२०७९ श्रावण ५, बिहीबार ०७:४६

उच्च अदालत जनकपुरमा दर्ता भएको कुल मुद्दाको ४९ प्रतिशत फर्छयौट भएको छ । बुधबार अदालतले पत्रकार सम्मेलन गरी सो तथ्य सार्वजनिक गरेका छन् ।

अदालतका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा चार हजार सात सय २४ मुद्दा फर्छयौट गर्ने जिम्मेवारी आएको थियो । जसमध्ये दुई हजार तीन सय २२ अर्थात ४९.१५ प्रतिशत मुद्दा फर्छयौट भएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार सो आर्थिक वर्षमा दुई हजार दुई सय ५८ वटा नयाँ र अघिल्लो वर्षबाट सरेर आएको दुई हजार चार सय ६६ मुद्दा थियो । गत आर्थिक वर्षमा दुई हजार चार सय २ मुद्दा अर्थात ५०.८५ प्रतिशत फर्छयौट हुन बाँकी रहेको छ । सो मुद्दाको जिम्मेवारी ०७९÷८० को लागि सरेको छ । अदालतले चार वर्गमा मुद्दालाई विभाजन गरेका छन् । जसअनुसार गत आर्थिक वर्षमा एक हजार पाँच सय ३७ विशेष, एक हजार दुई सय २२ सामान्य, एक हजार ३६ सरल र मार्ग समूहमा नपर्ने ९ सय २९ मुद्दा दर्ता भएको थियो ।

अदालतमा दुई वर्ष नाघेको एक सय ७९ मुद्दा छन् । त्योभन्दा अघि दर्ता भएको मुद्दाहरु फर्छयौट भइसकेको छ । गत वर्ष अदालतमा दुई सय २२ थुनुवा मुद्दाको जिम्मेवारी परेको थियो । जसमध्ये एक सय २९ फर्छयौट भएको र ९३ वटा चालु वर्षमा सरेर आएको छ । गत वर्ष १७ वटा मुद्दा मुलतवीमा रहेको थियो । मुलतवीमा अघिल्लो वर्षबाट एक सय ६८ मुद्दा सरेर आएको थियो । हाल एक सय ८५ मुद्दा मुलतवीमा छन् । दश वटा मुद्दा मुलतवीबाट जागेका छन् भने एक सय ७५ जगाउन बाँकी छ । अदालतका मुख्य न्यायाधीश विनोद शर्माले कानूनी जटिलता र दरबन्दी अनुसार न्यायाधीशको पदपूर्ति नहुँदा लक्ष्य पुरा नभएको बताए । पर्याप्त र दक्ष जनशक्ति पनि अभाव रहेको उनले प्रष्टीकरण दिए । भौतिक र स्रोत साधन अभावका कारण उद्देश्य पुरा गर्न कठिनाई भएको उनले बताए । यद्यपि अदालतको जनशक्ति अनुसार काम संतोषजनक भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News