२०७९ श्रावण ८, आईतवार ०८:१९

सत्तासीन गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेशका जनतासँग गरेको प्रतिबद्धता पुरा गरेको बताएका छन् ।
‘लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ’ उनले भने, अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ । सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रममा उनले भने, शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको हो । त्यस अघि अध्यक्ष ‘ प्रचण्ड’ले पाँच दलीय गठबन्धन भित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताएका छन् । जनकपुर विमानस्थलमा पत्रकार हरुसँग कुरा गर्दै उनले गठबन्धनभित्र रहेका सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने बताए । ‘जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ ’ उनले भने, जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ, उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उहाँहरुले भन्दै आउनुभएको छ ।
गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरुबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्दै प्रचण्डले भने, हाम्रो छलफल चलिरहेको छ तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ ।‘ सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ ’ उनले भने, आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको हो । मधेशी जनताको चाहनाअनुरुप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उनले दाबी गरे । ‘चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ’ प्रचण्डले भने, नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनताको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस गरिरहेको छु ।
अध्यक्ष दाहालले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताए । कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार–प्रसार गर्न आग्रह गरे ।

 

Comment


Related News

Latest News

Trending News