जग्गाधनी काम विशेषले विदेशमा रहेका बेला उनलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई सप्तरी जिल्ला अदालतबाट कैद सजाय भएको छ ।
राजविराज नगरपालिका ७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा किर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज ५ का सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधबार ६/६ वर्ष कैद सजाय गरिएको छ । किर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष तथा ठगी गरेकोमा तीन वर्ष गरी ६/६ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले जानकारी दिए । अर्का कर्मचारी सुनसरी दुहबी ४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको उनले जानकारी दिए । किर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायबसुब्बा खतिवडा २०७८ पुस २ गते कारागारमा बिरामी परेका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए । खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ७ मा बसोवास गर्दै आएकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई किर्ते गरेकोमा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ । प्रहरीद्वारा २०७५ असार ३२ गते पक्राउ परेकी दास २०७५ साउन १७ गते १५ लाख पाँच हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् । घुरनीदेवी भने २०७५ पुस ३० गते साढे सात लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् ।
यस्तै २०७५ असार १९ गते पक्राउ परी साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज ११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शंकर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा हालसम्म फरार रहेका छन् । उनीहरूले राजविराज नगरपालिका ७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । काम विशेषले अमेरिकामा गएकी अर्याललाई थाहै नदिई उनीहरुको संलग्नतामा अर्यालको जग्गा बिक्री गरिएको थियो । अमेरिकाबाट फर्केपछि उनले आफ्नो जग्गा खोजी गर्दा अर्कैको नाममा पुगिसकेको चाल पाएपछि न्यायका लागि प्रहरीदेखि अदालतसम्म पुगेकी थिइन् । किर्ते गरी आफ्नो नाममा जग्गा ल्याई बिक्री गर्ने फुदन साह र खरिद गर्ने देवरानी दासलाई प्रहरीले पक्राउ गरेसँगै उक्त कार्यमा मालपोतका कर्मचारीहरुको पनि संलग्नता रहेको खुलेको थियो । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलासले उक्त फैसला गरेको श्रेस्तेदार मास्केले जानकारी दिए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

