आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीद्वारा संचालित ४ दिवसीय नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि दोस्रो मोड्युल अन्तर्गत प्रारम्भिक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कबिलासी नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई सहभागी गराइ गत बुधबार २९ गतेदेखि ३२ गते शनिबारसम्म संचालन भएको प्रशिक्षण कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिहरुलाई उनीहरूले निर्वाह गर्नुपर्ने भूमिका, अधिकार र कर्तव्यको बारेमा जानकारी गराइएको थियो। सहभागीहरुलाई प्रशिक्षकद्वय बनिता कार्की र समीर कुमार यादवले स्थानीय सरकारमा प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक पर्ने सीप र ज्ञान, राजनीतिक संवादमा सहभागी हुनको लागि आत्मबल बढाउने, लैंगिक समानता प्रवद्र्धन तथा आफ्m् नो समुदायका बालिका तथा महिलाहरुका लागि प्रेरणा स्रोतको रुपमा काम गर्ने,लैंगिक समानतालाई संरक्षण गर्नका लागि सहभागीहरुका समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्ने तथा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्नका लागि संजालको निर्माण गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए । माण्डवीका कार्यक्रम अधिकृत मिनल श्रेष्ठको अध्यक्षता तथा कबिलासी नपाकी उपमेयर पुनम कर्णको प्रमुख आथिथ्यमा आयोजित प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै सहभागीहरुले यसअघि आफूहरुलाई एउटा निर्वाचित जनप्रतिनिधिको रुपमा गर्नुपर्ने कार्य तथा जिम्मेवारीको बारेमा कुनै जानकारी नभएको तर यस चारदिने तालिम पश्चात् आफूहरुलाई धेरै कुराको ज्ञान भएको बताएका थिए। ।
प्रशिक्षण लिए पश्चात वडामा संचालन भइरहेका र भइसकेका विकास योजना तथा कामको अनुगमन,नियमन,प्रमाणिकरण र सिफारिस लगायतका कामहरु गर्न सक्ने क्षमताको विकास भएको सहभागी महिला सदस्यहरुले बताएका छन् । सर्लाहीको ५ वटा स्थानीय तहमा शी लिड्स’ नामक अभियान मार्फत दिइएको नेतृत्व विकाश प्रशिक्षण कार्यक्रम अन्तर्गत कबिलासीसँगै जिल्लाको हरिवन र बागमती नपाका महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइसकेको र अबको केही दिन भित्रै बाँकी रहेका हरिपुर्वा र बरहथवा नपाका महिला जनप्रतिनिधिहरुलाई पनि यसै गरी प्रशिक्षण दिने,कार्यक्रम रहेको कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिए । चार दिने कार्यक्रममा कबिलासी नपा अन्तर्गतका १० वटा वडाहरुबाट २२ जना महिला जनप्रतिनिधिहरुलाई उनीहरूको हक अधिकार र नियम कानून बारे प्रशिक्षित गराइएको थियो ।

