२०७९ श्रावण ४, बुधबार ०७:४२

कमला नगरपालिकामा प्रमुख–उपप्रमुख विवादका कारण आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत हुन सकेको छैन् ।

असार १० गते संवैधानिक व्यवस्था अनुसार बजेट ल्याउनु पर्नेमा जनप्रतिनिधिको विवादका कारण अझै बजेट आउन सकेको छैन् । पालिका प्रमुख विशेश्वर यादवले नीति तथा कार्यक्रम प्रस्तुत भए पनि उपप्रमुखको अडानले बजेट ल्याउन नसकेको बताए । उपप्रमुख शिलादेवी मण्डल नीति तथा कार्यक्रमको दिन अनुपस्थित भएको उनको भनाइ छ । तर मण्डलले भने पालिका उपप्रमुखको अनुपस्थितिमा नै नीति तथा कार्यक्रम प्रस्तुत गरेको आरोप लगाइन् । उनले आफ्नो अधिकार कटौती भएको भन्दै असार ११ गते नै उच्च अदालत जनकपुरमा नगर सभा खारेजको माग गर्दै मुद्दा दर्ता गराएकी छन् । मुद्दामा अहिले पेशी तोकिएको छैन् । नगर प्रमुखको एक्लौटीका कारण बजेट आउन नसकेको उनले बताइन् । आफ्नो अधिकारमाथि हस्तक्षेप भएपछि मुद्दा दिएको उनको तर्क छ । धनुषाकै नगराईन नगरपालिकामा पनि प्रमुख÷उप्रमुखबीचको विवादले बजेट प्रस्तुत हुन सकेको छैन् । पालिका प्रमुख विनयकुमार यादवले स्थानीय सरकारमाथि दलगत राजनीति हाबी हुँदा बजेट आउन नसकेको बताए ।

पालिकामा नेकपा एमालेको बहुमत रहेको र उनीहरु मनमौजी निर्णय गर्न दबाब दिदा बजेट नआएको उनले उल्लेख गरे । बजेट ल्याउनुभन्दा पहिले बनाइने समितिमा पनि उपप्रमुख यादवको आपत्ति छ । प्रवक्ता उपप्रमुख हुनुपर्ने, विषयगत समितिमा आवश्यकताभन्दा बढी आफ्नै मान्छे राख्न खोज्ने लगायतको फजुल अडानहरु राखेको उनको भनाइ छ । तर पालिका उपप्रमुख राधा देवी यादवले योजना बाँडफाटमा विवाद देखिएको बताइन् । ‘कानूनले मिल्ने काम बहुमतले गर्नुपर्छ,’उनले भनिन्,‘ प्रमुख भएपछि आफ्नै स्वार्थ हुनु हुँदैनन् । योजना बाँडफाटमा पनि केही विवाद देखिएको छ ।’ संविधानले दिएको अधिकार बहुमतको आधारमा प्रयोग गर्न नपाएको उनले गुनासो गरिन् । निर्धारित समयमा बजेट नल्याउने यी दुई पालिका प्रतिनिधिमूलक मात्र हुन् । धनुषाको अधिकांश पालिकामा जनप्रतिनिधिबीचको विवादले बजेट आउन सकेको छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेब साइट अनुसार धनुषाको १८ मध्ये दश पालिकाको बजेट आउन बाँकी छ । तर वेब साइटमा भनिए अनुसार जनकपुरधाम उपमहानगरपालिकाले पनि बजेट पेश भएको छैन् । यद्यपि पालिकाले असार १० गते नै बजेट प्रस्तुत गरिसकेको छ । मन्त्रालयमा कागजात पेश नगरेको हुनाले वेब साइटमा बजेट पेश नभएको उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News