अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आरोपपत्र दायर भएपछि हाल निलम्बित रहेका राजविराज नगरपालिकाका मेयर भिमराज यादवले आफूलाईफसाउने षड्यन्त्रका साथ मुद्दा दायर गरिएको बताएका छन् ।
शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । आफू न्यू गहिल कन्स्ट्रक्शन निर्माण सेवाको सञ्चालक रहँदा राजरंङ्गशालामा भएको काम स्तरीय रहेको दाबीकासाथ अहिले उक्त कुरालाई ब्यूँताएर आपूmलाई फसाउने प्रयास भएको जिकिर गरे । उनले भने–‘जुन निर्माण कामका लागि म माथि आरोप लगाइएको हो, त्यसको अहिले पनि परीक्षण र मूल्याकंन हुन्छ भने म सामना गर्न तयार छु ।’सम्मानित अदालतबाट आपूmले न्याय पाउने विश्वासका साथ उनले भने, ‘ममाथि जुन षड्यन्त्र भएको छ, त्यसमा सम्मानित अदालतबाट उचित न्याय मिल्ने विश्वास लिएको छु ।’ मेयरका रुपमा पद वहाली भएको २ महिनाभित्रै नगरपरिषद्बाट नगर क्षेत्रमा सीसी क्यामेरा र वाइफाइ जडान, म्यूजियम निर्माण, अन्डरग्राउण्ड पार्किङ, विपन्न परिवारलाई परिचय पत्र र राशन कार्ड वितरण लगायतका विभिन्न महत्वाकांक्षी विकासीय योजनाहरु स्वीकृत गराइ कतिपय योजनाको काम समेत सुरु भइसकेको अवस्थामा आपूmमाथि षड्यन्त्र भएको उनको जिकिर गरे ।
आर्थिक वर्ष ०७४/०७५ मा जिल्ला खेलकुद विकास समिति सप्तरीसँग न्यू गहिल कन्स्ट्रक्सन निर्माण कम्पनीले राजविराजस्थित राजरंङ्गशालाको स्तरोन्नति कार्यको ठेक्का लिएका थिए । सो निर्माण कम्पनीका तत्कालीन सञ्चालक रहेका यादवले निर्धारित सर्त तथा मापदण्ड विपरीत कार्य गरी काम गरेको भन्दा २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) अनुसारको विगो, कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । विशेष अदालतमा आरोप पत्र दायर भएपछि कानूनी व्यवस्थाअनुसार मेयर यादव हाल निलम्बित अवस्थामा छन् ।

