अपडेट 
२०७९ श्रावण ४, बुधबार १६:०६

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । हिजो मङ्गलवार स्नातक तहको दोस्रो वर्षको परीक्षा चलिरहेका बेला परीक्षामा गार्ड बसेकाले खानतलासीका नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

बिहान केहीबेर तनाव भएपछि विद्यार्थी पक्ष र क्याम्पस प्रशासनबीच भएको वार्तामा विद्यालय प्रशासनले अबदेखि त्यस्ता कमजोरी हुन नदिने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि अहिले अवस्था सामान्य भएको छ । आजको स्नातक तहको दोस्रो वर्षको परीक्षा पनि सञ्चालन भएको छ ।

हेटौँडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । तनावका कारण आज हेटौँडा क्याम्पस केन्द्रमा हुने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा भने रोकिएको छ । भोलिदेखिका  परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै हुने हेटौँडा क्याम्पसले जनाएको छ ।

२ जना कार्यालय सहयोगी निलम्बित

दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ ।

क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो । विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए ।

मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधि, अविभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनैपनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।

बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति समेत बनाएको छ । मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए । ‘चिट लुकाएको’ भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको छात्राको दाबी छ । पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News