२०७९ असार ३२, शनिबार ०७:३१

प्रतिनिधि सभाको उपसमामुखका लागि साढे दुई वर्षपछि भएको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम विजयी भएकी छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ४८ मत परेको थियो । उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २ सय ४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको संख्याको बहुमत भएकाले उनी उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गरेका थिए । सत्तारुढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिएका थिए । त्यसअघि, बैठकमा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य पुष्पा भुसाल (गौतम) लाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावको नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गरेकी थिइन् । त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावको एमालेकै सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए । दुबै प्रस्ताव माथिको संयुक्त छलफलमा सांसदहरू खगराज अधिकारी, डा मिनेन्द्रप्रसाद रिजाल, जयपुरी घर्ती, सरलाकुमारी यादव, सुरेन्द्रप्रसाद यादव, चन्दा चौधरी, राजेन्द्र लिङ्गदेन, दुर्गा पौडेल, प्रेम सुवाल, शेरबहादुर तामाङ, चित्रलेखा यादव, रामकुमारी चौधरी र बिन्दा पाण्डेले भाग लिएका थिए ।

छलफलको क्रममा राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनले प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट उपसभामुख पदकी उम्मेदवार भट्टराईलाई आफ्नो पार्टीको समर्थन रहेको बताएका थिए । तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ । निर्वाचनमा कमजोर अवस्था देखेको एमालेले उपसभामुख पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समर्थन गर्ने प्रस्ताव गरेका थिए । तर लोसपाले एमालेको प्रस्तावप्रति चासो लिएन् । लोसपाले पनि कांग्रेसकी उम्मेदवार भुसाललाई नै समर्थन जनाएका थिए । एमालेले लोसपालाई विश्वासमा लिने प्रयास गरेको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला लोसपाले उनलाई पूर्ण समर्थन गरेका थिए । प्रतिनिधि सभा विघटनलाई समेत जायज ठहर गरेका लोसपाका नेताहरु भने हाल एमालेबाट टाढिन थालेका छन् । लोसपाले एकतर्फी रुपमा कांग्रेसलाई समर्थनगर्दै आगामी प्रतिनिधि र प्रदेश सभाको चुनावमा गठबन्धन गर्न चाहेको देखिन्छ । तराईमा एमालेको अवस्था बलियो नरहेकाले लोसपापनि कांग्रेससँगै मिलेर चुनावमा जान पनि उपसभामुखमा समर्थन गरेको देखिन्छ । कांग्रेससित लोसपा नजिकिन थालेसँगै सत्तागठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) का लागि खतराको संकेत हुन सक्छ ।

Comment


Related News

Latest News

Trending News