बरहथवा नगरपालिकाका महिला जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीद्वारा संचालित ४ दिवसीय नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि दोस्रो मोड्युल अन्तर्गत प्रारम्भिक प्रशिक्षण कार्यक्रम सर्लाहीको बरहथवामा सम्पन्न भएको छ। बरहथवा नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई सहभागी गराइ गत मंगलबार ३ गतेदेखि ६ गते शुक्रवारसम्म संचालन भएको प्रशिक्षण कार्यक्रममा सहभागी महिला जनप्रतिनिधिहरुलाई उनीहरूले निर्वाह गर्नुपर्ने भूमिका, अधिकार र कर्तव्यको बारेमा जानकारी गराइएको थियो । सहभागीहरुलाई प्रशिक्षकद्वय बनिता कार्की र समीर कुमार यादवले स्थानीय सरकारमा प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक पर्ने सीप र ज्ञान, राजनीतिक संवादमा सहभागी हुनको लागि आत्मबल बढाउने, लैंगिक समानता प्रवद्र्धन तथा आफ्नो समुदायका बालिका तथा महिलाहरुका लागि प्रेरणा श्रोतको रुपमा काम गर्ने,लैंगिक समानतालाई संरक्षण गर्नका लागि सहभागीहरुका समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्ने तथा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्नका लागि संजालको निर्माण गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
माण्डवीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख कल्पना कटुवालले यस किसिमको तालिम निकै फलदायी रहेको उल्लेख गर्दै तालिम प्राप्त गर्नु पूर्व एउटा निर्वाचित जनप्रतिनिधिको रुपमा गर्नुपर्ने कार्य तथा जिम्मेवारीको बारेमा कुनै जानकारी नभएको तर तालिम लिइसके पश्चात् उनीहरूलाई धेरै कुराको ज्ञान भएको बताए । उनले अब तालिम पाइसकेका महिला जनप्रतिनिधिमा वडामा संचालन भइरहेका र भइसकेका विकास योजना तथा कामको अनुगमन,नियमन,प्रमाणिकरण र सिफारिस लगायतका कामहरु गर्न सक्ने क्षमताको विकास भएको बताए । यस किसिमको प्रशिक्षण सर्लाहीको ५ वटा स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई दिइएको कार्यक्रम अधिकृत श्रेष्ठको जानकारी दिए ।

