२०७९ असार २२, बुधबार ०८:११

मधेश प्रदेश सरकारले उपचारमा चिकित्सकले गर्ने गरेको लापरवाही बारे छानबीन गर्ने भएको छ । मंगलबार प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले छानविन गर्न महिला बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएका छन् । चिकित्सकको लापरवाहीले महोत्तरी, जलेश्वर नगरपालिका २ की विभा चौधरीको ज्यान जोखिममा परेको सांसदहरुले मंगलबार प्रदेशसभा बैठकमा अवाज उठाएका थिए । त्यसपछि सभामुख यादवले १५ दिनभित्र सत्यतथ्य छानविन गरी प्रतिवेदन सभामा पेश गर्न समितिलाई निर्देशन दिएका हुन् । प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. राजेश साह र डा.आश्विनी यादवले उपचारमा लापरवाही गरेको आरोप छ । उनीहरुले असार १२ गते विभा चौधरी गर्भवती भएपनि पित्तथैलीको पथरी हटाउन शल्यक्रिया गरेका थिए । गर्भवती रहेकी चौधरीलाई शल्यक्रियापछि थप समस्या हुन थालेपछि काठमाण्डुस्थित उपचारको लागि पठाइएको छ । यद्यपि ती चिकित्सकहरुले शल्यक्रियामासंलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

लाइसेन्स खारेज गर्न माग

प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्मा तिवारीले घटना बारे सरकारको ध्यानाकर्षण गराइन् । गर्भवती विभाको आवश्यक उपचार नै नगरी पित्त थैलीको शल्यक्रिया गर्दा उनी अहिले मेडिसीटि अस्पतालमा भेन्टिलेटरको शैयामा मृत्युसँग जुधिरहेको उनको भनाई छ । ‘प्रादेशिक अस्पतालमा आवश्यक उपचार नै नगरी शल्यक्रिया गर्दा उनको ज्यान थप जोखिममा परेको,’उनले प्रदेशसभामा भनिन्,‘तर उपचारमा संलग्न चिकित्सकहरु भन्छन मैले गरेको छैन् । के त्यहाँका पियन (कार्यालय सहयोगी)ले गरेको छ ?’ छानविन समिति गठन गरी दोषी चिकित्सकलाई पत्ता लगाई लाइसेन्स खारेज गर्न उनले माग गरिन् । सोही विषयमा सत्तारुढ दलका सांसद मनिषकुमार सुमनले पनि समिति गठन गरी छानविन गर्न माग गरे । उनको मागमा नेकपा एमालेका सांसद सत्यनारायण मण्डल, सांसद उपेन्द्र महतो र जानकीशरण साहले सर्मथन जनाए ।

Comment


Related News

Latest News

Trending News