँउपालिकाको कार्यालयले आर्थिक बर्ष २०७९/०८० को अनुमानित वजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलवार गाँउपालिकाको सभाहलमा आयोजित एक समारोहकाबीच आर्थिक बर्ष २०७९/०८० को लागि ४३ करोडभन्दा बढि रकम बराबरको वजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले प्रस्तुत गरिएको वजेट ४३ करोड ९८ लाख ४३ हजार बराबरको रहेको छ । अध्यक्ष यादवले प्रस्तुत गरेको वजेटमा आन्तरिक स्रोतमार्फत १ करोड, संघीय सरकारको राजश्व वाँडफाँटमार्फत १० करोड २६ लाख ९ हजार, संघीय सरकारको समानीकरण अनुदानमार्फत १२ करोड ८६ लाख, संघीय सरकारको सशर्त अनुदानमार्फत १५ करोड २८ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रदेश सरकारको वित्तीय समानीकरणमार्फत ८३ लाख ३४ हजार, प्रदेश सरकारको विशेष अनुदानमार्फत ३० लाख, प्रदेश सरकारको सम्पूरक अनुदानमार्फत २० लाख, सडकवोर्डमार्फत २५ लाख र गत आर्थिक वर्षको संचित रकम ३ करोड गरी सो वजेट विनियोजन गरिएको गाँउपालिकाको कार्यालयले जनाएको छ । स्वास्थ्यलाई विशेष प्राथामिकतामा राखी विनियोजन गरिएको वजेटमा शिक्षा, कृषिले पहिलो प्राथामिकता पाएको गाँउपालिकाका अध्यक्ष यादवले बताए ।
नीतिगत वजेट नै अधुरो : वडाअध्यक्ष यादव
अवेला गरी ल्याएको वजेट अधुरो रहेको गाँउपालिका वडा नं. १ का वडाअध्यक्ष अशोककुमार यादवले बताए । वडाअध्यक्ष यादवले भने, ‘यस वजेटप्रति हामीहरुको प्रत्यक्ष रुपमा असन्तुष्टि छ । यसलाई संशोधन नगरेसम्म हामीहरुको असहमति रहनेछ ।’ शिक्षा नीतिमा अध्यक्षलाई विना कारण जोडिनु, किसानलाई उपलब्ध गराउने सेवा सुविधा, वजेटमा आर्थिक पारदर्शी नरहेकोले यसलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको गाँउपालिका वडा नं. १ का अध्यक्ष यादवले बताए ।
प्रशासनिक कार्यमा ढिलाई हुनु हुदैन् : यादव
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजीतकुमार यादवले गाउँपालिकाको प्रशासनिक कार्यमा ढिलाई नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले नागरिक यहाँ कार्यविशेषले आउने गरेका कारण उनीहरुको कामकारवाहीमा कुनै प्रकारको त्रुटि नगर्न कर्मचारीहरुलाई सुझाव दिएका थिए । गाउँपालिकाको काममा यहाँका कर्मचारीहरुको लगनशीलता अन्य पालिका भन्दा उत्कृष्ट रहेको भन्दै जे जति गुनासोहरु छन् त्यसलाई कर्मचारीहरुले मिलेरनै सामाधान गर्ने भएकाले त्यस तिर पनि ध्यान दिन उनले आग्रह गरेका थिए ।

