जनता समाजवादी पार्टी जसपा को उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ । बुधबार दिउँसो वीरगन्जमा नेता यादवले बैठक उद्घाटन गरेका हुन् ।
विभाजनको तयारीमा रहेको जसपाका दुई प्रमुख नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला गर्दै आएका छन् । यसअघि बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा आफू पक्षीय सदस्यहरूको विस्तारित बैठक सुरु गरेका थिए ।
बुधबार यादव समूहको बैठकमा भने अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत नेताहरू पनि उपस्थित भएका छन् । बाबुराम भट्टराई पक्षको बैठकमा भने महिन्द्रराय यादवसहितका नेताहरू सहभागी थिए ।
भट्टराईको पक्षमा उनी स्वयं बाहेक जसपा कार्यकारिणीका ४ जना नेताहरु छन् । महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ, रमेश यादव र हिसिला यमी भट्टराईको पक्षमा छन् । अशोक राई, राजेन्द्र श्रेष्ठसहितका बाँकी कार्यकारिणी सदस्य यादवको पक्षमा छन् ।
नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले पार्टी फुटको अवस्थामा पुगेको छ ।

