२०७९ श्रावण ६, शुक्रबार ०७:४४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका १ सय भन्दा बढी प्रभावशाली नेता तथा कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् ।

लोसपाका गौर नगरपालिकाका नगर कमिटीका सम्पूर्ण पदाधिकारी सदस्यहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन् । गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ताको नेतृत्वमा उनीहरुले पार्टी परित्याग गरेका हुन् । राजदेवी नगरपालिका, यमुनामाइ गाउपालिका, दुर्गा भगवती गाउपालिका, माधव नारायण नगरपालिकाका लोसपाका कार्यकर्ताहरु पनि पार्टी परित्याग गर्ने तयारी गरिएको छ । गौर स्थित एउटा होटेलमा लोसपाका नेता कार्यकर्ताहरुले औपचारिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । २०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा र प्रदेश सांसदमा निर्वाचित भएका बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै पार्टीका नेता कार्यकर्ताहरुले दल परित्याग गरेको गौर नगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष श्याम सुन्दर गुप्ताले जनाए । ‘नेताहरुले नै चुनावमा हराउन सक्रिय भूमिका निर्वाह गर्छन्’ उनले भने, त्यहाँ बस्नु भन्दा अलग्गिनु उपयुक्त भएकाले सामूहिक राजीनामा गरेका छौ ।

पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पूर्व नगर प्रमुख गुप्ता, उपप्रमुखका प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष राम स्वार्थ यादव , वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष राजेश सिंह भने मोहन सिंह, वडा सदस्य भैरो महतो, बैजनाथ महतो लगायत १५० जना रहेको छ । गएको स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकाहरुलाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप पार्टी कार्यकर्ताहरुको रहेको छ । पार्टीबाट निर्वाचित प्रदेश सांसद बाबुलाल साहले नेकपा एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार भतिजो पर्ने शम्भु साहलाई तथा दुर्गा भगवती गाउँपालिकामा अध्यक्षको उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका शम्भु सिंहलाई अप्रत्यक्ष रुपमा संघीय सांसद अनिल झाले सहयोग गरेको कारण पार्टीको उम्मेदवारहरू पराजित भएको असन्तुष्ट नेताहरुको आरोप छ । मधेश आन्दोलनमा अनुकरणीय भूमिका निर्वाह गरेका पूर्व मेयर गुप्ताले पार्टी परित्याग गरे पछि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा लोसपालाई भारी क्षति भएको बताइएको छ । पूर्व वडा अध्यक्ष पटेलले अहिले कुन पार्टीमा प्रवेश गर्ने भनि निर्णय नभएको दाबी गरे पनि लोसपाबाट पार्टी परित्याग गर्ने नेता तथा कार्यकर्ताहरु श्रावन २३ गते नेकपा एमालेमा प्रवेश गर्न सकिने संकेत गरिएकोछ ।

नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने तय भएपछि ओली नेतृत्वका नेकपा एमालेले माधव नेपाललाई पराजित गर्न पूर्ण रुपमा तयारी गर्न थालेको बताइएको छ । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा अजय गुप्ता बाट ३ सय ३८ मतले जितेका नेपाललाई अगामी चुनावमा फेरि गुप्तासित प्रतिस्पर्धा गर्नुपर्ने बलियो संभावना छ ।

Comment


Related News

Latest News

Trending News