धनुषाको बटेश्वर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ ।
शनिवार गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल र गाउँपालिका अध्यक्ष रामअशिष महतोले पूर्ण खोप गाउँपालिका घोषणा गरेका छन् । गाउँपालिका अध्यक्ष रामअशिष महतोले पालिकालाई पूर्ण खोप घोषणा गराउनमा सफल भएकोमा सम्पूर्ण स्वास्थ्यकर्मी, नागरिक समाज र जनप्रतिनिधीहरुप्रति आभार प्रकट गरेका थिए । उनले आगामी दिन समेत बालबालिकाहरुले पाउनुपर्ने खोपको निरन्तरता दिन निर्देशन दिए । उनले स्वास्थ्यकर्मीहरुको मनोवल उच्च गर्न प्रत्येक वडाको स्वास्थ्यचौकीमा खोपलगायतको कार्यक्रमलाई प्रोत्साहन गर्न विविध खर्चमा ५० हजार रुपैया विनियोजन जानकारी दिए । साउन १ गतेदेखि गाउँपालिकाको स्वयमसेविकाहरुलाई मासिक ३ हजार नगद रुपैया उपलब्ध गराउने उनले बताए । अहिले स्वयम सेविकाहरुले मासिक एक हजार र ७ हजार वार्षिक रुपमा पोशाक खर्च र फिल्डमा काम गरेको दिन भत्ता पाउने गरेको छ ।
जिल्ला समन्वय समिति धनुषाका सभापति मण्डलले पूर्ण खोप पालिका घोषणा हुँदैमा हामी सरोकारवालाहरु खुशीले गदगद हुनुपर्ने अवस्था नरहेको बताउँदै आगामी दिनमा समेत खोपलाई निरन्तरता दिन आग्रह गरे । उनले भने पहिले धनुषामा खोप भण्डार केन्द्र नभएर हेटौडाबाट खोप ल्याएर बाँड्नुपर्ने बाध्यता रहेकोमा अहिले जनकपुरधाममै खोप भण्डार केन्द्र स्थापना भई सकेकाले गर्दा बालबालिकाहरुलाई समयमै खोप दिन निर्देशन दिए । स्वास्थ्य कार्यालय धनुषाका प्रमुख युगलकिशोर यादवले १८ पालिकामध्ये बटेश्वर गाउँपालिका सातौं स्थानमा पूर्ण खोप पालिकाको घोषणा भएकोमा खुशी व्यक्त गरे । उनले यहाँका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरुको अथक प्रयासमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाबाट गाउँपालिका अध्यक्ष महतो र गाउँपालिका उपाध्यक्ष सिंह, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र स्वास्थ्य शाखा प्रमुख रुद्रनारायण यादवलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

