रोपाईको समय वित्न लाग्दा पनि मल खाद्यको व्यवस्था नगरेको तथा किसानको समस्या समाधान नगरेको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवको गृह जिल्ला सप्तरीमा प्रदर्शन भएको छ ।
मंगलवार जनमत पार्टीको आह्वानमा गाउँ गाउँबाट आएका किसानहरु सदरमुकाम राजविराजमा कृषि मन्त्री यादव विरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । किसानको समस्या समाधान गर लगायतका नाराबाजी गर्दै जुलुश बजार क्षेत्रको परिक्रमा गरेको थियो । बजार क्षेत्र परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पुगी उनीहरुले प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई किसान संग सम्बन्धित विभिन्न १२ बृंदे माग सहितको ज्ञापनपत्र समेत बुझाएका छन् । जनमत पार्टीका जिल्ला इन्चार्ज ममता झा, केन्द्रीय सदस्य सुरेन्द्र शर्मा मधेशी, पूर्व जिल्ला संयोजक चन्देश्वर मण्डल किसान, युवा नेता रघुनन्दन यादव “लालु” लगायतको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा समय मै मल खाद्य र वीउ विजनको व्यवस्था, सिंचाईको व्यवस्था, सिंचाइ प्रयोजनका लागि विजुली निःशुल्क, कृषि उपजको सर्मथन मूल्य निर्धारण, किसानलाई पेन्शनको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ । यस्तै वेमौसमी हावाहुरी र वर्षाले बालीनालीमा भएको हानी नोक्सानीको क्षतिपूर्ति, किसानकार्डको व्यवस्था, किसानको समस्या समाधान गर्न उच्चस्तरीय समितिको गठन र किसान आन्दोलनका क्रममा झुटा मुद्दा लगाई पक्राउ परेकाहरुको मुद्दा खारेजी लगायतका माग पनि अघि सार्दै उक्त माग अविलम्ब सम्बोधन नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिइएको छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाई दिने प्रतिबद्धता जनाएका थिए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

