२०७९ असार ३२, शनिबार ०७:३६

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समितिको बैठकले बाबुराम समूहलाई कारवाही गरेको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनाएका छन् ।

स्थानीय एउटा होटलमा शुक्रबार आयोजित पत्रकार सम्मलेलनमा पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी विभाजन गर्ने षडयन्त्रमा लागेका ९ जनालाई कारवाही गरिएको राष्ट्रिय अध्यक्ष यादवले बताए । पार्टी विभाजन गर्ने भट्टराईको षडयन्त्र असफल भएको पत्रकार सम्मेलनमा बताए । केन्द्रीय समितिको बैठक बोलाउने अधिकार केन्द्रीय अध्यक्षको मात्र भएकोले बाबुरामजीले विधान विपरीत काठमाण्डुमा केन्द्रीय समितिको भेला आयोजना गरेकाले भट्टराई र महेन्द्र यादव लगायत ९ जनालाई कारवाही गरिएको उनले प्रष्ट्याए । जसपा क्षेत्रीय र जातीय पार्टी भएको बाबुराम भट्टराईको अभिव्यक्ति मधेशी र जनजाति विरोधी भएको यादवको कथन थियो । जसपाले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । बुधबार र बिहीबार चलेको केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । स्थानीय निर्वाचनमा गठबन्घन घटककै असहयोगका कारण पार्टीले केही तिता अनुभव गरे पनि गठबन्धन अहिले राजनैतिक आवश्यकता भएको आफूहरुको ठम्याइ रहेको अध्यक्ष यादवले बताए । कारवाही गरिएका बाबुराम समूहको गतिविधि अनुसार आगामी दिनमा पार्टी उनीहरु विरुद्ध अझ कठोर निर्णय लिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । बैठकले पार्टीको संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राइलाई सर्वसम्मत चयन गरेको यादवले बताए । पत्रकार सम्मेलनमा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राइले बैठक पछि जसपा अब पार्टी विभाजन गर्न खोज्नेहरुलाई एउटा किनारामा छाडेर मूल प्रवाहमा अगाडि बढेको दाबी गरे । वीरगञ्जको बैठक ऐतिहासिक रहेको भन्दै उनले बैठकले गरेका निर्णयहरुले पार्टीलाई एउटा नयाँ उचाइमा पु¥याउने विश्वास लिएको बताए ।

संघीय परिषद्को अध्यक्षबाट भट्टराईलाई हटाइएपछि राईलाई सो पदको जिम्मेवारी दिएको छ । वरियतामा संघीय परिषद्का अध्यक्ष दोस्रो भए पनि कार्यकारी अधिकार भने छैन् । केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै दुई अध्यक्षीय प्रणालीलाई खारेज गरेको छ । जसपामा अब एकल अध्यक्षको प्रावधान राखिएको छ । तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकृत हुँदा पार्टीमा दुई जना केन्द्रीय अध्यक्षको पद राखिएको थियो । अध्यक्षको वरियतामा महन्थ ठाकुर रहेपनि कार्यकारी अधिकार उपेन्द्र यादवसित रहेको थियो । पार्टीमा दुई अध्यक्षको प्रावधानले शक्ति सन्तुलन मिलाउन नसकेकै कारण जसपा एक वर्ष भित्र दुई पटक विभाजित भएको हो । पछिल्लो पटक भट्टराई समूहले काठमाण्डुमा पार्टीको बृहत् केन्द्रीय समितिको बैठक बोलाए पनि त्यहाँ सदस्यहरुको सहभागिता अत्यन्त कमजोर थियो । सदस्यहरुको उपस्थिति अपेक्षा गरिए अनुरुप नहुँदा भट्टराई समूहले अलगै दल दर्ताको तयारी गरेको छ । पत्रकार सम्मेलनमा केन्द्रीय कार्यकारिणी सदस्यहरु रामसहाय यादव, सुशीला श्रेष्ठ, संघीय सांसद नरमाया ढकाल, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको सहभागिता रहेको थियो । पार्टीको पदाधिकारीबाट राजीनामा दिएकी पूर्व मन्त्री रेणु यादव बैठकको बीचबाट निस्किएपछि कुनै प्रतिकृया जनाएकी छैनन् । पार्टीबाट निष्काशनमा नपरेको तर बैठकमा समेत सहभागी नभएका राजकिशोर यादव, रामनरेश यादव लगायतले पनि स्थिति सार्वजनिक गरेका छैनन् । तर उनीहरुलाई पार्टीमा कुनै बाधा व्यवधान नरहेको कार्यकारिणी समितिका सदस्य गजाधर यादवले जनाए । ‘केन्द्रीय समितिले कारवाही गरेका ९ जना बाहेक अन्यको अवस्था पूर्ववत नै छ’ उनले भने, रेणु यादवको राजीनामा स्वीकृत भएको छैन् । पार्टीमा भएको विभाजनले चुनावको मुखमा ठूलो क्षति हुन सक्ने अनुमान नेताहरुले गर्न थालेका छन् । लगातारको विभाजनको असर प्रदेश र प्रतिनिधि सभाको चुनावमा पर्न सक्ने देखिएको छ ।

Comment


Related News

Latest News

Trending News